नेताको बदनामीमा ‘योगदान’ दिने महिलाहरू

नेताको बदनामीमा ‘योगदान’ दिने महिलाहरू


महिलाकै कारण पृथ्वीनारायण शाहमा आत्मविश्वास भरिएको र देश एकीकरणको निम्ति प्रेरणा मिलेको तथ्य इतिहासमा पढ्न पाइन्छ । राजेन्द्र लक्ष्मीले राजा प्रताप सिंह शाहको कमी महसूस हुन नदिएको पनि इतिहासमै उल्लेख छ । त्यस्तै जङ्गबहादुरको सफलतामा पनि महिलाकै हात रहेको मानिन्छ । तर प्रजातन्त्रको साढे तीन दशक भने शासकवरिपरिका महिलाकै कारण ज्यादा बदनाम हुँदै आएको छ ।
  • विशेष सम्वाददाता

प्रजातन्त्र पुनर्बहाली भएको साढे तीन दशक पूरा हुनै लाग्दा हरेक सरकारमा एउटी न एउटी महिलाको चुरिफुरी किन ज्यादा देखिने गर्छ भन्ने जिज्ञासा आम तवरमा प्रकट हुन थालेको छ । अति अग्रगामी, प्रगतिशील तथा क्रान्तिकारी मानिएको प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा प्रचण्डपुत्रीको ‘हाइ ह्याण्डनेस’ देखिएपछि यसअगाडिका सरकारमा ज्यादा सक्रिय देखिएका महिलाहरूको पनि स्मरण गर्न थालिएको छ । प्रचण्डपुत्री गङ्गा दाहाल प्रधानमन्त्री प्रचण्डमाथि यसरी हाबी भएकी छन् कि उनको इच्छाविपरीत कुनै पनि निर्णय लिने क्षमता प्रचण्ड राख्दैनन् । प्रचण्डसँग कसैले गोप्य भेटघाट गर्न चाहे भने ती ब्यक्ति गङ्गाको आँखाको तारो बन्ने गर्दछन् । आगन्तुकहरू सबैले आफूसँग अनुमति लिएर मात्र प्रचण्डसँग भेट गरून् भन्ने चाहना गङ्गाको हुने गर्दछ । उनलाई बाइपास गरेर कसैले प्रचण्डलाई भेट्यो भने गङ्गाले तिनलाई ढिला नगरिकन ‘कालो सुचि’मा राख्ने गर्छिन् । आम्दानीसँग जोडिएका हरेक मुद्दा र मानिसले अनिवार्य रूपमा गङ्गालाई रिझाउनुपर्नेछ ।

पञ्चायत कालमा तत्कालीन रानी ऐश्वर्यको कार्य-व्यवहार यस्तै, भड्किलो र भ्रष्टाचारमैत्री भएको मानिन्थ्यो, त्यस्तै आज गङ्गाले ऐश्वर्यको स्थान लिन लागेको भन्ने चर्चा सर्बत्र भइरहेको छ । २०४६ सालको राजनीतिक परिवर्तनपश्चात् गणेशमान सिंह लोकप्रियताको उत्कर्षमा पुगेका थिए । अन्तरिम सरकारको नेतृत्व कृष्णप्रसाद भट्टराईले गरेको भएपनि गणेशमानको कृपाबाट प्रधानमन्त्री बनेकाले भट्टराई भन्दा शक्तिशाली गणेशमानलाई ठानिन्थ्यो । त्यसबेला मङ्गलादेवी सिंहको क्रियाकलापलाई लिएर मानिसमा गणेशमान सिंहप्रति नै नकारात्मकता पैदा भएको थियो ।

२०४८ सालको आम निर्वाचनपश्चात् गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए ! उनको शासनकालमा सुजाता कोइराला र नोना कोइराला निकै बलवान् मानिन्थे । त्यसबेला नोना र सुजाता यति बदनाम थिए कि गिरिजाप्रसादबाट कुनै असल कार्य हुनसक्छ भन्ने विश्वास यिनै दुई महिलाका कारण कसैमा थिएन । गिरिजाप्रसादपछि सत्तामा पुगेका शेरबहादुर देउवासँगै आरजु राणाको चकचकी सुरु भयो । आरजुमार्फत गएका काम मात्र सम्पन्न हुन थालेपछि देउवालाई आरजुको ‘खोपीको देवता’ ठान्न थालियो । अहिलेसम्म शेरबहादुरमाथि आरजु हाबी रहेकी छिन् र, देउवाको बदनामीमा आरजुकै भूमिका प्रमुख मानिन्छ । यस अवधिमा प्रधानमन्त्री बनेका सुशील कोइरालासमेत महिलाकै अधीनमा रहेको ठानिन्थ्यो । उनको शासनकालमा मृदुला नामक महिला ज्यादा चर्चामा थिइन् र, सुशीलको बदनामीको एउटा मुख्य कारण तिनै मृदुला बनेकी थिइन् । आफूलाई निकै अब्बल ठान्ने बाबुराम भट्टराई पनि महिलाकै कारण ज्यादा बदनाम थिए । उनकी पत्नी हिशिला यमीका कारण बाबुराम यति बदनाम भए कि उनको छवि त्यसपछि कहिल्यै सुध्रन सकेन ।

प्रचण्डकालमा उनका दुई छोरीहरू निकै हाबी देखिएका छन् । यसअघि उनकी बुहारीका रूपमा बिना मगरको चकचकी पनि आम मानिसको आँखा बिझाउने स्तरकै थियो । पछिल्लो समयमा गङ्गा दाहालको क्रियाकलापले प्रचण्डको स्वतन्त्र भूमिकालाई स्वात्तै निलेको महसूस आम जनताले समेत गर्न थालेका छन् । गङ्गालाई आरजु र ऐश्वर्य भन्दा पनि ‘माथिल्लो दर्जा’को महिलाको रूपमा लिन थालिएको छ । प्रचण्डभन्दा माथि देखिएर उत्ताउलो क्रियाकलापमा रहेकी गङ्गाकै कारण प्रचण्ड अब कहिल्यै माथि उठ्न नसक्ने गरी खसेका छन् ।

यसरी, प्रजातन्त्र स्थापनापछिको साढे तीन दशकभित्र शासक भूमिकामा रहेका अधिकाङ्श ब्यक्तिहरू महिलाका कारण ज्यादा बदनाम सिद्ध हुन पुगेको मानिन्छ । त्यसो त रहस्यमयी ढङ्गबाट रातारात राजनीतिमा उत्पन्न भएका नयाँ दस्तामा समेत आरजु, हिशिला र गङ्गा दाहाललाई उछिन्ने क्षमताका महिला-तस्बिर देखापरिसकेको छ । महिलाकै कारण पृथ्वीनारायण शाहमा आत्मविश्वास भरिएको र देश एकीकरणको निम्ति प्रेरणा मिलेको तथ्य इतिहासमा पढ्न पाइन्छ । राजेन्द्र लक्ष्मीले राजा प्रताप सिंह शाहको कमी महसूस हुन नदिएको पनि इतिहासमै उल्लेख छ । त्यस्तै जङ्गबहादुरको सफलतामा पनि महिलाकै हात रहेको मानिन्छ । तर प्रजातन्त्रको साढे तीन दशक भने शासकवरिपरिका महिलाकै कारण ज्यादा बदनाम हुँदै आएको छ ।