लामपाटी बीसखुट्टे दरबार : जहाँ राजा महेन्द्रले समेत रात बिताए

लामपाटी बीसखुट्टे दरबार : जहाँ राजा महेन्द्रले समेत रात बिताए


■ मुक्तिनाथ भुसाल, अर्घाखाँची

नेपालको इतिहासमा अमीट नाम खोपेका जंगबहादुर राणा अर्घाखाँचीको मथुरामा जन्मिएका थिए भन्ने तथ्यसँग धेरै जना अपरिचित नै हुन सक्छन् । उनै ऐतिहासिक पात्र जंगबहादुरद्वारा निर्माण गरिएको लामपाटी दरबार अर्घाखाँचीमा अवस्थित छ । नेपालकै एक मात्र या विरल कोटीको यस बीसखुट्टे दरबार लामो समयदेखि भत्किने अवस्थामा रहँदै गरेपनि यतिबेला यसको मर्मत तथा संरक्षणसम्बन्धी कार्य भइरहेका छन् ।

लामपाटी दरबारबारे विभिन्न व्यक्तिका आ-आफ्ना धारणा रहेपनि जंगबहादुर राणा यहीँ जन्मिएकाले उनले आफू जन्मिएको स्थानको सम्मान गर्दै यो दरबार बनाएका हुन् भन्ने धारणा प्रवल छ । जंगबहादुर राणा अर्घाखाँचीको मथुरामा जन्मिएको कुरामा दुईमत पाउन सकिन्न, यही नै वास्तविकता हो । साविक बाङ्ला गाविस हाल सन्धिखर्क नगरपालिका वडा नं. ५ को मथुरामा जंगबहादुर जन्मिएको प्रमाण कीर्तिपुर विश्वविद्यालयको २७ नम्बर कोठामा पुगी दुई हजार सालभन्दा अगाडिका इतिहास खोज्ने हो भने अझै भेटाउन सकिन्छ । यसरी खोज्ने क्रममा पहिला रिडी अनि अर्गेली भुरे राजा त्यसपछि अर्घाखाँचीको बाङ्ला मथुरा भन्ने ठाउँमा जंगबहादुर जन्मिएको कुरा घरबुनाले बानेको मुठ्ठाको पहाडिया कागजमा उल्लेख गरिएको कुरा आफ्नै आँखाले देखेर आएको स्वामी कुशलानन्द सरस्वतीले जानकारी गराएका छन् । त्यसैगरी समाजसेवी तथा विद्वान् व्यक्तित्व पिताम्वर भुसाल पनि जंगबहादुर मथुरामा जन्मिएको दाबी गर्छन् । भुसाल पूर्व जिल्ला समन्वय सभापति तथा श्री जनज्योती माविका पूर्व प्रधानाध्यापक हुन् ।

वास्तविकताको गहिराइमा पुग्दै गर्दा जंगबहादुरका बाबुको दैलेखमा जागिर भएको कारण आफ्नी दुलहीलाई नेपाल (हालको काठमाडौं) बाट दैलेखमा लगेका र दुलही गर्भवती बनेकी कारण केही सहेलीका साथ नेपाल जान दैलेखबाट पठाउने क्रममा उनी अर्घाखाँचीको मथुरा आउनासाथ बिमारी परिन् र, मथुराको चौपारीमै छोरा जन्माइन् । एक रात उक्त चौपारीमा बास बसेपछि अर्को दिन नवजात छोरालाई लिएर करिव ४ किलोमिटर अगाडि जिल्लाकै बल्कोट चौपारीमा बसी विधिपूर्वक न्वारान सम्पन्न गरी आफ्नो छोरा अर्थात् जंगबहादुर राणालाई लिइ रिडी हुँदै डुङ्गा चढेर स्याङ्जा, पोखरा, लमजुङको बेसीशहर हुँदै नेपाल पुगेकी थिइन् । कालान्तरमा जंगबहादुर राणा मुलुकको प्रधानमन्त्री बनेपछि आफ्ना जेठान शहन सिंह कर्नेललाई मथुरामा पठाए र उनको इच्छाअनुसार दश महिना आफूलाई कोखमा राखी जन्म दिने आमाको सम्झनामा नेपालकै एक मात्र बीसखुट्टे दरबारको निर्माण गराए । आमाले बास बसेका स्थानहरू, जस्तै- बल्कोटमा पौवा, पोखराभन्दा अगाडि दर्शनढुङ्गामा पौवा, लमजुङको बेसीशहर जाँदा ढुङ्गे गुफाभन्दा अगाडि रानीपोखरीमा पौवा निर्माण गराए । सबै पौवाका एउटै डिजाइन भए पनि बीसखुट्टे दरबार भने उनी आफू जन्मिएको स्थान मथुरामा मात्रै बनाएका थिए । काभ्रेपलाञ्चोकदेखि पनौती जाने बाटोको चोकमा, काठमाडौंमा र ललितपुरलगायतका स्थानमा उनले पौवा वा दरबार बनाएका भए पनि यो नै नेपालको एक मात्र बीसखुट्टे दरबार भएको कुरा आफ्नो प्रवचनमा योगी नरहरिनाथले समेत उल्लेख गरेकोे कुरा स्मरणीय छ ।

स्थानीय बूढापाकाको भनाइअनुसार सुरुवातमा हालका टन्डनहरू खत्री र जंगबहादुर कुँवर थिए । जंगबहादुरकै पालामा खत्रीलाई टन्डन र कुँवर अर्थात् आफूलाई राणा बनाएको कुरा इतिहासकारहरूले बताउँदै आएका छन् । राजा रणबहादुर शाहको हत्या गर्ने शेरबहादुर शाहलाई तत्कालै छप्काउन सक्ने बालनरसिंह कुँवरजस्ता आँटिला व्यक्तिका छोरा जंगबहादुर कुस्ती खेल्ने, बन्दुक हान्ने, धनुषबाण चलाउने, घोडसवार गर्नेजस्ता कार्यमा सानै उमेरदेखि नै आफ्नो बुबाबाट दक्ष बन्दै गएका थिए । राजा राजेन्द्रविक्रम शाह सिकार खेल्न जाँदा जिउँदो हात्ती पक्रने काम गरेर चर्चामा आएका जंगबहादुर राजा-रानीको प्रियपात्र बन्नका लागि तत्कालीन प्रधानमन्त्री अर्थात् उनका आफ्नै मामा माथवरसिंह थापाको हत्या गरी दरबारको नजिक पुगेको इतिहासमा उल्लेख गरिएको छ । कान्छी महारानी राज्यलक्ष्मीदेवीका प्रमुख सल्लाहकार गगनसिंहको २४ सेप्टेम्बर १८४६ मा रहस्यमय हत्या भएपछि हत्यारा पत्ता नलागुन्जेलसम्म अन्नपानी नखाने निर्णयसहित रानी कोतमा प्रवेश गरी सबै निजामती, फौजी र भारदारलाई बोलाउन लगाएकी र राजा राजेन्द्रले आफ्नी रानीको क्रोध नियन्त्रण नगरी त्यहाँबाट पन्छिएका कारण जंगबहादुरको चलाखीमा प्रमुख भारदारहरूलाई खतम गराएका, अनि उनी शक्तिशाली व्यक्तिका रूपमा प्रमुख पद पाएर महारानी राज्यलक्ष्मीदेवीको विश्वासपात्र बन्न पुगेका थिए भन्ने इतिहास त सबैले बुझेकै कुरा हो ।

संक्षेपमा भन्नुपर्दा मुलुकका शक्तिशाली मानिने भारदारहरूलाई चतुऱ्याइँका साथ समाप्त पार्दै तत्कालीन राजा र सर्वशक्तिमान महारानीको शक्तिसमेत निस्तेज तुल्याइदिएका र आफूलाई ‘श्री ३ महाराज’ घोषणा गराइ आफ्नै वंशमा राज्यको शासन व्यवस्था सीमित गराउन सक्ने आँटिला व्यक्तिको जन्म भएको स्थानमा निर्माण गरिएको दरबार भावी पुस्ताका लागि पनि जोगाइराख्नुपर्दछ भन्ने सोचअनुरूप जंगबहादुर राणाले निर्माण गरेको दरबारको यथार्थता यसअघिका लेखोटमार्फत् पनि पङ्क्तिकारले उल्लेख गर्दै आएको हो ।

वि.सं. १९३४ मा देहान्त भएका जंगबहादुर राणाद्वारा जन्मस्थलको सम्झनामा निर्माण गरिएको लामपाटी दरबार कैयौँ वर्षसम्म मर्मत नगरिँदा जीर्ण र दयनीय अवस्थामा पुग्दै गर्दा बीसखुट्टे दरबारको अस्तित्व सदाका लागि मेटिने खतरा हालका लागि टरेको छ । मुलुक सङ्घीयतामा गएपछि समपन्न स्थानीय तहको निर्वाचनवाट सन्धिखर्क नगरपालिकाको नगरप्रमुख बन्न सफल सामाजिक तथा धार्मिक व्यक्तित्व कृष्णप्रसाद श्रेष्ठको खटनपटन र सक्रियतामा राज्यका सरोकारवाला निकायहरूले यो दरबार संरक्षणका लागि काम गरिरहेका छन् । यो दरबार तीन वर्षमा सम्पन्न गर्र्ने गरी नगरप्रमुख श्रेष्ठको प्रयासमा पर्याप्त बजेट परेकोले दरबारका वालहरू यतिबेला चिटिक्क देखिएका छन् । यतिबेलासम्म गरिएका कार्यहरू गुणस्तरीय ढंगबाट गरिएको नेपाली कांग्रेसका नेता तथा स्थानीय समाजसेवी शेषकान्त भुसालले जानकारी गराएका छन् । वि.सं. २००८ भन्दाअगाडि दरबारनजिकै पानीको पोखरी र थुप्रै जमिन भएपनि हाल पोखरी भेटाउन सकिँदैन र, जमिन पनि साँघुरिँदै गएको छ । राजा महेन्द्रले जिल्ला भम्रणको क्रममा यस दरबारमा रात बिताएको स्मरण स्थानीय बूढापाकाहरू गर्दछन् ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत गोरुसिङे चोकदेखि ६८ किलोमिटर पक्की सडकमा सन्धिखर्क सदरमुकाममा आउन सकिन्छ । सदरमुकाम सन्धिखर्कबाट १२ किलोमिटर पक्की सडकको यात्राद्वारा लामपाटी दरबारमा पुग्न सकिन्छ । यो ऐतिहासिक स्थानमा विगतको बर्षहरूमा पुगेकालाई अर्घाखाँची जिल्लामा जनप्रतिनिधिहरू नै नभएका हुन् कि भन्ने सोचलाई यसपाली नगरप्रमुख श्रेष्ठले मेटाएका छन् । लामो समयसम्म अर्घाखाँचीवाट सङ्घीय सांसदको रूपमा राज गरेका टोपबहादुर रायमाझी र प्रदेशसभा सदस्यहरू चेतनारायण आचार्य एवं रामजीप्रसाद घिमिरेले गर्न नसकेको कार्य नगरप्रमुख श्रेष्ठको खटनपटनमा दरबार मर्मत कार्यका लागि बहुवर्षिय ठेक्का सम्झौता भई कार्य अगाडि बढेको भएपनि नगरप्रमुख श्रेष्ठ भने स्वयम् श्रेय लिन चाहँदैनन् ।

यस ऐतिहासिक यथार्थको मनन गर्दै अर्घाखाँचीको मथुरामा जंगबहादुर जन्मिएका र बीसखुट्टे लामपाटी दरबार नेपालकै एउटा महत्वपूर्ण निशानी हो भन्ने कुरा प्रचारप्रसार गर्न सके अर्घाखाँचीको अलवा सिङ्गो मुलुकले नै पर्यटन विस्तार गरी लाभ लिन सक्दछ ।

लामपाटी दरबारबाट बढीमा पाँच मिनेटको पैदलयात्रामा गोपेश्वर पिठ पुग्न सकिन्छ । अर्घाखाँचिमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूमध्ये गोपेश्वर पिठ पनि महत्वपुर्ण हो । करिव १३ रोपनी जग्गा मन्दिरसँग रहेपनि यहाँका पुजारी र चौकीदारलाई बिहान-साँझ पेटपुजा गर्नपनि मुस्किल बन्दै गएको छ । अर्को विडम्बनाको कुरा, मन्दिरनजिकै रहेको वृद्धाश्रममा बसोबास गर्न चाहने जेष्ठनागरिकहरूले बिहान-साँझ पकाएर खाने राशनपानीको जोहो आफैले गर्नुपर्ने हुन्छ । मथुराको गोपेश्वर पिठमा शिवालय, राधाकृष्ण, गणेशजी, लक्ष्मी नारायण, राम, लक्ष्मण, सीता, ज्ञानमन्च, पुरानो धर्मशाला र वृद्धाश्रम रहेका छन् । गोपेश्वर मन्दिरभित्र केही वर्षअगाडि संस्कृत पाठशाला संचालन गरिएको भएपनि हालका दिनहरूमा बजेट अभावका कारण एकादेशको कथा बनेको छ । गोपेश्वर मन्दिर र लामपाटी दरबारदेखि बढीमा १० मिनट पैदल यात्रामा पुग्न सकिने मथुराखोलालाई २०५२ सालमा २४ लाख गायत्री मन्त्र जप गरी तीर्थस्थान बनाइएको कारण पनि त्यो क्षेत्रको बढी नै महत्व भएको बुझिएको छ ।