यात्रुको गुनासो सुन्न राजमार्गमा सहायता कक्ष

यात्रुको गुनासो सुन्न राजमार्गमा सहायता कक्ष


चाडपर्व सुरु भएर सवारीको चाप बढेसँगै ट्राफिक प्रहरीले पृथ्वी राजमार्गका ठाउँठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । सवारीले यात्रु ओराल्ने चढाउने र यात्रुको चाप बढी हुने स्थानको छनोट गरी राजमार्गको पाँच ठाउँमा र सदरमुकाम धादिङवेसीको पुछार बजारमा सहायता कक्ष सञ्चालनमा ल्याएको हो ।

यात्रुको गुनासो सुन्ने द्देश्यले सहायता कक्षा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । ‘समस्यामा परेका यात्रु, चालक तथा सहचालक सबैले समस्या पर्दा प्रारम्भिक जानकारी गराउने ठाउँ यात्रु सहायता कक्षा हो । प्रहरी नै सडकमा उत्रिएर यात्रुलाई सहयोग गर्न यो कार्यक्रम ल्याइएको हो’, गौतमले भने, ‘यात्रा गरिरहँदा चोरी भएमा, सवारी साधनले वृद्धवृद्धा, महिला, अपाङ्गता भएकालाई दिनुपर्ने सहुलियत तथा सेवा नदिएमा, गन्तव्यमा पु¥याउन सवारीले ढिलाइ गर्नेजस्ता समस्या समाधान गर्न यात्रु सहायता कक्षाले सहयोग पुऱ्याउनेछ ।’

पृथ्वी राजमार्गको महादेववेसी, गल्छी, गजुरी, जोगीमारा र खानीखोलामा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको र यात्रुलाई ठगिनबाट जोगाउने पनि यसको मुख्य उद्देश्य रहेको जिल्ला प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय धादिङले दशैँ-तिहार विशेष सुरक्षा योजना शनिबारदेखि लागू गराएको छ । चार्डपर्वको बेलामा हुनसक्ने झैझगडा, चोरी, जुवातास लगायतका घटना हुन नदिन विशेष सुरक्षा योजना बनाएर लागू गरिएको हो । सुरक्षा सतर्कताको लागि धादिङमा प्रदेश प्रहरी कार्यालयबाट ६५ प्रहरी थप गरी परिचालन गरिने प्रहरी उपरीक्षक गौतमले जानकारी दिए ।