चाडपर्वमा अखाद्य वस्तुको बिगबिगी

चाडपर्वमा अखाद्य वस्तुको बिगबिगी

घ.वि. सम्वाददाता
0
Shares

बागलुङ, बागलुङ बजारका चोकचोकका पसलमा आकर्षक रङ्ग प्रयोग गरि तयार गरिएको आकर्ष झिनियाँ, उत्पादन मिति नै नतोकिएको वा केरमेट गरिएको भुजा लगायतका अखाद्य वस्तु विक्रिमा राखिएको पाईएको छ ।

सो भुजाको उत्पादन मिति र उपभोग्य मिति केरमेट गरेर नयाँ मिति कायम गरेको पाइएकाले उक्त भुजालाई गोदाममा फर्काउन निर्देशन दिइएको छ ।

झिनियाँ र भुजा मात्रै नभई कुरकुरे, लेज, बियर, कोक, फ्यान्टा र सुजी लगायतका वस्तुमा उपभोग्य वस्तुको मिति गुज्रेको पाइएको छ । यस्ता वस्तुहरु उपभोगका लागि अखाद्य मानिन्छ । बागलुङ बजारमा दसैँको मुखमा अखाद्य वस्तुको बिगबिगी नै देखिएको छ । चाडपर्वका अवसरमा अस्वाभाविक मूल्यवृद्धि र अखाद्य वस्तुको बिक्री वितरण भइरहेको गुनासोपछि बजार अनुगमनलाई तीव्र गति दिने क्रममा अखाद्य बस्तु अत्यधिक पाइएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

बरालले व्यापारीले ज्ञान नभएर या उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेर जुनसुकै अवस्थामा बिक्रिमा राखेको भएपनि अबका दिनमा उपभोग्य मिति हेरेर मात्र बिक्रि गर्नुपर्नेमा जोड दिनुभयो । बागलुङका अधिकांश किराना पसलमा मिति गुज्रेका सामग्री पाइएको र कतिपय खुद्रा व्यापारीहरुले मिति सकिएको सामग्री खरिद गरेर ल्याएको समेत पाईएको उहाँले बताउनुभयो। यस्तो कार्यले सर्वसाधारणको स्वास्थ्यमा नै असर गर्ने हुँदा सबैलाई सचेत रहन समेत आग्रह गर्नुभयो ।

पर्यटन तथा उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, बागलुङ नगरपालिका र जिल्ला प्रशासन कार्यालयले संयुक्त रुपमा बजार अनुगमन गर्दा अखाद्य पदार्थ पाइएको हो । बागलुङको पुरानो बजारमा बढी म्याद गुज्रेका खाद्य सामग्री पाइएको छ । अनुगमनलाई राष्ट्रिय उपभोक्ता मञ्च र जिल्लाका पत्रकारहरुले साथ दिइरहेका छन् । बागलुङ बजारको भलायटोल, देउरालीचोक, कम्पुटोल, पेन्सन क्यामरोड लगायतका क्षेत्रमा बजार अनुगमन गरिसकेको छ ।

अनुगमनका क्रममा धौलागिरि भुजामा मिति सच्याएको, अर्ना बियरमा मिति गुज्रेको र रिजालको दालमोठमा मिति गुज्रेको पाइएको छ । यस्तै अनुगमनका क्रममा लेज, सुजी, बिस्कुट, चाउचाउ, मह, कुरकुरे, फ्यान्टा, कोक तथा स्प्राइटको समेत मिति गुज्रेको पाइएकाले नष्ट गरिएको छ ।

अनुगमनका क्रममा मिति गुज्रेका सामग्रीसमेत मिति कायम भएका सामग्रीसँगै राखेर बिक्री गरेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य प्राविधिक सहन्साकुमार महतोले जानकारी दिनुभयो । उहाँका अनुसार चाडबाडको मुखमा व्यापारीलाई कारबाही नभएर सचेत गराउँदै हिँडेको र अखाद्य बस्तु नष्ट गरिएको छ ।

दसैँको मुखमा मासु तथा फलफूलको व्यापार बढी हुने भएकाले मासु र फलफूलको अनुमगनसमेत गर्न थालिएको नगर उपप्रमुख राजु खड्काले बताउनुभयो । बागलुङ बजारलाई चुस्तदुरुस्त र बजार अनुगमनलाई प्रभावकारी बनाउनका लागि बागलुङका थोक व्यवसायी र सरोकारवालाहरूलाई सँगै राखेर छलफलसमेत गर्दै आएको नगरपालिकाले जनाएको छ ।

चाडपर्व नजिकिँदै गएको अवस्था र बजारलाई चुस्तदुरुस्त, सुरक्षित तथा मर्यादित बनाउनका लागि नगरपालिकाको उपभोक्ता हित संरक्षण समिति र डिलर एसोसिएसन बीचको छलफलले उपभोग्य मिति कम रहेका सामग्री बागलुङमा नल्याउने र बिक्री नगर्ने, डिलर तथा थोक व्यवसायीहरूले बजारमा म्याद सकिएका खाद्य सामग्री भए नभएको नियमित हेरेर त्यस्ता सामान समय–समयमा उठाउने व्यवस्था गर्ने, बिना बिल कुनै पनि सामान खरिद बिक्री नगर्ने र डिलर तथा थोक व्यवसायीले आफूले सामान दिने खुद्रा बिक्रेताहरूको सूची तयार गरि राख्ने गरी काम भइरहेको उपप्रमुख खड्काले बताउनुभयो ।