अस्तित्वमा ल्याइँदै मानसखण्ड !

अस्तित्वमा ल्याइँदै मानसखण्ड !


नेपाली भूभागसमेत समेटेर बेग्लै सभ्यताको नाममा एउटा नयाँ ‘भूगोल’ अस्तित्वमा ल्याउने योजनाबद्ध तयारी भएको छ । मान सरोवर र कैलाश क्षेत्रबाट उत्पत्ति भइ दक्षिण तथा पूर्व दक्षिण क्षेत्र भएर बग्ने नदीका दुई किनाराको सभ्यतालाई मानसखण्डी सभ्यताको नाममा प्रवर्द्धन गर्न खोजिएको हो । यस कार्यमा भारतीय पक्षको सक्रियता ज्यादा देखिएको छ भने नेपालभित्र पनि यसलाई स्थापित गर्ने प्रक्रिया सुरु भएको छ ।

केहीअघि मानसखण्डको नाममा नयाँ नक्सा जारी भएको छ र उक्त नक्सा गुगलमा समेत राखिएको छ । भारतको हिमाञ्चलका केही क्षेत्र, उत्तराखण्ड र उत्तर प्रदेशको केही क्षेत्र तथा नेपालको सुदूरपश्चिम प्रदेश पूरै र कर्णाली प्रदेशको एक हिस्सा समेटेर मानसखण्डको अवधारणा विकाश गरिएको हो । मानसखण्डी सभ्यताको विकासमा भारतले दीर्घकालीन र अल्पकालीन कार्य योजनाहरू बनाएको बुझिएको छ ।

प्राप्त जानकारीअनुसार त्यस क्षेत्रको पूर्वाधार विकासका निम्ति भारतले ठूलो धनराशी खर्च गर्ने योजना बनाएको बताइन्छ । उक्त क्षेत्रमा रोजगारी सिर्जना गर्न र आर्थिक गतिविधि बढाउन प्रत्येक वर्ष करोडौँ पर्यटक पु¥याउने योजना पनि भारततर्फ बनेको बुझिन्छ । हालै नेपालको परराष्ट्र मन्त्रालयले पनि मानसखण्डलाई ‘रिकग्नाइज्ड’ गरेको छ । उक्त क्षेत्रमा विभिन्न स्तरमा अन्तरक्रियात्मक विचार गोष्ठी र साहित्यिक कार्यक्रम आयोजना गरि मानसखण्डी सभ्यताको बारेमा मानिसको मन मस्तिष्क भर्ने कार्य सुरु भएको छ ।

नेपाल र भारतबीच सीमासम्बन्धी विवाद रहेको उक्त क्षेत्रमा मानसखण्डको अवधारणाले बिबाद सुल्झाउन सहयोग पु¥याउने विश्वास भारतीय पक्षले गरेको छ । त्यस्तै महाकाली नदीको जल उपयोगसम्बन्धी परियोजनालाई लिएर समयसमयमा उत्पन्न हुने असमझदारी र ब्यवधानलाई पनि मानसखण्डी अवधारणाले पन्छाउने अपेक्षा राखिएको छ । मानसखण्डी अवधारणालाई यसका जानकारहरूले छिमेकी मित्रराष्ट्र भारतको एक महत्वाकाङ्क्षी परियोजनाको रूपमा व्याख्या गरेका छन् । कुनै अप्रत्याशित एबम अनपेक्षित घटना नभएमा मानसखण्डी अवधारणाले दुवै मुलुकका नागरिकलाई सहयोग पुऱ्याउनेछ । कदाचित विवाद उत्पन्न भएमा भने यो दुई देशबीचको सम्बन्धलाई थप तनावग्रस्त बनाउने सम्भावनालाई पनि इन्कार गर्न सकिन्न ।