कुखुरापालन : आपूर्तिकर्ता मोटाउने, किसान दुब्लाउने

कुखुरापालन : आपूर्तिकर्ता मोटाउने, किसान दुब्लाउने


  • सुरेन्द्र सुवेदी, पाँचथर

देश बोइलर कुखुरा र कुखुराको अण्डामा आत्मनिर्भर भएको घोषणा गरिएको वर्षौं बित्यो । तर, ती कुखुरा र अण्डा उत्पादन गर्ने किसानका समस्या घोषणा भएनन् । अनि उत्पादन गर्ने किसानहरु सधैं दुब्लाइरहेका छन् । किसानलाई कुखुराका चल्ला, औषधि, दाना आपूर्ति गर्ने बिचौलिया अर्थात आपूर्तिकर्ता भने दिनदिनै मोटाइरहेका छन् ।

पाँचथरमा दैनिक करिव १ हजार ५ सय किलोग्राम कुखुराको मासु खपत हुन्छ । यहाँ कुखुराको मासु प्रतिकिलो ४ सय २० रुपैयाँ छ । दैनिक करिव ४ लाख रुपैयाँको दाना खपत हुन्छ । यो हिसाबमा दैनिक २ लाख रुपैयाँ कुखुरा पाल्ने किसानका हातमा आउनुपर्ने हो, तर त्यस्तो भएको पाइन्न । किनकि मुनाफाको ठूलो हिस्सा चल्ला, औषधि आपूर्ति गर्दै मासु पनि खरिद गर्ने व्यपारीले लिने गरिरहेका छन् ।

पाँचथरको उत्तरी क्षेत्र, तेह्रथुमको आठराई र ताप्लेजुङको केही क्षेत्रमा फिदिमदेखि कुखुराका चल्ला, औषधि र दाना आपूर्ति गरिन्छ । किसानले उत्पादन गरेका कुखुरा चल्ला, औषधि र दाना आपूर्ति गर्ने बिचौलियाले नै खरिद गर्छन् । जसमा उनीहरुको ‘कार्टेलिङ’ रहिरहन्छ । आपूर्तिकर्ताकै मूल्यमा चल्ला, दाना र औषधि खरिद गर्नु पर्ने र उत्पादित मासु पनि उनीहरुको भाउमा बिक्री गर्दा किसानहरु मर्कामा परिरहेको पाइन्छ ।

फिदिम-४, थाक्लेमा ६ वर्षदेखि पोल्ट्री व्यवसाय सञ्चालन गर्दै आएका केशव र कमल खनालका अनुसार सरकारबाट कुनै सुविधा नपाएको कारण यो व्यवसाय फस्टाउने अवस्थामा छैन । उनीहरु कुखुरामा क्षति हुँदा पनि राहत नपाउने र सरकारी कुनै निकायबाट पनि सेवा र सुविधा नदिइने भएकोले कुखुरापालन व्यवसायबाट किसानहरु दिनदिनै पलायन हुन थालेका छन् । थाक्लेमा ४ वटा कुखुरा फर्म रहेकोमा अहिले २ वटामात्र छन् ।

पाँचथरको राँके, रवि, लिम्बा, दूर्दिम्बाजस्ता दक्षिणी क्षेत्रमा झापा र मोरङबाट चल्ला र दाना आपूर्ति गरिन्छ । ती क्षेत्रमा भएका साना व्यपारिक केन्द्रका कारण मासुको खपत पनि न्यून छ । त्यहाँका किसान पनि बोइलर पालनबाट दिक्क मान्न थालिरहेको बताउँछन् ।

तेह्रथुम बहुप्राविधिक शिक्षालयका बिद्यार्थीले प्रयोगात्मक अभ्यासका लागि बोइलर कुखुरा पालेका छन् । त्यहाँकि विद्यार्थी सीमा राइले भनिन्- ‘व्यवसाय ठीक छ तर उत्पादित मासु किसानले खुला रुपमा बिक्री गर्न पाएमा किसानको हित हुन्छ, होइन भने आपूर्तिकर्ता मोटाउनेमात्र हो ।’

चल्ला र दाना आपूर्ति गर्ने व्यवसायीहरु भने आफूहरुले किसानको हितमै काम गर्दै आएको बताउँछन् । एक आपूर्तिकर्ताले भने, ‘चल्ला, औषधि र दाना सबै दिएर उत्पादन भएको मासु खरिद गरिदिएपछि किसानको अहित हुने कुरो नै छैन ।’ तर, किसानहरु भने आपूर्तिकर्ताको आवरणमा बिचौलिया बन्दै किसानहरु ठगिनेक्रम यथावत रहेको बताउँछन् । उनीहरु भन्छन्, ‘साहुजीहरु मोटाउँदै गएका छन्, हामी किसान भने कुखुरा पालेर कमाउने भन्दा पनि दुब्लाउने भइरहेका छौं ।’

उनीहरुकै सामान र उनीहरु नै मासु खरिद गर्ने भएकोले मनखुसी मूल्य निर्धारण गरिँदा किसानहरु मर्कामा परिरहेको सत्य हो । अनि कुखुराको मासु र अण्डामा देश आत्मनिर्भर भएको भन्दै सरकारले कुखुराबाहेकको क्षेत्रमा लगानी गर्दा कुखुरापालक कृषकहरु कुनै पनि सेवा र सुविधा लिनबाट बञ्चित छन् ।

ब्लड फ्लु र त्यस्तै अन्य रोगका कारण खोरभरीका कुखुरा मर्दा पनि किसानले क्षतिपूर्ति पाएका छैनन् । कुखुरा फर्म नै रित्तिँदा पनि कुनै राहत नपाएका कारण दर्जनौं किसान विस्थापित भइसकेको देखिन्छ । पाँचथरमा मात्र करिव ५ सय किसानले कुखुरा पाल्दै आएको एक आपूर्तिकर्ताले बताए ।