कसले फैलाइरहेको छ समाजमा हिंसा ?

कसले फैलाइरहेको छ समाजमा हिंसा ?


हिन्दुमाथि प्रहारका केही नमूना

दशैँ आएसँगै बली प्रथा र जातीय विभेदको कुरालाई महत्व दिएर दशैँविरोधी अभियान नै संचालन गरिन्छ । तिहार आएसँगै ध्वनी प्रदूषण एवं दियो बाल्दा र पटका पड्काउँदा वातावरण प्रदूषण हुन्छ भनेर हुइयाँ कार्यक्रमहरू संचालन गरिराखिएको हुन्छ । जसको आयोजक स्थानीय एनजिओ वा सरकारी संयन्त्र हुन्छन् भने सह-आयोजक कुनै दातृसंस्था ।
✍ अनाम शर्मा

दशैँ हाम्रो आँगनमा आइपुगेको छ । मान्नेले मान्न पाउँछ नमान्नेलाई ‘मान्नैपर्छ’ भनेर कुनै कर गरिएको छैन । तर, पनि मंगोल नेशनल अर्गनाइजेसन एवं आफूलाई दलित अभियन्ता भन्न रुचाउने डा. मित्र परियारलगायतका केही मेशिनरी अभियन्ताले दशैँविरोधी क्रियाकलापहरू गर्न थालेको देख्न पाइन्छ । दशैँ नजिकिएसँगै यिनीहरूको वैदेशिक निकायहरूसँगको भेटघाट र भेटघाटपश्चातको दशैँविरोधी अभियानले यिनीहरू कोबाट परिचालित छन् भन्ने प्रश्न उठेको छ । लामो समयसम्म बेलायती राजदूतावासको कार्यालय लैनचौरमा काम गरेका डा. परियारका गतिविधि क्रिश्चियन धर्मलाई सहयोग पुग्न खालका रहेको आरोप लाग्ने गरेको छ ।

आफूलाई स्वघोषित दलित अभियन्ता बताउने डा. परियारले पश्चिमा राष्ट्रका कूटनीतिज्ञहरूसँग भेटवार्ता गर्दै आएका बुझिन्छ । उनका लेख-रचनाहरू क्रिश्चियनको प्रचारक र हिन्दू धर्मविरोधी वेवपोर्टलहरूमा आउने गरेका छन् । पश्चिमा राष्ट्रहरूलाई नेपालमा क्रिश्चियन धर्म बढाउन ठूलो रकम खर्च गरेको भनेर आरोप लाग्दै आएको छ । यस्तो अवस्थामा सामाजिक सद्भाव बिथोलिने गरेर डा. परियारले अभिव्यक्ति स्वतन्त्रताको दुरूपयोग गरेका छन् । निजका यस्ता अमानवीय गतिविधिहरूले आशंका उब्जिएको छ । उनका घृणा फैलाउने अभिव्यक्तिप्रति नेपाल प्रहरीको साइबर ब्यूरोले विशेष ध्यान दिनु आवश्यक छ । यससँग सम्बन्धित विस्तृत समाचार www.republicadainik.com मा आश्विन १९, २०८० मा प्रकाशित छ ।

यस्तै, दशैँ नजिक आएसँगै माधवकुमार नेपालको एक ‘स्टेटमेन्ट’ बाहिर आएको छ । नेपालमा हिन्दूहरूले बढी महत्व पाएका छन्, दशैँ तिहारको बिदा छोट्याउनुपर्छ भनेर उनले भनेका छन् । मानिसको दिनचर्या निकै व्यस्त बनिसकेको छ । त्यसैले काममा जुट्नुपर्ने मानिसका बाध्यता छन् भन्दै अब दशैँलाई दुई दिन, नभए तीन दिनभित्र दशैँलाई सक्नुपर्छ भन्दै उनले आफ्नो विचार राखेका छन् । उनले घुमाउरो पाराले नेपाली संस्कृतिमाथि अर्घेलो गर्ने चेष्टा गरेका छन् । जुन नेताहरूले गरिबलाई चुसेर ३६५ दिन नै दशैँ मनाइरहेका छन् तिनै नेताहरूले गरिब जनताले १० दिन मनाउने दशैँमाथि पनि कुदृष्टि लगाएर समस्त जनताको खुशीमाथि र समग्रमा हिन्दू चाडपर्वमाथि प्रहार गरेको छन् ।

यसरी एकातिर हिन्दू धर्ममाथि चारै तिरबाट प्रहार भएको छ भने अर्कोतिर संसदमा मुस्लिम र इसाईको पक्षमा नेताहरूद्वारा वकालत शुरू भएको छ । केही समयअघि मात्र इसाई मिशिनरी आईएनजिओहरूले ११ अर्ब २८ करोड रकम भित्राएको समाचार सार्वजनिक भएको थियो । उक्त रकम आएसँगै नेता एवं मन्त्रीहरूले इसाईको पक्षमा संसदमा एवं मिडियाहरूमा अभिव्यक्ति दिन थालेको देख्न सकिन्छ । सत्ताररूढ दल नेकपा माओवादीमा रहेका इसाई धर्मावलम्बीहरूले भरतपुर महानगरपालिकामा भ्रातृसंगठन निर्माण गरेका थिए । भरतपुर महानगरकी मेयर रेनु दाहाललाई प्रमुख अतिथि बनाएर गरिएको उक्त सम्मेलनबाट माओवादीनिकट ‘प्रगतिशील इसाई मञ्च’ गठन गरिएको थियो । हालैमात्र भरतपुरको अतिथि पार्टी प्यालेसमा सम्मेलन समेतको आयोजना गरिएको थियो । यसैबाट पनि के प्रष्ट हुन्छ भने यहाँ नेतृत्व स्वयमले नै इसाई धर्मान्तरणलाई सहयोग गर्दै आएको छन् ।

माइतिघर मण्डलामा चार जना उभिएर प्ले कार्ड बोक्दा मात्र पनि नेपालको ‘मेन स्ट्रीम’को मिडियाद्वारा समाचार बनाइन्छ । भोलिपल्ट मिडियामा ठूला-ठूला हेडलाइन दिएर समाचार प्रकाशित गरिन्छ । तर, केही समयअघि धरानको विषयलाई लिएर त्यति ठूलो आन्दोलन भयो तर कुनै पनि ठूला मिडियाले उक्त कार्यक्रमलाई प्रसारण गरेन । मानौँ सबै मिडिया मिलेर उक्त कार्यक्रमलाई बाईपास गर्नु भनेर कसैबाट दबाब आएको थियो झैँ गरेर घटनालाई पन्छाइयो । लाखौँ मानिस सडकमा निस्किएर आन्दोलन एवं विरोध गर्दा पनि यो देशको संचार माध्यम आँखा चिम्लेर बस्छ ! महत्त्वपूर्ण समाचार सम्प्रेषण नहुनुले पनि यहाँ मिडिया माथि अरू कसैले निगरानी गर्दै आएको छ र सुनियोजित ढंगले नेपालको सभ्यता, संस्कृति, परम्परा, धर्म आदिलाई समाप्त पार्न लागि परेको छ भन्ने कुरा प्रष्ट हुन्छ ।

जब-जब हिन्दू चाडपर्वहरू नजिक आउँछन् तब-तब यहाँ चाडपर्वविरोधी लेखहरू प्रकाशन हुन थाल्छन् । तीज आएसँगै धर्मलाई जोडेर महिला हिँसाका समाचारहरू लेखिन थाल्दछन् । स्वस्थानी आएसँगै महिला हिंसाको र पुरुषप्रधान समाजद्वारा दमन गरिएको झूटो अफवाहलाई प्राथमिकताको साथ लेखिन थालिन्छ । राष्ट्रिय एकीकरण दिवसको दिन एकीकरणकर्तालाई नै थुक्ने अभियान चलाइन्छ । दशैँ आएसँगै बली प्रथा र जातीय विभेदको कुरालाई महत्व दिएर दशैँविरोधी अभियान नै संचालन गरिन्छ । तिहार आएसँगै ध्वनी प्रदूषण एवं दियो बाल्दा र पटका पड्काउँदा वातावरण प्रदूषण हुन्छ भनेर हुइयाँ कार्यक्रमहरू संचालन गरिराखिएको हुन्छ । जसको आयोजक स्थानीय एनजिओ वा सरकारी संयन्त्र हुन्छन् भने सह-आयोजक कुनै दातृसंस्था । यस्ता विरोध कार्यक्रम गर्नलाई ब्यानर, माइकिंग, स्टेज, खाजापानी आदि खर्चहरू कहाँबाट आइरहेको छ र यिनीहरूलाई कसले परिचालन गरिरहेको छ भन्ने कुरासँग हरेक मानिस जानकार छन् । काठमाडौंको ठाउँमा बसेर बिना कुनै जागिर वा उद्यम अभियन्ता बनेर हिँड्ने व्यक्तिको दिनचर्यालाई नियाल्दा मात्रपनि उनीहरू परिचालित हुन् भन्ने कुराको पुष्टि हुन्छ !

बेलायतमा ६.७ प्रतिशत, नर्वेमा ३.७ प्रतिशत, क्यानाडामा ४.५ प्रतिशत, अष्ट्रेलियामा ३.२ प्रतिशत, स्विट्जरल्याण्डमा ५.४ प्रतिशत, फ्रान्समा १० प्रतिशत मुस्लिम छन् । त्यसैगरी, नेपालमा ५.०४ प्रतिशत मुस्लिम र १.५४ प्रतिशत इसाई छन । तर पनि उनीहरूको स्वाभिमान एवं पन्थको सम्मान गर्दै नेपालले क्रिसमस एवं ईदमा विदा दिने गरेको छ । अन्य इसाई देशले इसाई पर्वमा त विदा दिन्छ होला तर मुस्लिम पर्वमा विदा दिँदैन । झन हिन्दू चाडपर्वमा विदा दिने त कुरै भएन । त्यसरी नै अरबिक देशमा कैयौँ हिन्दू कार्यरत छन् तर त्यहाँ पनि दशैँको दिनमा समेत काम गर्न बाध्य हुन्छन हाम्रो दाजुभाइहरू । विदा त धेरै परको कुरा भयो । तरपनि हामी हिन्दूहरूलाई नै उक्त विदेशी शक्तिहरूले जातीय र धार्मिक सहिष्णुताको कुरा सिकाई रहेको पाईन्छ । जब कि वास्तविकता के हो भने उनीहरू कसैले पनि अर्को धर्मप्रति सहिष्णुताको भाव राखेको पाईंदैन ।

केही समयअघि नेपालगञ्जमा एक घटना भयो । त्यहाँको स्थानीय प्रशासनले नेपालगंजको शान्ति व्यवस्था र सद्भावलाई ध्यानमा राखेर त्यहाँको घटनालाई सामाजिक संजालमा राख्न र टिकाटिप्पणी गर्नमा रोक लगायो । जनताको सुरक्षालाई ध्यानमा राखेर सरकारले यो कदम उठाएको हो भने धन्यवाद छ । तर सामाजिक संजालमा पाइएका प्रमाणहरूलाई हेर्दा के देखियो भने, हिन्दू र मुस्लिम बिचमा द्वन्दात्मक अवस्थाको सिर्जना नहोस भनेर प्रहरी तैनाथ गरिएको थियो । मुस्लिम समुदायले ताकेर नै हिन्दूहरूलाई ढुंगा प्रहार गरिरहेका थिए । तरपनि प्रहरीले मुस्लिम समुदायमाथि लाठी प्रहार गरेको देखिएन । अन्य आन्दोलनमा आन्दोलनकारीले प्रहरीलाई नै ढुंगा हान्ने गरेको देखिन्थ्यो तर नेपालगंजमा प्रहरीलाई छलेर अर्थात् प्रहरीको टाउको माथिबाट जाने गरेर ढुंगा हानेर हिन्दूमाथि आक्रमण गरेको देखियो । त्यो देख्दादेख्दै पनि प्रहरीले अश्रुग्यास एवं हवाई फायर हिन्दूमाथि नै गरेको देखियो । यदाकदा १५/१६ वर्षका जेहादी किसिमको भिड जो एकै ड्रेसमा मैदानमा उत्रिएका थिए, तिनीहरूलाई लक्षित गरेर प्रहरीले उक्त उच्छृङ्खल समूहलाई नखेदाएको भने होइन ! जबकि पूरा घटना एक फेक आईडीमा कुनै फेक परिचयधारीले लेखेको स्टाटसमा आधारित थियो र उक्त आन्दोलनलाई हिंस्रक र जातिवादी रुप दिने स्थानीय जनप्रतिनिधि नै थिए । तैपनि सरकार पक्षले हिन्दू समाजलाई सहयोग गरेको देख्न सकिएन । त्यहाँ पनि हिन्दूविरोधी गतिविधि गर्नेहरू माथि नै उदार चरित्र देखाएको प्रष्ट देख्न सकिन्थ्यो ।

सर्लाहीको घटनामा पनि हिन्दू समाजले आफ्नो पर्व मनाउँदै शोभायात्रा एवं मूर्ति विसर्जन यात्रा निकालेका थिए, तर त्यहाँ पनि घरभित्र लुकेर छत माथिबाट ढुंगा प्रहार गर्ने, उम्लिएको तातोपानी खन्याउने, महिलालाई अगाडि बढाएर फ्रन्टलाईनमा महिलालाई उभ्याएर पछाडी बाट आक्रमण गर्ने जस्तो किसिमले हिंसाको वातावरणको निर्माण गर्ने कार्य गरियो । त्यति मात्र नभएर बत्ति निभाएर एक स्थानीय हिन्दु युवामाथि छुरा समेत प्रहार गरियो । यस्तो हुँदाहुदै सरकारले दोषीलाई कारबाही गर्ने भन्दा पनि सामाजिक सदभाव न बिग्रियोस् भनेर घटनालाई शान्त पार्न खोजिएको देखियो । घटना सर्लाहीमा भयो तर केन्द्र सरकारले केन्द्रमा भएका १० जना व्यक्तिलाई बोलाएर उक्त घटनामा आन्दोलन नगर्ने प्रतिवद्धतासहितको हस्ताक्षर गरायो । दोषीउपर कारबाही गर्ने परिपाटीभन्दा पनि घटनालाई दबाउने संस्कृतिको र फाइल बन्द गर्ने परिपाटीको विकास भएको प्रष्ट देख्न सकिन्छ ।

हाम्रो समाजमा विगत केही वर्षयता हिन्दू देवी-देवतालाई गाली गर्ने, अस्लिलताले भरिएको शब्दावलीको प्रयोग गर्ने, हिन्दू समाजलाई अपमान गर्ने, ब्राह्मण एवं क्षेत्री जातिलाई तोकेर नै गाली गर्ने, काट्छु मार्छु भन्ने, शरणार्थी भन्ने, खेदाउंछौ भन्ने अभिव्यक्ति दिंदै आएका छन् तर त्यति हुँदा पनि सरकारले त्यसको विरुद्ध कुनै कदम चालेको देखिंदैन तर केही दिनअघि एक धर्मगुरू श्रीनिवासाचार्यले दिएको अभिव्यक्तिलाई लिएर पक्राउ गरेर मुद्दा चलाउन समेत भ्यायो । हिन्दू संघ संस्थाले विरोध जनाएपछि देशमा आन्दोलन हुने ठानेर सरकारले श्रीनिवासाचार्यलाई छाड्न त छाड्यो तर सामाजिक संजालमा उग्र प्रकृतिको भाषणवाजी गर्ने मंगोल नेशनल अर्गनाइजेसनको नाईकेहरू, मस्टो समाजको केही परिचालित अभियन्ताहरू, मुस्लिम समुदायका युवाहरू, इसाई समाजको पास्टर एवं अभियन्ताहरूले दिएको वक्तव्य सयौको संख्यामा छन् । आंगकाजी शेर्पा, डा. मित्र परियार, डा. केशवमान शाक्य, दलमर्दन कामी, जीवन मंगोल, आहुति, खगेन्द्र संग्रौला, मानबहादुर राई आदि जस्ता कैयौं व्यक्तिले प्रत्यक्ष रूपमा सामाजिक हिँसा भड्किने गरेर विचार राख्ने गरेका छन् तर पनि नेपाल सरकारले आजसम्म यिनीहरूविरुद्ध कुनै कारबाही गरेको छैन । तर, संविधानले नै अपराध मानेको गौहत्याको विषयमा हत्यारालाई कारबाही गर्नुपर्छ भनेर सरकार पक्षलाई नै सहयोग हुने गरेर आन्दोलन गर्दै आएका हिन्दू अभियन्तालाई पक्रने र कारबाही गर्नुले सरकारको कार्यशैलीमाथि नै शंका गर्ने स्थान प्रशस्त देख्न सकिन्छ ।

दशैँ एवं गढि़माई मेलाको समयमा पशुहिंसाको आवाज उठाउनेहरूले क्रिसमस एवं ईदमा कहिले पनि पशुहिंसाको आवाज उठाएको देख्न पाईंदैन । मन्दिरमा बलेको दियो र दीपावलीमा बालिएको दियोको विषयलाई लिएर आवाज उठाउनेले चर्चमा बालिएको र वातावरणलाई प्रदूषित गर्ने मैन बत्तीको बारेमा कहिले विरोध जनाएको सुनिदैन । एक कुकुरलाई कसैले लात हानेको भिडियो पोस्ट गर्दा त्यसको बिरुद्ध सडकमा आन्दोलन गर्ने र सामाजिक संजालमा विरोध जनाउने ’एनिमल लभर’ हरूले कहिले पनि गौ हत्या भएर सामाजिक संजालमा भिडियो पोस्ट गर्दा पनि विरोध गरेको पाईंदैन । नेवारी समुदायले आफ्नो जात्रामा रूखको एक लिङ्गो ठड्याउँदा रूख काट्नुलाई गलत हो भनेर आवाज उठाउनेहरूले क्रिसमसको समयमा विश्वमा लाखौको संख्यामा काटिने क्रिसमस ट्रीको विरुद्धमा कहिले आवाज उठाएको पाइएन । तिहारमा राति देउसी खेल्दा ध्वनीप्रदूषण हुन्छ, उच्छृङ्खल तत्वद्वारा वितण्डा मच्चाउँछन्, शान्ति व्यवस्थामा खलल पार्छन् भनेर लेख रचना लेख्नेहरूले कहिले पनि हरेक रातभरि रूपमा खुल्ने डिस्को र बारमा मदिरा सेवन गरेर, डिस्को बजाएर समाजको एक वर्गलाई बिगारिरहेको छ भनेर तिनको विरुद्धमा आवाज उठाएको पाइएन ।

मन्दिरमा बिहान आरती हुँदा घन्टीको आवाज र भजनले ध्वनी प्रदुषण भयो भनेर चिच्याउनेहरूले कहिले पनि दिनको ५ पटक मस्जिदमा चारैतिर फर्काएर माइक राखेर अल्लाह अकबर भनेर कराएको कर्कश ध्वनीको विरुद्ध आवाज उठाएको पाइएन । तिहारको समयमा लक्ष्मी पूजाको राति १ दिन पटका पड्काउँदा ध्वनी प्रदूषण एवं वातावरण प्रदूषणको बारेमा चिन्ता व्यक्त गर्नेहरूले इसाई एवं मुस्लिम देशको कारण दुनिया देशमा बम बारूद पड्काएको र नववर्ष तथा ओलम्पिक खेल उद्घाटनताका पटका पड्काएर धुवाले शहर नै प्रदुषण हुने गरेर वातावरण बिगारेको विरुद्ध कहिले आवाज उठाइएन । हिन्दू मन्दिरमा स्वेच्छिक रूपमा अलि-अलि पैसा चढाउँदा विरोध जनाउने र ब्राह्मणले लुट्यो खायो भन्दै बाहुनलाई सामन्ती करार दिनेहरूले कहिले पनि चर्चभित्र अनिवार्यरूपमा उठाईने दशांसको नाममा लिइने हप्तेभेटीको बारेमा आवाज उठाएको सुनिएन । मन्दिरमा चढाएको भेटीको हिसाब खोज्नेहरूले आजसम्म मस्जिद र चर्चको भेटीमाथि प्रश्न उठाएको पाईएको छैन । हिन्दूमाथि भारतको हिन्दूवादी पार्टी र संस्थाले लगानी गरेको छ भनेर झुठो आरोप लगाउनेहरूले प्रत्यक्ष रूपमा इसाई देशले अर्बौं रकम पठाएर धर्मान्तरण कार्य गराउँदा पनि आजसम्म आवाज उठाएको पाइएको छैन ।

त्यसैले यी सबै कुराहरूलाई हेर्दा यहाँ दुरभियोजन रूपले नै हिन्दूमाथि प्रहार गर्न र यो देशको संस्कृति, सभ्यता, रीतिरिवाज, जातीय पहिचान आदिलाई समाप्त पार्न यो देशका तथाकथित विद्वान् एवं बुद्धिजीवी भनिएका व्यक्तिहरू, मिडियाहरू, नेताहरू एवं सरकारी संयन्त्रका केही व्यक्तिहरू लागि परेका छन् भन्दा केहि अत्युक्ति नहोला ।

(लेखकको निजी धारणा । -सं.)