दशैँका यात्रुका लागि नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’

दशैँका यात्रुका लागि नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’


दशैँमा घर जाने यात्रुलाई लक्षित गरी काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ । महानगर प्रहरी टोलीले यात्रुको स्वास्थ्य परीक्षणका लागि डेक्स स्थापना गरेको हो ।

महानगर प्रहरीका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले हेल्थ डेक्समार्फत उच्च रक्तचाप जाँच, प्राथमिक स्वास्थ्योपचार र आवश्यक औषधि वितरण गरिएको बताए ।

हेल्थ डेक्समा काठमाडौं महानगरपालिका वडा नं २६ को टोली खटाइएको छ । दुई दिनमा पाँच सयभन्दा बढी यात्रुले स्वास्थ्य सेवा लिएको भट्टको भनाइ छ । यस्तै, महानगरपालिकाको टोलीले नयाँ बसपार्कमा यात्रुका लागि पिउने पानीको समेत व्यवस्था मिलाएको छ ।

नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले अहिले दैनिक नयाँ बसपार्कबाट ३० हजार यात्रु काठमाडौंबाट बाहिर गएको जानकारी दिए । उनले आगामी एक–दुई दिनमा उक्त सङ्ख्या बढ्नेसमेत बताए । अहिले दैनिक काठमाडौंको नयाँ बसपार्क भएर हजारौँ सार्वजनिक बस देशका विभिन्न क्षेत्रमा ओहोरदोहोर गर्दै आएका छन् ।