एनआरएनएलाई नेपाली नागरिकता दिँदा नेपालको विकास योजनामा सहयोग पुग्छ : राष्ट्रपति

एनआरएनएलाई नेपाली नागरिकता दिँदा नेपालको विकास योजनामा सहयोग पुग्छ : राष्ट्रपति

घ.वि. सम्वाददाता
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपालीलाई नागरिकता दिने व्यवस्थासँगै नेपालको विकासमा सहभागी गराउन सहज बाटो खुल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपाली नागरिकता दिने व्यवस्था गरेपछि एनआरएनको माग सम्बोधन गर्न सहज भएको राष्ट्रपति पौडेलले बताउनुभयो । उहाँले गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को विश्व सम्मेलन तथा ११औँ महाधिवेशनको उद्घाटन गर्ने क्रममा यस्तो बताउनुभएको हो ।

नेपाल सरकारले विभिन्न नीतिगत तथा कानुनी व्यवस्थाको तर्जुमा गरेको बताउँदै राष्ट्रपति पौडेलले संविधान बमोजिम एनआरएनले नेपाली नागरिकता पाउने व्यवस्थाले एनआरएनहरुलाई नेपालसँग थप नजिक ल्याउन मद्दत पुग्नेछ भन्ने आफ्नो विश्वास रहेको बताउनुभयो ।

उहाँले नेपाल र नेपालीको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने कार्यमा ठोस् योगदान गर्न र विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई एकताबद्ध गर्न एनआरएनएले विगतदेखि नै भूमिका खेल्दै आएको भन्दै आगामी दिनमा समेत नेपालको समग्र विकासमा यसले थप भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली नेपाली नै हो भन्दै राष्ट्रपति पौडेलले शान्त, समृद्ध र समुन्नत नेपाल हेर्न र अनुभूत गर्न चाहेको एनआरएनहरुको व्यवहार र अभिव्यक्तिले स्पष्ट पारेको बताउनुभयो । यही आत्मियताले देशभित्र र बाहिर बस्ने नेपालीलाई एकताबद्ध गरेको आफुले विश्वास गरेको बताउनुभयो । साथै उहाँले एनआरएनद्वारा प्रस्तावित छलफलका विषय र उद्देश्यहरू सबैका लागि सान्दर्भिक ठानेको समेत स्पष्ट पार्नुभयो ।

उहाँले राजनीतिक परिवर्तन पश्चात देश आर्थिक विकासको चरणमा प्रवेश गरेको तर, सङ्क्रमणकाल लामो बन्दा मुलुकमा केही चुनौती पनि देखा परेको उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलले नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाको दृष्टिकोणबाट पनि वैभवशाली मुलुक भएको र यहाँको जातीय, भाषिक, सांस्कृतिक, धार्मिक, जैविक विविधता विश्वकै लागि अनुपम छन् भन्दै प्रकृति र संस्कृतिको यो अनुपम संगमलाई जोगाउँदै देश र जनताको हित प्रव गर्दै विश्व समुदायमा नेपाल र नेपालीको विशिष्ट पहिचान गराउनु हामी सबैको राष्ट्रिय कर्तव्य भएको बताउनुभयो ।

उहाँले नेपाल बाहिर रहेर जीवनयापन गर्दैगर्दा आफ्ना सन्तानहरूले आफ्नो भाषा, संस्कृति भूल्ने सम्भावना रहने हुँदा त्यसप्रति सचेत हुन एनआरएनलाई आग्रह गर्नुभयो ।

नेपालप्रतिको अपनत्व अभिवृद्धि गर्न र समाजसित अटुट निकटता राख्न नयाँ पुस्तालाई समय समयमा नेपाल ल्याउने र यहाँको संस्कृति, सामाजिक परिवेश तथा भूगोलसँग परिचित गराइराख्न पनि उहाँले एनआरएनएलाई अनुरोध गर्नुभयो ।

राष्ट्रपति पौडेलले आजको चुनौती कसरी जैविक विविधतालाई सुरक्षित राख्न सकिन्छ भन्ने रहेको उल्लेख गर्दै यी क्षेत्रमा पनि गैर आवासीय नेपालीले आफ्नो योगदान कसरी पु¥याउन सक्छ त्यो मेरो पनि चासोको विषय भएका बताउनुभयो । उहाँले नेपालका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल एवम् नेपाली राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रुपमा विकसित गर्ने एउटा योजनातर्फ पनि एनआरएनएको ध्यान आकर्षित गराउनुभयो ।

राष्ट्रपति पौडेलले गैरआवासीय नेपाली विश्वसम्मेलन, ज्ञान सम्मेलन र युवा तथा महिला सम्मेलनले एनआरएनएको एकता र सहकार्यलाई थप सुदृढ र मजबुत बनाउनुको साथै नेपालसँगको सम्बन्ध अझ विस्तार गर्नेमा उहाँको विश्वास छ । उहाँले नेपालको विकास र समृद्धिको बाटोमा एनआरएनएको रणनीतिक साझेदारीलाई थप स्पष्ट र विस्तारित गराउन सम्मेलन उपलब्धिपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।