नेमकिपाका नेता सुवाल भन्छन्- ‘नेपालमा भ्रष्टाचारले करोड होइन अर्ब नाघ्न थाल्यो’

नेमकिपाका नेता सुवाल भन्छन्- ‘नेपालमा भ्रष्टाचारले करोड होइन अर्ब नाघ्न थाल्यो’


नेमकिपाका नेता एवम् संघीय सांसद् प्रेम सुवालले नेपालमा भ्रष्टाचारले करोड नभइ अर्ब नाघ्न थालेको भन्दै रोष प्रकट गरेका छन् । सिद्धिगणेश सहकारी संस्था लिमिटेड चोर्चा भक्तपुर-२९ को वार्षिक साधारणसभाको मंगलबार भक्तपुरमा उद्घाटन गर्दै सुवालले यो भ्रष्टाचारीहरूलाई कारबाही नहुँंदा भएको तर्क गरे। ‘पछिल्लो पटक वाइडबडीमा पाँंच/सात अर्बको भ्रष्टाचार भएको बाहिर आएकै हो’, उनले भने, ‘ललितानिवास, बालुवाटार जग्गा काण्ड, ओम्नी काण्डलगायतका सवैसवैमा भ्रष्टाचार भएको बाहिर आएकै हो।’

भ्रष्टाचारीलाई मृत्युदण्डको सजाए दिनुपर्ने पार्टी धारणालाई उनले पुनः दोहोऱ्याए । संविधानमै शंशोधन गरेर भए पनि भ्रष्टाचारीलाई मृत्युदण्डसम्मको सजाय दिनुपर्ने पार्टीको धारणा रहेको उनको भनाइ छ ।

फरक प्रसंगमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम सुनेरै डराउनेहरुलाई सिंहदरबारमा पठाएर केही नहुने जिकिर गरे । परराष्ट्रमन्त्री एनपी साउदसँंग पत्रकारले नेपालको गुन्जीको भारतीय प्रधानमन्त्री मोदी नेपाललाई जानकारी दिएर गएको हो भन्ने पत्रकारको प्रश्नको उतर दिन डराएर माइक पन्छाएको दृश्य सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको भन्दै उनले त्यस्तालाई सिंहदरबार पठाएर मन्त्री बनाएसम्म देश उँभो लाग्न नसक्ने दाबी गरे।

उनले इजराइल र प्यालेष्टाइनबीचको युद्धमा मारिएका १० जना निर्दोष नेपालीको निधनको जिम्मेवारी सरकारले लिनुपर्ने जिकिर पनि गरे । ८० वर्षदेखि युद्धग्रस्त क्षेत्रमा नेपालीलाई पठाउन नहुने ठाउँंमा पठाएकाले यसको दोषी नेपाल सरकार रहेको उनको जिकिर थियो ।