आत्मघातमा रमाएको काङ्ग्रेस

आत्मघातमा रमाएको काङ्ग्रेस


गिरिजाले सैद्धान्तिक रूपमा काङ्ग्रेसको माओवादीकरण गरेका थिए, शेरबहादुर देउवाले माओवादीलाई मतदान गर्न पटकपटक उर्दी जारी गरेर देशका राजनीतिक दलहरूको सिद्धान्त भनेकै केवल सत्ता हो भन्ने सन्देश दिए, दिइरहेका छन् । देउवाले माओवादी बोकिरहेपछि शेखर कोइरालाहरू चाहिँ एमालेलाई बोकेर आफ्नो राजनीतिक तुष्टि मेट्न खोज्दैछन् ।
✍ देवप्रकाश त्रिपाठी

पन्चायतको आखिरी समयतिर पञ्च र काङ्ग्रेसबीचको अन्तर साँघुरिएर दुवै उस्तै र एकै हुन् कि भन्ने भान हुने गर्दथ्यो । हो, बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह जस्ता निष्ठावान् नेता र नेताजत्तिकै प्रतिबद्ध कार्यकर्ता बहुदलीय प्रजातन्त्रका निम्ति लडिरहेका थिए । लडाइँ लम्बिँदै जाँदा आन्दोलन कमजोर भएर हो या पञ्चायतलाई बलियो ठानिएकाले हो, काङ्ग्रेसले राजासँगको अन्तरविरोध न्यूनीकरण गर्न आवश्यक ठान्यो । वर्गीय सङ्गठनको सदस्यता लिनु नपर्ने र, एउटै चुनाव चिन्ह लिएर मतदानमा सहभागी हुन पाइने हो भने आन्दोलनको निरन्तरतालाई भङ्ग गर्ने सङ्केत काङ्ग्रेसले दियो । त्यसले काङ्ग्रेस र पञ्चबीचको दूरी न्यून गराएको महसूस समकालीन राजनीतिमा गरिएको थियो ।

२०४६ सालको आन्दोलन काङ्ग्रेसको वैचारिक नेतृत्वमा भएको थियो, त्यसैले कम्युनिष्टहरू समेत राष्ट्रियता, संसदीय प्रजातन्त्र, संवैधानिक राजतन्त्र र समाजवादी आर्थिक कार्यक्रमको पक्षमा आफ्ना प्रतिबद्धता जाहेर गर्न प्रतिष्पर्धा गर्दथे । यतिसम्म कि धर्मलाई अफिम ठान्ने उनिहरू हिन्दू अधिराज्यको पहिचानप्रति समेत गौरवीबोध गर्थे र, राजाका पाउमा निसङ्कोच दाम चढाएर ढोग्न तम्तयार रहन्थे । तर २०६२ पछि जब काङ्ग्रेसले कम्युनिष्टको वैचारिक नेतृत्व स्वीकार गऱ्यो, त्यसपछि कुनै न कुनै प्रकारले उ कम्युनिष्टको सेवक भूमिका निर्वाह गरिरहेछ । हिजो कुनै बेला कम्युनिष्टप्रति आकर्षित सर्वसाधारण मानिस कोही एमाले र, कोही माओवादीतिर जोडिन पुगेका हुन्थे, आज सिङ्गो काङ्ग्रेस पार्टीकै एउटा हिस्सा एमालेतिर र अर्को हिस्सा माओवादीतिर जोडिने कसरत सगौरव गर्दैछ । कम्युनिष्टको कृपा प्राप्त गर्न भूतपूर्व प्रजातन्त्रवादी पार्टी काङ्ग्रेसका नेताहरूबीच यस स्तरको प्रतिष्पर्धा हुने अनुमान यस पार्टीका संस्थापकहरूले कहिल्यै गरेका थिएनन् ।

‘जाबो’ प्रधानमन्त्री बन्नकै लागि विगतमा जो-जसले जुन स्तरका गल्ती गरेका थिए त्यही स्तरको गल्ती गर्न शेखर पनि सुरिएका छन् । आफ्नो उमेर अवस्था र देशको परिस्थिति हेर्दा अर्को संसदीय कार्यकालमा मौका उपलब्ध हुन नसक्ने ठानेर हुनसक्छ, शेखर कोइराला दाम्लो चुँडिने गरी नै घाँटी तन्काउँदै छन् ।

कृष्णप्रसाद भट्टराई र गणेशमान जस्ता नेता थिएनन् भने काङ्ग्रेस र पञ्चबीचको दूरी नामेट हुन सम्भव थियो भन्ने घटनाक्रमहरूले सिद्ध गर्दछ । बीपी हुँदै गणेशमान र कृष्णप्रसाद भट्टराईसम्म आइपुग्दा काङ्ग्रेस एउटा खाँटी संसदीय प्रजातन्त्रवादी, मध्येमार्गी पार्टीका रूपमा स्थापित थियो । बाममार्गी र दक्षिणमार्गीहरूलाई एक ठाउँमा जोड्ने राजनीतिक एवम् वैचारिक सामथ्र्य काङ्ग्रेसमा रहेको अनुभूत गरिन्थ्यो । यही सामर्थ्यको जगमा काङ्ग्रेस उभिएको हो, यही शक्तिका कारण मजबूत र अनुशासित सङ्गठन नहुँदा पनि काङ्ग्रेसले अधिक मत प्राप्त गर्ने गरेको थियो । तर २०६२ पछि काङ्ग्रेस मध्येमार्गी भूमिकाबाट बाममार्गमा सऱ्यो, कहिले एमालेको सारथी बन्यो त कहिले माओवादीको ! आफ्नो मौलिक विचार सिद्धान्तबाट विचलित काङ्ग्रेस आफ्नो नेतृत्वदायी भूमिका निर्वाह गर्न असमर्थ भइरहँदा माओवादी र एमालेको ‘सवारी साधन’ बनिरहेको छ ।

विक्रम सम्वत २०५० मा गिरिजाप्रसाद र गणेशमान सिंहबीचको अन्तरविरोध गहिरिँदा तत्कालीन एमाले नेताहरूले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाएर काङ्ग्रेसमा विभाजन ल्याउने रणनीतिक चाल चलेका थिए । किशुनजीले काङ्ग्रेसको एकता जोगाउन नचाहनुभएको भए उक्त पार्टी त्यतिबेलै विभाजित हुने निश्चित थियो । २०४८ मा संसद्मा बहुमतको प्रधानमन्त्री बनेपछि सत्ताको उन्माद लागेका गिरिजाप्रसादले माले, मशाले र मण्डले एकै भएको भनी चर्को अभिव्यक्ति दिँदा त्यसको तीव्र आलोचना भएपनि बीपीका भाइ भएकाले यस स्तरको कट्टरता राख्नु स्वभाविक भएको अर्थ लगाइएको पनि थियो । यिनै गिरिजाले २०५३ मा आफ्नै पार्टीको (शेरबहादुर देउवा) नेतृत्वमा रहेको सरकार विस्थापित गराएर पञ्च (लोकेन्द्रबहादुर चन्द) र कम्युनिष्ट गठबन्धनको सरकार गठनका लागि मार्गप्रशस्त गरिदिएका हुन् ।

२०४६ सालको आन्दोलन काङ्ग्रेसको वैचारिक नेतृत्वमा भएको थियो, त्यसैले कम्युनिष्टहरू समेत राष्ट्रियता, संसदीय प्रजातन्त्र, संवैधानिक राजतन्त्र र समाजवादी आर्थिक कार्यक्रमको पक्षमा आफ्ना प्रतिबद्धता जाहेर गर्न प्रतिष्पर्धा गर्दथे । यतिसम्म कि धर्मलाई अफिम ठान्ने उनिहरू हिन्दू अधिराज्यको पहिचानप्रति समेत गौरवीबोध गर्थे र, राजाका पाउमा निसङ्कोच दाम चढाएर ढोग्न तम्तयार रहन्थे ।

गिरिजाप्रसादमा पनि प्रचण्ड र देउवाहरूमा जस्तै सत्ताकेन्द्रीत चरित्र थियो, त्यसैले उनले जीवनभर जस्तो राजनीति गरे त्यो सदैव सत्ताका निम्ति मात्र केन्द्रीत देखिन्थ्यो । सत्ता गुमेको झोकमा यिनै गिरिजाप्रसाद माओवादीमाथि लागेको सङ्कटकालका विरूद्ध उभिए र, पार्टी विभाजन गराएर राजालाई सम्पूर्ण सत्ताको मालिक बन्ने पृष्ठभूमि बनाइदिन पनि हिचकिचाएनन् । सत्ताकै निम्ति गिरिजाप्रसादले आफ्नो मौलिक सिद्धान्तविपरीत माओवादीसँग सम्झौता गरेर काङ्ग्रेसको वैचारिक यात्रा बिसर्जन गराइदिए । गिरिजाले सैद्धान्तिक रूपमा काङ्ग्रेसको माओवादीकरण गरेका थिए, शेरबहादुर देउवाले माओवादीलाई मतदान गर्न पटकपटक उर्दी जारी गरेर देशका राजनीतिक दलहरूको सिद्धान्त भनेकै केवल सत्ता हो भन्ने सन्देश दिए, दिइरहेका छन् । देउवाले माओवादी बोकिरहेपछि शेखर कोइरालाहरू चाहिँ एमालेलाई बोकेर आफ्नो राजनीतिक तुष्टि मेट्न खोज्दैछन् ।

त्यसो त सिद्धान्तको राजनीतिविरूद्ध पहिलो कदम चाल्ने पार्टीचाहिँ माधव नेपाल नेतृत्वको एमाले नै बनेको हो । पञ्च नेता लोकेन्द्रलाई प्रधानमन्त्री थापेर एमाले (२०५३ सालमा) सत्तामा गएपछि राजनीतिमा एकसाथ दुई विकृति प्रकट भएका थिए । पहिलो, सरकार सञ्चालनका निम्ति जनताबाट अयोग्य ठहर भएका संसद्को फुच्चे समूहलाई सरकारको नेतृत्व सुम्पिने विकृति र दोस्रो, वैचारिक मूल्य मान्यतालाई सत्ताका निम्ति बिसर्जन गर्ने विकृतिको प्रादुर्भाव । त्यस्तो विकारका विरूद्ध अडान राखेर प्रजातान्त्रिक मूल्य जोगाउनुपर्नेमा काङ्ग्रेसका गिरिजाप्रसाद पनि विकृति निरन्तरताकै पक्षमा उभिए । उनले सूर्यबहादुर थापालाई प्रधानमन्त्री थापेर आफूलाई सत्तामा पुऱ्याए । यो विकारले त्यसपछि पनि निरन्तरता पाइरह्यो, २०७४ सालमा बहुमतको प्रधानमन्त्री बनेका केपी शर्मा ओलीलाई विस्थापित गरि काङ्ग्रेसका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपालले जुन स्तरको राजनीति गरे त्यो पनि चरम विकृतिको निरन्तरता थियो । २०७९ को संसदीय निर्वाचनपश्चात् संसद्को ठूलो दललाई सरकारको नेतृत्व लिने अवसरबाट वञ्चित गर्न केपी ओलीले काङ्ग्रेसको काखबाट प्रचण्डलाई खोसेर प्रधानमन्त्री बनाइदिने जुन कार्य गरे त्यो पनि नयाँ समयमा गरिएको पुरानै गल्ती थियो । गत निर्वाचनपछि जो-जसको साथ लिएर भएपनि काङ्ग्रेस या एमालेमध्ये एउटाको नेतृत्वमा सरकार गठन हुने भूमिका निर्वाह गरिएको भए पुरानो विकृतिको निरन्तरतामा बिराम लाग्नसक्थ्यो, तर केपीले पनि विकारलाई नै निरन्तरता दिने कार्य गरेका हुन् ।

२०७९ को संसदीय निर्वाचनपश्चात् संसद्को ठूलो दललाई सरकारको नेतृत्व लिने अवसरबाट वञ्चित गर्न केपी ओलीले काङ्ग्रेसको काखबाट प्रचण्डलाई खोसेर प्रधानमन्त्री बनाइदिने जुन कार्य गरे त्यो पनि नयाँ समयमा गरिएको पुरानै गल्ती थियो । गत निर्वाचनपछि जो-जसको साथ लिएर भएपनि काङ्ग्रेस या एमालेमध्ये एउटाको नेतृत्वमा सरकार गठन हुने भूमिका निर्वाह गरिएको भए पुरानो विकृतिको निरन्तरतामा बिराम लाग्नसक्थ्यो, तर केपीले पनि विकारलाई नै निरन्तरता दिने कार्य गरेका हुन् ।

राजनीतिमा कायम यसप्रकारको विकारलाई बिराम लगाउने मौका सबै नेताहरूलाई प्राप्त भएको हो, तर कोही पनि तयार देखिएनन्, कसैमा पनि उच्च स्तरको आत्मविश्वास र दूरगामी सोच देखिएन । राप्रपा र रास्वपा नामका समूहहरू त झन् एनिमल प्लानेट र नेशनल जोग्राफी च्यानलहरूमा एक चोक्टा मासुका निम्ति शिकारी सिंहको पछिलाग्ने हुँडार (हायना) जस्तै चरित्रमा देखापरिरहेका छन् ! ठूलो दलको स्याटलाइट जस्ता देखिएका यी समूहहरूबाट भविष्यमा केही हुने आशा गर्नु भनेको नयाँ पुस्ताले आफ्नो र देशको अर्को तीन दशक समय बर्बाद गर्नु मात्र हुने छर्लङ्ग भएको छ । समयमै सक्कली मुहार देखाइदिएकाले यिनिहरूसँग जोगिन चाहनेहरूलाई सिङ्गै अवसर प्राप्त भएको भने छ ।

शेखर कोइराला बीपीको नाममा पारिवारिक गौरव महसूस गर्ने, तर गिरिजाबाट ज्यादा प्रभावित ब्यक्ति हुन् । नेपाल र नेपालीविरूद्ध बाह्रबुँदे सम्झौता गर्ने क्रममा यिनको भूमिका पनि महत्वपूर्ण थियो । त्यसबेला एउटा भेटमा माओवादीसँग सम्झौता गर्नु देश, प्रजातन्त्र र जनताका निम्ति दुर्भाग्यपूर्ण हुनेछ भन्ने मत राख्दा यिनले माओवादीको पक्षमा गरेको वकालत उनले बिर्सिए पनि यो लेखकको स्मरणमा अझै ताजा छन् । ‘जाबो’ प्रधानमन्त्री बन्नकै लागि विगतमा जो-जसले जुन स्तरका गल्ती गरेका थिए त्यही स्तरको गल्ती गर्न शेखर पनि सुरिएका छन् । आफ्नो उमेर अवस्था र देशको परिस्थिति हेर्दा अर्को संसदीय कार्यकालमा मौका उपलब्ध हुन नसक्ने ठानेर हुनसक्छ, शेखर कोइराला दाम्लो चुँडिने गरी नै घाँटी तन्काउँदै छन् । यिनको पछिल्लो क्रियाकलापले उनलाई प्रधानमन्त्री बनाउने या नबनाउने बारे यकिन गर्न नसकिएपनि यसले नेपाली राजनीतिलाई भिन्न ठाउँमा पुऱ्याउने सम्भावनाचाहिँ देखिन्छ । शेखरकै कारण काङ्ग्रेस विभाजित हुनसक्ने अवस्था देखापर्दैछ भने पुनः सम्पूर्ण सत्ता कम्युनिष्टहरूको हातमा पुऱ्याइन पनि सम्भव छ । वर्तमान सत्ता गठबन्धन भत्काउन शेखर निर्णायक सहयोगी बन्न सक्छन्, तर त्यसपछि नयाँ सत्ता गठबन्धन बनाउन शेखर नै निर्णायक बन्ने विश्वास गर्न सकिँदैन । त्यसबेला माओवादी आफै केपी या माधवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर अघि बढ्यो भने निर्णायक उनिहरू नै हुनेछन् । अरू जे भएपनि शेखरको वर्तमान क्रियाकलापले काङ्ग्रेसलाई माओवादी र एमालेको कित्तामा विभाजित गरिदिने चाहिँ निश्चित छ । नेपाली राजनीतिमा अनेक विसङ्गति र बिकार ब्यहोर्दै आएका हामी नेपाली अब भविष्यमा नेपाली काङ्ग्रेस (माओवादी) र नेपाली काङ्ग्रेस (एमाले) भएको देख्ने प्रतीक्षा गरौँ, जय मातृभूमि !