‘ठिटा काङ्ग्रेस’ नेताहरूलाई मात्र अघिसारेर लक्ष्य हाशील हुने सङ्केत नदेखिएपछि विगत चार महिनादेखि शेखर कोइरालालाई शिखण्डीका रूपमा अघिसारेर देउवा र प्रचण्डको सिकार गर्ने आन्तरिक तयारी हुँदै आएको छ ।
नेपाली काङ्ग्रेस आवश्यकताअनुसार जो-कसैबाट प्रयोग र परिचालित हुन हरदम तयार रहने राजनीतिक समूह भएको पुनः पुष्टि हुने सङ्केतहरू देखिएका छन् । संस्थापक नेता कृष्णप्रसाद भट्टराईले पार्टी परित्याग गर्नुभएयता काङ्ग्रेस पटकपटक स्वदेशी र परदेशी शक्तिकेन्द्रहरूको इच्छा र इसारामा चल्दै आएको महसूस गरिन्छ ।
२०६२ सालदेखि स्वदेशमा माओवादीको आवश्यकताअनुरुप परिचालित काङ्ग्रेस पश्चिमी शक्तिको योजना र इच्छाभन्दा बाहिर गएको देखिँदैन । पछिल्लो समयमा सभापति शेरबहादुर देउवा पश्चिमभन्दा बढी दक्षिणतिर निकट बन्दै जानुभएपछि पार्टीमा उहाँका विरूद्ध जबर्जस्ती मोर्चाबन्दी सुरु भएको छ । ‘ठिटा काङ्ग्रेस’ नेताहरूलाई मात्र अघिसारेर लक्ष्य हाशील हुने सङ्केत नदेखिएपछि विगत चार महिनादेखि शेखर कोइरालालाई शिखण्डीका रूपमा अघिसारेर देउवा र प्रचण्डको सिकार गर्ने आन्तरिक तयारी हुँदै आएको छ । काङ्ग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने नाराअन्तर्गत विद्यमान गठबन्धन भत्काउनुपर्छ भन्ने रणनीतिअनुसारको ‘ट्रायल’ कोशी प्रदेशमा भएको छ । उक्त प्रदेशमा अपनाइएकै रणनीति केन्द्रमा पनि अवलम्बन गर्ने विहङ्गम तयारी सम्बद्ध पक्षले गरिरहेको छ ।
माधव नेपाल र उपेन्द्र यादवलाई सरकार छोड्ने ठाउँमा पुऱ्याएर प्रचण्डलाई विश्वासको मत लिन बाध्य तुल्याउने र, विश्वासको मत लिने बेलामा काङ्ग्रेसका करिव तीन दर्जन सांसदले विद्रोह गर्दै विपक्षमा मतदान गरि प्रचण्डलाई पद त्याग्न बाध्य पार्ने उनीहरूको योजना हो । आगामी मङ्सिरमा काङ्ग्रेस महासमिति बैठक भएमा उक्त बैठकबाट नै काङ्ग्रेसको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गराउने योजना बनेको छ । सोही निर्णयलाई आधार बनाउँदै शेखरहरू एमालेसँगको गठबन्धनमा सामेल हुने तयारीमा रहेको बुझिन्छ । कदाचित महासमिति बैठक स्थगित भएछ भनेपनि शेखरको टोलीले काङ्ग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्छ भन्दै वर्तमान गठवन्धन तोडेर एमालेसँग जाने योजना बनाएको छ । वर्तमान गठबन्धन भत्किएको अवस्थामा प्रचण्डले नै केपी ओलीलाई प्रधानमन्त्री बनाएर जाने प्रस्ताव अघिसार्न सक्छन् भन्नेतर्फ कोइरालाको ध्यान गएको देखिन्न । स्वयम् देउवाले नै केपीलाई प्रधानमन्त्री बनाएर अघि बढ्ने प्रस्ताव ल्याउन सक्ने सम्भावनालाई पनि शेखरको टोलीले असम्भव ठानेको बताइन्छ ।
उमेरले बहत्तर वर्ष भएका शेखर कोइराला संसद्को यसै कार्यकालभित्र प्रधानमन्त्री बन्न नसके अर्को पटक त्यस्तो मौका नआउने ठान्नुहुन्छ र, जसरी भएपनि आगामी एक वर्षभित्रै प्रधानमन्त्री बन्ने दृढता उहाँले राख्नुभएको बुझिन्छ । गठबन्धन भत्काउन नसकिए अबको १६ महिनापछि माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने, त्यसको एक वर्षपश्चात् शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र, सोही अवधिमा काङ्ग्रेसको पन्ध्रौँ महाधिवेशन पनि हुने भएकोले शेखर तथा उहाँलाई अघि लगाएर आफ्नो भविष्य खोजी गर्नेहरू ज्यादा आत्तिएका हुन् । देउवा प्रधानमन्त्री बनेमा पार्टी-सत्ता फेरि पनि देउवाकै नियन्त्रणमा जाने सम्भावना भएकोले कोइराला पक्ष त्यसरी आत्तिएको बताइन्छ ।
शेखर कोइरालामा रहेको यस्तै छटपटीलाई पराया शक्ति र केपी ओली लगायतले आफ्नो अभीष्ट पूरा गर्ने साधन बनाएका हुन् । आउँदो मङ्सिरमै वर्तमान गठबन्धन भत्काइदिने योजनाका साथ विपक्षीहरू सक्रिय भएका छन्, गठबन्धन भत्किएपछि शेखर प्रधानमन्त्री बन्नुहुने हो या शिखण्डी भन्ने कुराको पुष्टि भने परिणामले गर्नेछ ।
प्रतिक्रिया