वनकर्मीको नमूना सहकारी : विनाधितो १५ लाखसम्म ऋणले आत्मनिर्भर बन्दै

वनकर्मीको नमूना सहकारी : विनाधितो १५ लाखसम्म ऋणले आत्मनिर्भर बन्दै


  • सुरेन्द्र सुवेदी, काठमाडौं

वन र यो क्षेत्रमा कार्यरत व्यक्तिहरूले स्थापना गरेको सहकारी नमुनाको रुपमा देखिन थालेको छ । ग्रीन डेभलप्मेण्ट वचत तथा ऋण सहकारी विशुद्ध वन र वन क्षेत्र, वनका संस्था, वनमा कार्यरत सरकारी कर्मचारीहरुको संस्था हो । समुदायमा आधारित वन सहजकर्ता सञ्जालले यो सहकारी स्थापना गरेको सञ्जालकी अध्यक्ष विना श्रेष्ठले बताइन् ।

१ सय ५० जना मिलेर स्थापना गरेको यो सहकारीले एक जनाबाट ५ हजार रुपैयाँ लिएर कोषको स्थापना गरेको हो । अहिले १ करोड २० लाख रुपैयाँ बचत भइसकेको सहकारीका अध्यक्ष भोला खतिवडाले घटना र विचारलाई बताए । आफ्ना सदस्यलाई विना धितो ऋण उपलब्ध गराएर आत्मनिर्भर बनाउन सहकारी सहयोगी बनिरहेको छ ।

सहकारीले आफ्ना सदस्यलाई उद्यम विकास, कृषि, ऊर्जा र पर्यटन क्षेत्रमा लगानी गर्न ऋण उपलब्ध गराउँछ । यसरी लिएको ऋण ३ महिनादेखि १ वर्षभित्र फिर्ता गर्नुपर्छ । वर्षेनि सहकारीका सदस्यहरुले १५ प्रतिशत लाभांस पनि पाइरहेका छन् । मासिक ५ सय रुपैयाँ बचत गर्ने संखुवासभाका छेण्डुम भोटेले १५ लाख रुपैयाँ विना धितो ऋण लिएर पर्यटन क्षेत्रमा लगानी गरेका छन् । उनी सहकारीबाट पाएको ऋणले पर्यटन व्यवसाय सञ्चालन गरेर जीविकोपार्जनमा सहजता आएको बताउँछन् ।

अहिले सहकारीमा ऋण माग्न आउनेको भीड नै लाग्ने गरेको अध्यक्ष खतिवडाको भनाइ छ । ऋण पाउन कुरेर बस्नु पर्ने भइरहेकोले पहिलेका ऋणीले ऋण फिर्ता गरेपछि पालैपालो ऋण उपलब्ध गराउने गरेको सहकारी जनाउँछ । १ हजार ६ सय ८० जना सदस्य रहेको सञ्जाल कल्याणकारी सोचले स्थापना भएको र आफ्ना सदस्यलाई थप आत्मनिर्भर बनाउन सहकारी स्थापना गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

ठूलो संख्यामा वनकर्मी सहमागी भएको सञ्जाल र सहकारीमा कुनै पनि सदस्य बेरोजगार छैनन् । सबै सदस्य वनसम्बन्धी विज्ञ रहेकोले कुनै न कुनै रुपमा रोजगार रहेका छन् । सञ्जाल र सहकारीका सदस्यहरु वन विस्तार, संरक्षण, वनसँग सरोकार राख्ने सबै विषयमा विज्ञ छन् । जसले उनीहरु कामको खोजीमा कतै भौँतारिनु पर्दैन ।