महेश श्रेष्ठ चुनाव हारे या हराइए ?

महेश श्रेष्ठ चुनाव हारे या हराइए ?


अध्यक्ष कुलले समेत ‘महेशले भन्दा आरकेले नै अबको नेतृत्व लिनुपर्छ’ भन्ने भित्री समझदारी गरिसकेको चर्चा सुनिन थालिसकेको थियो । अझ गम्भीर विषय भनेको महेश दाइले बुक गरेको होटलमा बसेर, खाएर अर्का अध्यक्षका उम्मेदवार शर्मालाई मत माग्दै काठमाडौंमा हिँडेको समेत यही आँखाले देख्नुपऱ्यो ।
✍ सागर सुवेदी

ब्यापारिक सफलता आफ्नो ठाउँमा होला, मैले महेश श्रेष्ठ (महेश दाइ)लाई एक शालीन, थोरै र सुस्त बोल्ने, सबैसँग मिलेर अगाडि बढ्नुपर्छ भन्ने सोच राख्ने व्यक्तिको रूपमा चिनेको हो । मलाई लाग्छ- कयौँ गैरआवासीयहरूले महेश दाइलाई मैलेजस्तै बुझेका छन् । यिनै शालीन महेश दाइले जित्नुपर्ने निर्वाचन हारे या हराइए भन्ने तवरले सम्भवतः धेरै गैरआवासीय व्यक्तित्वहरूले सोचेका नहोलान् !

सत्य भन्दा महेश दाइलाई षड्यन्त्र गरेर हराइयो । लामो समयको प्लानमार्फत महेश दाइलाई हराइयो भन्नेतर्फ सायद कसैले सोचको नहुन सक्छन्, तर मलाई चुनावको तीन हप्तापहिले नै प्रस्ट थाहा थियो कि महेश दाइलाई हराइँदै छ भन्ने । मैले स्वयम् महेश दाइलाई कल गरेर ‘दाइ तपाईं यो चुनाव हार्दै हुनुहुन्छ’ भनी कयौँ पटक जानाकारी दिएको समेत थिएँ । यसो भन्नुको पछाडि मैले पाएको सूचना र ती सूचनालाई अध्यन गरेको आधार थियो । महेश दाइलाई हराउनकै लागि चुनावमा उठाइएको हो भन्ने प्रस्ट देखिएको थियो । सायद आज महेश दाइको कानमा मैले बारम्बार भनेका शब्दले झक्झकाइरहेको होला नै । महेश दाइलाई हराइनुको कयौँ कारण छन्, सबै लेख्दा यो लेख नबनेर किताब बन्ने हुँदा मैले यहाँ आम विषयलाई मात्र समावेश गरेको छु ।

महेश दाइ हार्नुको कयौँ कारणमध्ये एक कारण सशक्त सचिवालय नहुनु हो । सचिवालयले विश्वभरका सूचना संकलन गरेर एक निचोडमा पुगी सोहीअनुरूपको रणनीति तयार गर्नुपर्नेमा त्यस्तो गर्ने सशक्त टीम निर्माणमा महेश दाइको ध्यान पुगेन । हुन सक्थ्यो उहाँलाई नेपाली कांग्रेसको तर्फबाट अध्यक्षको उम्मेदवार बनाइएपश्चात सम्पूर्ण बाँकी निर्णय उहाँ बाहेक हुने सर्त । झट्ट हेर्दा अध्यक्षको उम्मेदवार महेश दाइ भएता पनि निर्णय गर्ने सम्पूर्ण शक्ति बेलायतनिवासी कुल आचार्य र नेदरल्याण्डनिवासी नारायण आचार्यले लिएर बसेका थिए । त्योभन्दा बाहिर रातमा कालो चस्मा लगाएर सोल्टी घुमिरहने, महेश दाइको अगाडि पछाडि बसेर नारा लगाउने जस्ता ३, ४ जना व्यक्तिहरू थिए जसमा उनीहरूले घेरेर भ्रमपूर्ण सूचना पुराउने काम गरेका थिए, महेश दाइको नजिक पुग्न रोकिरहेका हुन्थे । यहाँ अचम्म यो थियो कि तिनीहरू जो आफै मतदातासँग सम्पर्कमा थिएनन् ।

युरोप क्षेत्रीय बैठकपश्चात महेश दाइ संघको नेतृत्वको लागि अगाडि आउने अभिलाषा ब्यक्त गर्दैगर्दा दाइ स्वयम्ले एक चुस्त सचिवालय बनाएर अगाडि आउनु पर्थ्यो, तर यसमा दाइलाई गुमराहमा पारी गलत ब्रिफिङ गरेको कारण सचिवालय निर्माणमा दाइ चुक्नुभयो । यता डा. बद्री केसीलाई सम्पूर्ण एमाले पार्टी एक ढिक्का बनेर ६ महिनादेखि चुनावी प्लान र एनसीसी निर्वाचन र त्यसपछी केन्द्रिय प्रतिनिधि दर्तामा पार्टी परिचालन गरी त्यसै प्लानमा चलिरहेको थियो । डा. केसीलाई एमाले पार्टीले एक ढिक्का बनेर साथ दिँदा महेश दाइलाई नेपाली कांग्रेस नामधारी कथित डेमोक्रेटले नराम्रो धोका (सबैले होइन) दियो । महेश दाइलाई गुमराहमा पारिएको उदाहरण नेकपा माओवादीबाट उम्मेदवार बन्नुभएका राजेन्द्रकुमार शर्माले प्राप्त गरेको मत हो । शर्माले प्राप्त गरेको ८० प्रतिशत मत यिनै आफूलाई डेमोक्रेट भनेर डायस्पोरामा स्यालहुइँया मच्चाउनेहरूको थियो ।

मैले चुनावको अघिल्लो दिन महेश दाइलाई फेसबुक म्यासेन्जरमा कल गरेँ, ‘दाइ तपाईंले आफ्नो टिमको सवालमा कठोर निर्णय गर्नुपर्ने समय आएको छ ।’ म (युरोप संयोजकको उम्मेदवार) कुनै हालतमा पछाडि हट्ने अवस्था छैन, तपाईंले चाहने हो भने यसलाई मिलाउन सक्नुहुन्छ, भलै धेरै ढिलो भैसकेको छ । मैले यसरी महेश दाइलाई किटानका साथ भन्नुको पछाडि अघिल्लो दिन राजदरबारको उत्तरी ढोकास्थित अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्मासँगको भेटपश्चात उहाँले ब्यक्त गरेको शब्दबाट मैले आँककन गरिसकेको थिएँ । शर्माको प्रस्तुति र उहाँले ब्यक्त गरेको शब्दले चिच्याएर भनिरहेको थियो कि उहाँलाई कांग्रेस भन्ने कथित डेमोक्रेटको मत आधाभन्दा बढी आउँदै छ । शर्माको लगनगाँठो महेशबाहेक ‘महेश टिम’सँग गज्जबले कसिएको थाहा पाउँदा म ‘अवाक’ बनेको थिएँ । तर यो विषयमा सायद महेश दाइ अनभिज्ञ हुनहुुन्थेन होला, सम्भवतः परिस्थितिको दास बनेको कारण महेश दाइ मुख खोल्ने अवस्थामा समेत हुनुहुन्थेन !

अध्यक्षका उम्मेदवार शर्माले चुनावमा विकृत काम गरे भन्न सक्ने अवस्थामा म छैन, प्रेम र युद्दमा सबै जायज भनिए जस्तै त्यस्तै नीतिहरूको पनि उच्च नीति राजनीतिमा पनि सबै जायज भनिएको छ । यसमा साम, दाम, दण्ड भेद सबै प्रयोग जायज भनिन्छ । शर्माले सबै नीतिलाई प्रयोग गरेर महेशभन्दा बढी मत ल्याएर देखाइदिए । तर साम दाम दण्ड भेद नीति प्रयोगमा महेश दाइ कमजोर बन्नुभएको देखियो । उहाँको कुनै रणनीति देखिँदैनथ्यो ।

त्यति मात्र होइन यथार्थ सूचनासमेत महेश दाइले प्राप्त गरेको जस्तो मलाई लागेको थिएन । यस्तै, एक उदहारण म यहाँ प्रस्तुत गर्न चाहन्छु, मलाई संघको निर्वाचनको २ महिनाअगाडि मध्यपूर्वबाट एक कल आयो, उक्त कलमा मलाई जानाकारी दिइएको थियो कि, तपाईंलाई (मलाई) आवश्यक कुनै पनि कुरा फलानो मान्छेमार्फत प्राप्त हुनेछ । फलानाको फÞाइनान्स उहाँले सम्हाल्नुभएको छ, आवश्यक विषय उहासँग कुरा गर्नुहोस् । अर्को हप्ता मलाई कल गर्ने व्यक्ति युरोपमा आएर महेश दाइका दाहिनेहरूसँग भेट गरेर मध्यपूर्व फर्किएको देखियो, मैले आफ्नो सुत्र प्रयोग गरेर उक्त भेटबारे सोधखोज गरेर भएको डिलबारे पत्ता लगाएपश्चात महेश दाइलाई कल गरेर सिधा भनेँ– ‘दाइ.. यी–यी मान्छेसँग फलानाको भेट भएपश्चात यस्ता कुरा भएका रहेछन्, चनाखो रहनु !’ मैले त्यति भनिसकेपश्चात महेश दाइको प्रतिक्रिया थियो– ‘चुनावको मुखमा अनेक हुइँयाहरू आउँछन, यस्ता हुइँयाले हामीलाई कम्जोर गराउँछन्, यस्ता सूचनाहरूलाई देखे पनि नदेखे झैँ गर्नुपर्छ ।’ मेरो कुराको छोटो प्रतिकृया पश्चात महेश दाइले फोन काट्नुभयो ।

मैले अध्यक्षका उम्मेदवारको चुनावी माहोललाई नजिकबाट बुझिरहेको थिएँ, मैले बुझ्नुको कारण मतदातासँगको प्रत्यक्ष सम्पर्क थियो । त्यसैमा डा. केसीको लामो समयको संघमा निरन्तरता, उस्तै रणनीति, त्यसमा पनि नेकपा एमाले पार्टी एक ढिक्का बनेर डा. केसीलाई सहयोग गरेको अवस्था, उनको चुनाव प्रचार गर्ने विधि देख्दा बद्री केसी कमजोर उम्मेदवार हैनन् भन्ने थियो । अर्कोतर्फ मैले सम्पर्क गरेर कुरा गरिरहने कथित डेमोक्रेटहरूको तर्क ‘अब आरकेलाई किन मत नदिने !’ भन्ने देखिन्थ्यो । यसरी भन्नुको मतलब महेश टिमबाट उठेर ‘म नै महेशको खम्बा हुँ’ भन्नेहरूले महेशलाई नभएर आरके शर्मालाई मत दिनु भन्ने गोप्य लविङ गरेको सूचना मैले प्राप्त गरिरहेको थिए । त्यसैमा अध्यक्ष कुलले समेत महेशले भन्दा आरकेले नै अबको नेतृत्व लिनुपर्छ भन्ने भित्री समझदारी गरिसकेको चर्चा सुनिन थालिसकेको थियो । अझ गम्भीर विषय भनेको महेश दाइले बुक गरेको होटलमा बसेर, खाएर अर्का अध्यक्षका उम्मेदवार शर्मालाई मत माग्दै काठमाडौंमा हिँडेको समेत यही आँखाले देख्नुपऱ्यो । यी सबै थाहा पाउँदा अङ्कगणितमा सबैभन्दा अगाडि रहेका महेशलाई हराइँदै छ, धोका हुँदैछ भनेर मैले हप्तौँअघि महसुस गरिरहेको विषय काठमाडौंमा प्रमाणित हुँदै थियो । मलाई लाग्छ यो विषयमा महेश दाइलाई जानाकारी भएर पनि उहाँ बोल्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो ।

चुनावको अघिल्लो दिनसम्म ४ जना अध्यक्षको उम्मेदवार हुँदा तत्कालिन अध्यक्षसमेत रहनुभएको रविना दिदीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै महेश दाइलाई समर्थन गरेपश्चात महेश दाइलाई अब चुनाव सजिलै जित्न सकिन्छ भन्ने आभास भएको थियो । हो, रविना दिदीको उम्मेदवारी फिर्ताले नेपाली डायस्पोरामा एक सन्देशसमेत पठाएको थियो, तर यो तरङ्गलाई अझ बढी तरंगित बनाएर प्रचार गरी आफ्नो मत सुरक्षित राख्ने प्रयास गरिएन, किनकि महेश दाइको टिममा भएका ‘उहाँका खम्बाहरू’ शर्माको टिमका ‘खम्बा’ समेत थिए । उक्त कारण सो तरङ्ग केवल तरङ्गमै सीमित रह्यो, आफ्ना गोजीका मत सुरक्षित गर्दै आम मतलाई महेश दाइको पक्षमा बदल्नेतर्फ कुनै सुरसार गरेको पाइएन ।

युरोपको करीव १६५० सय मतलाई पार्टीका कार्यकर्ताको भाग लगाउँदा, नेकपा माओवादीका कार्यकर्ताको करिव २०० मत, नेकपा एमालेको ४५० मत, नेपाली कांग्रेसको करिब ८५० मत र यिनै पार्टीमा रहे पनि हाम्रो भन्दा राम्रो भन्ने स्वतन्त्र (अर्गानिक) मतदाताको मत करिव १५० हुँदा, युरोपले महेश दाइलाई सहयोग गर्दा मात्र उहाँको विजय निश्चित देखिन्थ्यो । तर, किन महेश दाइको मत युरोपमा सोचेअनुरूप आउन सकेन ? यसको ठेक्का लिएकाहरूले महेश दाइलाई पक्कै पनि जवाफ देलान् ।

भेरो निर्वाचन एक फेलियर निर्वाचन हो । चेक गणतन्त्रमा निर्वाचन गरिँदा यसमाथि गम्भीर प्रश्नहरू उठ्दा मैले यसमा प्रश्न उठाउँदै उक्त निर्वाचन खारेज हुनुपर्छ भन्दा कतैबाट यस विषयमा सुन्ने प्रयास गरेको देखिएको थिएन । भेरो मतदान सफ्टवेयर प्रणालीमा केहि मत तलमाथि भएको देखिन्छ तर डा. केसीले नियत राखेर निर्देशन नै दिइ मत तलमाथि गरेको या प्रणाली ह्याक गरेर निर्वाचन नतिजा निकालिएको विषय सत्य बनेर बाहिर आउने देखिँदैन । यहाँ आफ्नै प्राविधिक कमजोरी, आफ्नैले धोका दिएको कारण महेश दाइ हारेको नभएर हराइएको हो । हराइएको अर्को प्रमाण भनेको डा. पौडेलको सुन्य मत देखाएर तत्काल अर्को समिति गठन हुनु, उक्त समितिमा बाहिर परस्पर विरोधि भनिएकाहरू सेकेण्डमा मिल्नु, मिल्नेबित्तिकै अर्को समिति खडा गरिनु र उक्त समितिमा महेश टिमका खम्बाहरू (अंकगणितीय भाषामा चुनाव हरेकाहरू) उही पदमा स्वघोषणा गरेर पद लिन हानथाप गर्नु महेश दाइलाई हराउन खेलिएको नियोजित खेलको अर्को दरिलो प्रमाण हो ।

अन्त्यमा, परिवर्तनको मुद्दा लिएर, गर्न सकिने कामलाई आफ्नो घोषणा पत्रमा राखेर चुनावी अभियानमा नेपालका प्रमुख राजनीतिक दलका उम्मेदवारकाविरुद्ध निर्वाचनको भेलमा होमिएको मलाई (युरोप संयोजकको उम्मेदवार) डा. केसीले उचालेर उठाएको उम्मेदवार भनेर भ्रमपूर्ण प्रचार गर्नेहरू, मेरो उम्मेदवारी दर्तामा मेरा समर्थकलाई अपहरण गर्नेहरू, मलाई सहयोग गर्नेहरूलाई धम्की दिनेहरूले यो सम्पूर्ण समय महेश दाइका मतदातासँग पुगी महेश दाइको आगामी कार्यकालमा हुनसक्ने परिवर्तनका विषयमा बुझाउन प्रयत्न गरेको भए आज महेश दाइ निर्वाचित अध्यक्ष बन्नुहुने थियो ।

आगे तपाईंहरूकै मर्जी ।
जय गोरखनाथ !