नेपालको दुर्गतिसँगै जन्मिएका केही ज्वलन्त सवाल

नेपालको दुर्गतिसँगै जन्मिएका केही ज्वलन्त सवाल


हामी अहिले पनि राजावादी र गणतन्त्रवादी भएर विभाजित भएका छौँ । वास्तवमा भन्ने हो भने यी दुवै शक्तिलाई देश र जनता चाहिएको होइन केवल सत्ता र शक्ति मात्रै चाहिएको हो । अतः स्मरण रहोस् कुनै पनि व्यवस्था साधन हो साध्य होइन, समाधान त नेतृत्वले गर्ने हो । अब त्यसको खोजीमा लागे मात्रै देश सकारात्मक दिशामा अघि बढ्ला, अन्यथा दुर्गतिको रफ्तार अझै तेज हुनेछ ।
✍ उमेश सुवेदी

आजसम्म पनि नेपाल किन बनेन ?- यतिबेला सबैको मनमा मडारिएको ज्वलन्त प्रश्न हो यो । यहाँ जहिले पनि सत्तामा बस्नेमाथि प्रतिपक्ष यानेकि सत्ताबाहिर रहेकोले असहिष्णु व्यवहार देखाइरह्यो । सत्तामा बस्नेको विरोध गर्नु, आफू सत्तामा जाने प्रयास गर्नु सामान्य हो । सत्ता-घटकको आलोचना गर्नु सुन्दर पक्ष र, उन्नत लोकतान्त्रिक अभ्यास पनि हो । उक्त आलोचनाबाट सच्चिनु सत्तारुढ दलको कर्तव्य या दायित्व र बाध्यता सबै हो । तर, नेपालमा यो ढंगको काम भएको कहिल्यै देख्न पाइएन ।

कुरो गरौँ राणा शासनदेखिको । जंगबहादुर नेपाली जनताले रुचाएर सत्तामा आएका थिएनन्, उनी विदेशी (तत्कालीन इस्ट इन्डिया कम्पनी)को आशीर्वाद या भन्नैपर्दा ‘निगाहमा’ सत्तामा आएका थिए । राणा शासन विदेशी निगाहमा शुरु भयो । उक्त शासन जनता रिझाएर चल्नुपर्नेमा विदेशी रिझाएर टिक्ने र चल्ने भएपछि काम कसको होला ? आफैं विचार गरौँ । तथापि, राणाहरूले अहिलेका नेताजस्तो विदेशीलाई देश सर्लक्कै बुझाएका भने थिएनन् ।

विश्वमा उपनिवेश चलाइरहेको शक्ति आफै कमजोर बनेपछि राणाहरू कमजोर नबन्ने कुरै भएन । उनीहरू सत्ताबाहिर त पुगे तर अर्को विदेशी शक्तिको रोजाइमा कांग्रेस र उसका नेताहरू परे, भलै जनतालाई राणा शासनविरुद्ध कांग्रेसको आन्दोलन देखाइयो र मोहरा जनतालाई बनाइयो, वास्तविकता त्यस्तो थिएन । फेरि हामीकहाँ एउटाको अस्तित्व अर्कोले नस्विकार्ने अत्यन्तै गलत संस्कृतिको विकास भइसकेको थियो । सत्तारुढ दल होस् या प्रतिपक्षी, सत्तामा टिक्न र सत्तामा उक्लिन विदेशीको बुइ चढेर मात्रै सम्भव छ भन्ने अत्यन्तै घटिया सोंचले आज देशको यो हालत भएको हो ।

सत्तामा पुग्न या बसिरहन हाम्रा नेता या दलहरूले घरमा आगो झोसेर खरानीको व्यापार गर्न समेत पछि परेनन् । ०७ साल होस्, १७ साल होस्, ४६ साल होस्, ५२ साल होस् या ६२/६३ साल नै किन नहोस्- यी सबै घर जलाएर खरानी बेच्ने कडी नै हुन् । होइन भने ०४६ को परिवर्तनपछि देश एउटा लयमा जान थालेको अनुभूति भएको थियो । दलहरूभित्र आन्तरिक कलह किन विकास गरियो ? ५०/५१ तिर नेपालको आर्थिक वृद्धि अहिलेसम्मकै उच्च थियो । तर त्यतिबेला पूर्ण बहुमत पाएको सरकार किन चल्न सकेन ? के कांग्रेसको आन्तरिक कलह सामान्य सत्ताका लागि मात्रै थियो ? कि नेपाल समाप्त पार्ने डिजाइन अन्तर्गत नै थियो ? ०४६ को परिवर्तन भएको ६ वर्ष पुग्दा नपुग्दै हतियार बोकेर हिंसात्मक युद्ध किन गराइयो ? हामीले घरभित्रको झगडामा विदेशीलाई किन महत्त्वपूर्ण स्थान दियौँ ? आफ्नो घरको झगडामा सत्तामा पुग्न आफ्नै घरभित्रको अर्को शक्तिको विरुद्धमा विदेशीसँग मिलेर किन देश कमजोर पाऱ्यौँ? सत्तामा जसरी पनि पुग्ने र टिकीरहने घटिया सोंच बोकेर विदेशीसामु लम्पसार पर्दा आज देश यो हालतमा पुगेको हो ।

सत्तामा पुग्न सरकारले गरेको राम्रो काम किन राम्रो भन्न सकेनौ ? अर्को पटक आफै सत्तामा पुग्दा पहिलेको सरकारले गरेको राम्रो कामलाई किन निरन्तरता दिन सकेनौ ? सत्तामा हुँदा प्रतिपक्षको किन सँधै मुख थुनिरह्यौ ? जनता होइन विदेशी रिझाउन लाग्यौ र आजसम्म पनि देश बनेन । आज पनि ६२/६३ पछि सत्ताबाहिर हुनेले सत्तामा हुनेले गरेको राम्रो कामै देखेनौ, सत्तामा हुनेले जनता र प्रतिपक्षको मतलब गरेनौ, तर विदेशीलाई केन्द्रमा राखिरह्यौ र यो अवस्था आयो ।

हामी अहिले पनि राजावादी र गणतन्त्रवादी भएर विभाजित भएका छौँ । वास्तवमा भन्ने हो भने यी दुवैै शक्तिलाई देश र जनता चाहिएको होइन केवल सत्ता र शक्ति मात्रै चाहिएको हो । अतः स्मरण रहोस् कुनै पनि व्यवस्था साधन हो साध्य होइन, समाधान त नेतृत्वले गर्ने हो । अब त्यसको खोजीमा लागे मात्रै देश सकारात्मक दिशामा अघि बढ्ला, अन्यथा दुर्गतिको रफ्तार अझै तेज हुनेछ । जय पशुपतिनाथ !