नेका महाधिवेशन प्रतिनिधिद्वारा पुनर्निर्वाचनको माग

नेका महाधिवेशन प्रतिनिधिद्वारा पुनर्निर्वाचनको माग


  • विशेष प्रतिनिधि, कपिलवस्तु

नेपाली कांग्रेस कपिलवस्तु-३ मा महासमिति सदस्य छनोटमा धाँधली भएपछि पुनः निर्वाचनको मागसहित पार्टी केन्द्रीय कार्यालय सानेपामा उजुरी परेको छ । पार्टी विधानविपरीत महासमिति सदस्य चयन गरिएको भन्दै आधा दर्जन महाधिवेशन प्रतिनिधिले पुनर्निर्वाचनको माग गरेका छन् ।

कांग्रेसको १४ैँ महाधिवेशनका प्रतिनिधिसँग सल्लाह नै नगरी, बैठक नै नबोलाई केन्द्रीय सदस्य रूपा विकको उपस्थितिमा क्षेत्रीय सभापति ब्रह्मानन्द उपाध्याय, महाधिवेशन प्रतिनिधि वीरेन्द्र कनौडियालगायतले एकपक्षीय रूपमा महासमिति प्रतिनिधि छनोट गरेको जानकारी पाइएको भन्दै उनीहरूले पुनः महासमिति सदस्यका लागि निर्वाचन हुनुपर्ने माग गरेका छन् ।

दलित कोटाबाट महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्य बनेकी विकले अहिले खुल्ला महिला क्लस्टरमा आफूलाई विधानविपरीत सिफारिस गरेको निवेदनमा उल्लेख छ । पार्टी कार्यालयमा उजुरी हाल्नेमा महाधिवेशन प्रतिनिधि अभिषेकप्रताप शाह, कमलबहादुर क्षेत्री, सुशीला बेल्वासे, नैनकला रेग्मी, प्यारमोहम्मद मिया, राधिका मालीलगायत छन् । उनीहरूले क्षेत्रीय सभापति उपाध्यायले टिकट वितरणमा आकांक्षीहरूसँग पैसा लिएको भन्दै आवश्यक परे प्रमाण पेस गर्ने पनि स्पष्ट पारेका छन् ।