माझीकर्मविहीन माझीटारका माझी

माझीकर्मविहीन माझीटारका माझी


✍ सुरेन्द्र सुवेदी, पाँचथर

तत्कालीन फिदिम गाउँ पञ्चायत वडा नम्बर ९ को माझीटारका नरे माझीको दैनिकी भनेकै बल्छी र ढडिया थाप्दै माछा मार्ने काम थियो । यो कर्म उनी र उनको अर्काे पुस्तासम्मले गर्न भ्याए । मेची र कोशी अञ्चलको सीमा तमोर नदी कीनारमा बसोबास गर्ने करिव बीस परिवार माझीको दैनिकी नै माछा मार्ने र तमोर नदीमा काठ खोपेर बनाएको नाउबाट तेह्रथुमतर्फका मानिसलाई पाँचथरतर्फ र पाँचथरतर्फका मानिसलाई तेह्रथुमतर्फ तार्नु थियो ।

‘सखुवाको ठूलो रुखलाई डुँडको आकार दिएर उनीहरू नाउ बनाउँथे । एक जना मानिस खोलो तारेवापत २५ पैसा लिन्थे’, हालको फिदिम नगरपालिका वडा नम्बर ४ अर्थात पहिलोको फिदिम गाउँपञ्चायत वडा नम्बर ९ का ७५ वर्र्षीय नारायणप्रसाद सुवेदी स्मरण गर्छन् । सुवेदीका अनुसार नरे माझीहरू बल्छी र ढडिया थापेर माछा मार्दै ती माछा बेच्न फिदिम, जोरसाल, थाक्ले, छेरुवा, गडीडाँडासम्म आउँथे ।

ती माझी परिवारले तमोरमा मानिस तार्न भने पालो बाँध्थे । एक दिन दुई जनाले र अर्काे दिन अरु नै दुई जनाले मानिसहरू तार्ने र त्यसवापतको पैसाले घर खर्च चलाउँथे । तेह्रथुमको आठराई क्षेत्र (बाह्र गाउँ पञ्चायत) र पाँचथरको फिदिम जोड्ने तमोर नदीमा माझीटारदेखि करिव २ घण्टामाथि सिटौला झोलुङे पुल थियो । त्यहाँसम्म हिडेर गए पनि आठराई क्षेत्रको चुहानडाँडातर्फ पुनः घुम्नुपर्ने भएकोले अधिकांश माझीको भरमा तमोर नदीको डुंगा नै तर्थे ।

हेवा र तमोरको संगम स्थल माझीटारका ती माझीहरू माछा मारेपछि मारेका माछा दिएर अन्न साट्थे । करिव डेढ किलो अर्थात एक बिसौली माछावापत २ पाथीसम्म (१६ माना) मकै वा धान लिन्थे । यसरी नाउ वा डुंगा चलाएर कमाएको पैसा र माछा साटेर ल्याएको अन्नले उनीहरूको गुजारा हुने थरेको नरे माझीका सन्तान शंकर माझीले इतिहास सम्झिए ।

माझीटारको यस्तो विगत अहिले पूरै परिवर्तन भएको छ । झापाको चारआलीदेखि सुरु भएको मेची राजमार्ग इलाम, फिदिमहुँदै ताप्लेजुङ पुग्यो । फिदिम खण्डको जोरसालबाट शान्तिपुर, थाक्ले, सरखण्डैहुँदै माझीटार सडक खनियो । २०५६ ताका सडकको डोबले माझीटार छोयो । अनि तमोर नदीमा पक्की पुल पनि बन्यो । अनि झापादेखि सोझै आठराई गाडी चल्न थाले । अब न माझीको नाउ वा डुंगा रह्यो न खोलामा माछा मार्ने सन्तती नै भए ।

पछिल्लो पुस्ता पढाइ र साक्षर बन्दै गएपछि माछा मार्ने काम प्रायः बन्दजस्तै छ । ‘यदाकता कसैले जाल थापेर माछा मार्छन् तर त्यो काम सधैं हुन्न ।’ माझीटारमै होटल व्यवसाय गर्दै आएका रमेश तामाङले भने । उनका अनुसार माझी युवाहरू तमोर करिडोर, स्थानीय योजनाहरूमा श्रम गर्नतर्फ लागेका छन् । ‘अब माछा मार्ने र त्यसैबाट गुजारा गर्ने भन्ने त इतिहास भयो’- खड्गबहादुर माझीले भने ।

माझीटारको बस्तीदेखि करिव ३ सय मिटर दक्षिणबाट पक्की पुलहुँदै गाडीहरू आठराई क्षेत्र गुड्न थाले । अब पहिला पाँचथर र तेह्रथुम पैदल हिँड्ने बटुवाहरू गाडीकै बाटो यात्रा गर्न थालिसकेका छन् । जसकै कारण विगतमा भिडभाड हुने माझीटार अहिले सुनासान छ । यसको ऐतिहासिकताको संरक्षण गर्न कसैले चासो दिएको पाइन्न ।

फिदिम-४ का वडाअध्यक्ष उपेन्द्र लावती माझीटारको पहिचान र माझीहरूको संरक्षणमा वडाले योजनाहरू ल्याएमा सहयोग गर्ने बताउँछन् । माझीटारमै भेटिएका वडाअध्यक्ष लावतीले भने, ‘अब रिसोर्टहरू खोल्ने पर्यटक भित्र्याने योजना बनाउन सकेमात्र माझीटारको संरक्षण गर्न सम्भव छ ।’ इतिहास संरक्षण गर्न कस्तो योजना बनाउने र के गर्ने भन्नेमा माझीहरू जानकार छैनन् । केही नगन्य संख्यामा एसएलसी उतीर्ण गरेका माझी युवाहरू गुजाराका लागि सडक मजदूरदेखि वैदेशिक रोजगारीमा गएका छन् । जसका कारण चर्चा र पहिचान बोकेको माझी बस्ती अहिले गुमनामप्रायः छ ।

सुनसान माझीटारमा केही घरमा होटल र किराना पसल देख्न पाइन्छ, तर ब्यापार भने शुन्यप्रायः छ ।