‘कांग्रेस दर्बिलो हुन ०८२ मङ्सिरलाई महाधिवेशनको क्यालेन्डर बनाउनु पर्ने’

‘कांग्रेस दर्बिलो हुन ०८२ मङ्सिरलाई महाधिवेशनको क्यालेन्डर बनाउनु पर्ने’


  • आर. गौतम, झापा

झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका वक्ताहरुले नेपाली कांग्रेसको पार्टी सुदृढिकरणका लागि अब हुने महासमितिको बैठक महत्वपूर्ण हुने बताएका छन् ।

झापाको बिर्तामोडमा आयोजित कार्यकर्ता भेटघाटका क्रममा पार्टी केन्द्रीय सदस्यहरुले कार्यकर्ताको जिज्ञासा र चिन्ताप्रति आश्वस्त पार्दै पार्टीको तत्कालै हुन लागेको महासमिति बैठकको निर्णय महत्वपूर्ण हुने बताएका हुन् ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले वडातहदेखि संघीय सरकारमा समेत पार्टी सत्तामा रहेपनि कार्यकर्तामा निराशा देखिएको बताइन् । पार्टीले उठाएका उम्मेद्वारलाई भोट हालेर बसेका कार्यकर्ताहरुले पार्टी कसरी चल्छ भन्ने चिन्ताले निराशा देखिएको उनको भनाइ थियो । सांसदसमेत रहेकी उनले भनिन्- ‘पार्टीलाई भोट हालेका छन्, उनीहरुलाई केही चाहिएको छैन, तर पार्टी कसरी चल्छ भन्ने चिन्ता छ ।’

राजनीति वंश विरासतमै चल्नुपर्छ भन्ने मानसिकता नै समस्या भएको बताउँदै केन्द्रीय सदस्य गौतमले अबको महासमिति बैठक रचनात्मक र पार्टीभित्र देखिएको समस्याको निकास दिन सक्ने खालको हुनुपर्नेमा जोड दिइन् । उनले भनिन्- ‘निराशाहरु धेरै छन्, असन्तुष्टिहरु छन् । निराशाको समाधान महासमिति बैठकले पार्टीलाई सही ट्र्याकमा ल्याउँछ कि.. आशा गरौं ।’

अर्का केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीका केन्द्रीय विभागहरु फाली खुस्किएको हलो झैं भएको बताए । विभागहरुलाई स्मार्ट खालको बनाएर छिटो छिटो पूर्णता दिनुपर्ने भएपनि त्यसका लागि सभापतिले नै अड्काएर राखेको धारणा राखे । केन्द्रीय सदस्य शिवाकोटीले भने- ‘भातृसंगठनभित्र स्मार्ट समिति बनाइदिएको भए काम गर्न त सक्थ्यो, मिटिङ बस्न पार्टी हल खोज्नुपर्छ, समितिले पूर्णता पाएको छैन ।’

२०८२ को मङ्सिरमा पार्टीको महाधिवेशन हुन नसके पुरानो पार्टीका नाममा आउने पुस्ताले सबैभन्दा बढी पीडा खेप्नुपर्ने अवस्था आउने बताउँदै उनले भने- ‘त्यसैले अब बस्ने महासमिति सदस्यले २०८२ मा महाधिवेशनको क्यालेण्डर तय गर्न सक्नुपर्छ, तब मात्रै त्यो पछि हुने निर्वाचनमा पार्टीले केही गर्नसक्छ ।’

अन्तरक्रियामा सांसद कुसुम थापामगर, संविधानसभा सदस्य प्रकाश स्नेही र मनोजमणी आचार्य लगायतले बोलेको थिए ।

सो क्रममा सहभागी कार्यकर्ताले आशा बोकेका नेताहरुले पनि आशातित कुराको छनक दिन नसक्दा निराशा जागृत भएको भन्दै पार्टीलाई सही ट्र्याकमा ल्याउनका लागि पार्टीभित्रका युवा केन्द्रीय सदस्यहरुलाई झक्झक्याउँदै निराशा बढेर गए समस्या हुने धारणा राखेका थिए । साथै पार्टीका मेरुदण्डको रुपमा रहेका भातृ संघसंगठनहरुलाई चलायमान बनाउन केन्द्रीय सदस्यको भूमिकाबारे पनि उनीहरुले प्रश्न उठाए ।

नेपाली कांग्रेस बिर्तामोड नगरसभापति भोजराज सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रमको सहजीकरण प्रदेश सभापति लक्ष्मी आचार्यले गरेका थिए ।

ज्ञातव्य छ, कांग्रेसले मङ्सिर १३ देखि १५ गतेसम्म महासमिति बैठक गर्ने मिति तय गरेको छ । कांग्रेसका केही जिल्लामा महासमिति निर्वाचन हुनै बाँकी रहेको बताइएको छ । स्रोतका अनुसार कात्तिक २४ गतेभित्रमा जिल्लाबाट महासमिति सदस्यको नामावली नगएमा मंसीर १३ गतेदेखि हुने महासमिति बैठकमा सहभागिता जनाउन बञ्चित हुन सक्ने सम्भावना रहेको बताइएको छ ।