- सुरेन्द्र सुवेदी, पाँचथर
जिल्लाको फिदिम नगरपालिकाका दुई वटा वडाबाट यो सिजनमा ३ करोड रुपैयँबढीको मुला निर्यात भएको छ । इलामको पशुपतिनगर र रक्सौल नाकाहुँदै यहाँ उत्पादन भएको मुला भारत पुगेको हो ।
फिदिम ३ र ८ नम्बर वडाका करिव पाँच सय जना किसानले मुला खेती गरेर यो सिजनमा ३ करोड रुपैयाँ भित्र्याएको सिलौटी साना किसान कृषि सहकारीले जनाएको छ । यो समूहमा ९० प्रतिशत महिलाले मुला खेती गरेका छन् ।
स्थानीय कान्छीदोगान, सुम्निमाचोक, पौवाभञ्ज्याङसमेतका गाउँमा अहिले मुला खन्ने र बेच्ने चटारो नै छ । सहकारी समूहका अध्यक्ष गंगा राईका अनुसार किसानलाई तालिम दिएर मुलाको बीउमा ५० प्रतिशत अनुदान दिएपछि कृषकहरू मुलाखेतीमा आकर्षित भएका हुन् । प्रतिकिलो १५ रुपैयाँ दरमा बारीमै मुला लिन व्यापारीहरू आउने गरेका छन् ।
यो क्षेत्रमा मुलाखेती बिस्तारका लागि सहकारीले बजारको सहजीकरण गर्दै आएको छ । स्थानीय बुद्धवीर, महेन्द्र, नरबहादुर, राजकुमारी र उमादेवि मुखियासमेतका कृषकले वर्षेनी मुलाबाट ४/५ लाख रुपैयाँ भित्र्याउने गरेको बताए । उनीहरूका अनुसार व्यापारीहरु मुला बारीमै खरिद गर्न आउने गरेकोले बजारको समस्या छैन । त्यसै भएर पनि मुला खेतीतर्फ उनीहरु आकर्षित भइरहेको अध्यक्ष राईको भनाइ छ ।

स्थानीय देविमाया बोहोराका अनुसार पाँचथरको तल्लो क्षेत्रमा भने व्यवसायिक मुला खेती गर्न सिंचाइको समस्या छ । यो क्षेत्रमा सिचाइको प्रवन्ध भएमा मुला उत्पादन राम्रो हुन्छ । तर, स्थानीय तह र केन्द्रीय सरकारको भ्रष्टचारी नीति तथा विकासविरोधी गतिविधिका कारण जिल्लाका सुख्खा क्षेत्रमा सिचाइ पुग्न नसकेको बोहोरा दाबी गर्छिन् ।
जिल्लाकै कुम्मायक गाउँपालिकामा पिउने पानीको सदा हाहाकार हुन्छ । यो पालिकाकी सक्रिय नेतृ बिन्दा बोहोरा ढकाल भन्छिन्- ‘स्थानीय नेतृत्वले आवश्यक पहल र लगानी नगर्दा हामीजस्ता साना किसान मुला र यस्तै मौसमी तरकारी खेतीबाट सधैं बञ्चित भइरहेका छौँ ।’
प्रतिक्रिया