सरकारी नालायकी र बिचौलियाको करामत : अब १८० रुपैयाँमा पाइन्न चिनी !

सरकारी नालायकी र बिचौलियाको करामत : अब १८० रुपैयाँमा पाइन्न चिनी !


  • सुरेन्द्र सुवेदी, काठमाडौं

अहिले देशका प्रायः सबै स्थानमा चिनीअभाव चरम रूपमा छ । अनि सरकारी स्वामित्वका आपूर्ति गर्ने संस्थामा पनि चिनी नभएपछि अबको समय चिनीविनाको पाकक्षेत्र हुने र त्यसले खल्लोमात्र पार्ने नभइ सबै क्षेत्रमा प्रभावकारी नकारात्मक असर हुने पक्का छ ।

दशैँअघिसम्म प्रतिकिलोको ८० रुपैयाँ अर्थात् ५० किलो बोराको ४ हजारमा पाइने चिनी अहिले बोराको ७ हजार ५ सय रुपैयाँ पुगेको छ । यो मूल्यमा पनि चिनी पाइन्न । काठमाडौं १० को रुद्रमतिमा एसयुएस बेकरी सञ्चालन गर्दै आएका शान्तकुमार बरुवाल बेकरी र चिया पसल बन्द नै गर्नुपर्ने अवस्था आएको बताउँछन् । उनले भने- दशैँअघिसम्म थोक खरिद गर्दा ५० किलोको बोराको ४ हजार रुपैयाँमा पाइने चिनी अहिले बोराको ७ हजार ५ सय रुपैयाँमा पनि पाइएको छैन ।

व्यापारीले थोकमा प्रतिकिलो १ सय ५० रुपैयाँमा खरिद गरेको चिनी न्यूनतम १५ प्रतिशत नाफा नराखी बिक्री गर्दैनन् । यो हिसाबले अब चिनी १ सय ७५ रुपैयाँ किलो पर्न आउँछ । अभाव चरम भएकोले कालोबजारीका कारण यो मूल्यमा पनि चिनी पाइन्न । जसले उपभोक्ताले न्यूनतम किलोको १ सय ८० रुपैयाँ बढी तिर्नुपर्ने देखिन्छ ।

दशैंअघिसम्म एक कप चियाको २० रुपैयाँमा बिक्री गर्दै आएकोमा अब कपको ३० रुपैयाँमा पनि बिक्री गर्दा फाइदा नहुने तर्क राख्छन् उनी । उनले राजधानीको चाबहिलबाट नियमित चिनी ल्याउने गरेका थिए । अहिले चिनीअभावले ७ दिनदेखि पाउन नसकेको दुःखेसो पोखे । पहिला एकैपटक ५ बोरा चिनी ल्याउने उनी अहिले १० किलो पनि पाउन नसकेपछि पसल सञ्चालनमै समस्या आएको घटना र विचारलाई बताउँछन् ।

राजधानीकै पुरानोबानेश्वरमा अस्थायी बसोबास गर्दै आएका झापाकी गृहिणी एलिसा थापा चिनीअभावले चिया खान पनि पाउन छोडेको बताउँछिन् । उनले भनिन्, नियमित किराना सामान खरिद गर्ने पसलमा चिनी नभएपछि अन्य पसलमा भए पनि नदिने गरेका छन् ।

चिनीअभावमा मुख्य कारक कालोबजारी गर्ने ब्यापारी पहिलो नम्बरमा आउँछन् । केही दिनअघिसम्म एक किलो चिनीको मूल्य १ सय रुपैयाँ थियो । अहिले ब्यापारीले बढाएर किलोको १ सय ५० रुपैयाँ पुऱ्याएका छन् । र, यो मूल्यमा पनि चिनी पाउन सकिन्न ।

ब्यापारीले लुकाएर बजारमा चरमअभाव भएको हो । उपभोक्ताले पनि आवश्यकताभन्दा बढी भण्डारण गरेका थिए । तर त्यो लामो अभावले सकिएको छ । बाग्लुङका धनबहादुर मगरका अनुसार चिनी भएका पसलले पनि ‘छैन’ भन्दै बेच्न मान्दैनन्, अधिकांश पसलमा त चिनी नै छैन । नियमित सामान खरिद गर्ने उपभोक्तालाई भने १, २ पाउका दरले बिक्री गर्ने गरिएको पाइन्छ ।

नेपाल खाद्य संस्थान र साल्ट ट्रेडिङ लिमिटेडमा चिनी छैन । संस्थानकी प्रवक्ता शर्मिला सुवेदीले चिनी अभाव भएको भन्दै अभावबीच महँगोमा पनि किन्न पाउन छोडेको बताइन् । उनले भनिन्- चिनी नै छैन, हामीले साल्ट ट्रेडिङबाट ल्याउने हो, त्यहाँ पनि नभएपछि संस्थानमा एक किलो पनि चिनी छैन ।

साल्ट ट्रेडिङमा पनि चिनी छैन । दशैँअघिबाट नै ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारी पत्रकारको सम्पर्कमा आएका छैनन् । कम्पनीले दिएको उनको नम्बर सदाका लागिजस्तै स्वीचअफ भइरहेको छ । मोबाइलमा घण्टी बजेपनि उनले फोन उठाउँदैनन् ।

अहिले नेपाली बजारमा करिव ६ लाख मेट्रिकटन चिनीको माग छ । माग उच्च भएपनि आपूर्ति शुन्य रहेकोले अब आउने तिहार र छठमा चिनी पाउने सम्भावना अति न्युन रहेको खाद्य संस्थान र साल्ट ट्रेडिङका कर्मचारीहरू बताउँछन् ।

सरकारले निजी क्षेत्रबाट चिनी ल्याएर किलोको १ सय १५ रुपैयाँमा उपलब्ध गराउने घोषणा गरेको थियो, तर त्यो पनि लागू भएन । अन्ततः कालोबजारीलाई संरक्षण गरेको यो सरकारले उपभोक्तालाई चिनी उपलब्ध गराउनेमा विश्वास नलागेको पाँचथर नागीका तुलशी बाँस्कोटा दाबी गर्छन् ।