स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान

स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान


प्रधानमन्त्री प्रचण्ड स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट भूकम्पप्रभावित क्षेत्रतर्फ प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यलका अनुसार भूकम्पप्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री आफैँ नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रका लागि जानुभएको हो ।

उद्धार र राहतमा समन्वयका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र पूर्वअर्थमन्त्री जनार्दन शर्मासमेत प्रभावित क्षेत्रमा जानुभएको छ । मन्त्री बस्नेत जाजरकोट र शर्मा रुकुमपश्चिमबाट निर्वाचित सांसद हुनुहुन्छ ।

प्रधानमन्त्री प्रचण्डले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित भएको जनाउनुभएको छ ।

उहाँले घाइतेहको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका जानकारी दिनुभएको छ । प्रधानमन्त्रीले उद्धार एवं राहतमा जुट्न सबैमा अपिलसमेत गर्नुभएको छ ।

सो भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा दर्जनौँको मृत्यु र घाइते भएका छन् । भूकम्प प्रभावितको खोज उद्धारका लागि तीनवटै निकायका थप सुरक्षाकर्मी सुर्खेतलगायत छिमेकी जिल्लाबाट पनि सो क्षेत्रतर्फ प्रस्थान गरिसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तस्बिर : रासस