‘मानिस धर्मनिरपेक्ष हुन सक्दैन, सनातन धर्म नै हाम्रो पहिचान’

‘मानिस धर्मनिरपेक्ष हुन सक्दैन, सनातन धर्म नै हाम्रो पहिचान’


हिन्दु धर्मको उत्पत्तिको बारेमा जवाफ अहिलेसम्म कसैले दिन सकेका छैनन् । तर अरू धर्महरूको उत्पत्ति कुनै विशेष देशकालमा जन्मेका एक जना महापुरुषहरूबाट उत्पन्न भएकाले त्यसको निश्चित तिथिमिति दिन सकिन्छ । त्यसैले सनातन धर्म भनेको हिन्दुमात्र हो ।
✍ बंशीकुमार शर्मा

विश्वमा धेरै धर्महरू छन्, जसका अनुयायी पनि असङ्ख्य छन् । धर्म-धर्मको बीचमा आलोचना गर्नु राम्रो पक्ष होइन । धर्मकै कारण कयौँ युद्धहरू भए । कयौँको ज्यान गयो । युद्धकै कारण सामाजिक संरचनाहरू भताभुङ्ग भए भने कयौँ मानिसहरू अङ्गभङ्ग भए । हुन त धर्मले लडाइँ गर्नु महापाप हो भनेको छ । सेवा नै धर्म हो भन्ने मूलमन्त्र सबै धर्मको हुन्छ । त्यही पनि धर्म-धर्मको विषय लिएर ठुला-ठुला युद्ध भइसकेका छन् । यसो हुनुको कारण वास्तविक धर्मको मर्म नबुझेरै हो । किनकि सबै धर्मावलम्बीहरूको चाहना एउटै हुन्छ, त्यो हो- ईश्वरसँग साक्षात्कार ! परब्रह्मा परमेश्वर एउटै हुनुहुन्छ । सबै प्राणीको आत्मा एउटै हो कसैको ठुलो र सानो हुँदैन । आत्मा नै परमात्मा हो । ईश्वरको बास नै आत्मामा हुन्छ । ईश्वर खोज्दै ठाउँ-ठाउँ भौँतारिनु पर्दैन र, धर्म-धर्मका बीचमा लड्नु पनि हुँदैन ।

प्रार्थना गर्ने बाटो मात्रै फरक हो केन्द्रबिन्दु एउटै हो । धर्म आस्था र विश्वास हो । आस्था र विश्वासले धारण गर्नु नै धर्म हो । मानिसले कुनै पनि धर्मप्रति आस्था राखेको हुन्छ । त्यसको धर्म त्यही नै हो । आफूसँग जति छ त्यसले त्यति नै लिन्छ । मानिस धर्मनिरपेक्ष हुन सक्दैन, उसले कति बुझ्यो त्यसमा भर पर्दछ । आफूलाई क्रान्तिकारी भनाउँदाहरूले कुनै न कुनै व्यक्तिलाई देवत्वकरण गरेका हुन्छन् । उनका भगवान् तिनै नै हुन् । तिनले बुझ्न सक्ने त्यति नै हो ।

त्यस्ताबाट समाजले थप नयाँ कुरा पाउन सक्दैन । उनीहरूबाट आशा गर्नु पनि हुँदैन । उनीहरूले समाजमा आफूलाई सर्वज्ञ ठान्छन्, त्यही नै विडम्बना हो । समाजले चिन्न सक्नु पर्दछ । त्यस्ता व्यक्तिबाट समाज बिथोलिन्छ । धर्मलाई विवादमा ल्याउने र समाजमा दिग्भ्रमित गराउने काम गर्छन् । धर्मको बारेमा जान्ने विद्धानहरूले व्याख्या गर्नु पर्दछ । नत्र समाजमा त्यस्ता मान्छे उत्साहित हुन्छन् । हजारौँ वर्षदेखि चलिआएको सनातन परम्परा बिथोल्ने प्रयास भइरहेको छ । यसतर्फ सबै सचेत रहनु पर्दछ । अहिले त्यही भइरहेको छ ।

ईश्वरको जन्म र मृत्यु हुँदैन । ईश्वर अनादि छन् । ईश्वरप्रति विश्वास गर्ने वैदिक सनातनीहरूले साधना गरेर आफ्नो शरीरमा भएको मनलाई दूषित गराउने काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य जस्ता शत्रुलाई संहार गर्दछन् । धर्म भनेको पर-भाव होइन, स्व-भाव हो । धर्म भनेको जीव वा मानवको स्वभाविक गुण हो । आगोको स्वभाव पोल्नु हो, त्यसैले पोल्नु नै आगोको धर्म हो । आगोले सबैलाई पोल्छ । मानिसको स्वभाव मानिसको कल्याण गर्नु हो र मानिसको धर्म पनि त्यही हो । यो कुरा जुनसुकै धर्म अवलम्बन गर्नेले पनि स्वीकारेका छन् ।

बैदिक सनातनीहरूको मुल ग्रन्थ वेदमा ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग्भवेत’ भन्ने शब्द उल्लेख गरेको छ । यसबाट चराचर जगतमा सृष्टि भएका सवै प्राणी सुखी हुन् । समस्त जगतमा सृष्टिमाथि अत्याचार हुन लागेमा भगवान अनादि हुँदाहुँदै पनि धर्मको रक्षार्थ भगवानले मानवरुपी देह धारण गरी जन्म लिनुहुन्छ भन्ने बैदिक सनातनका ग्रन्थहरूमा उल्लेख छ । धर्मशास्त्रमा भगवान् नारायणले दस अवतार लिने भन्ने उल्लेख छ । नवौँ अवतार गौतम बुद्ध हुनुहुन्छ भने दशौँ अवतार कल्की अवतार लिने भन्ने उल्लेख गरिएको छ । त्रेता युगमा रामचन्द्र भगवानको जन्म भएको थियो । उहाँको जन्म पृथ्वीमा भएको हो । उहाँ जन्मँदा विश्वमानचित्रको नामकरण बेग्लै थियो । अहिले राजनीतिक र प्रशासनिक नक्सा बदलिएको छ । विभिन्न कालखण्डमा विश्वको भूगोल बदलिएको छ । विश्वास र आस्थाका कारणले भगवान् रामचन्द्रलाई मान्दै र पुज्दै आयौँ । द्वापर युगमा भगवान कृष्णको जन्म भयो त्यसैगरि विभिन्न कालखण्डमा विभिन्न रुप धारण गरी धर्मको रक्षा गर्न भगवानले जन्म लिएको वैदिक धर्मशास्त्रका ग्रन्थहरूमा भएको उल्लेख गरिएको छ ।

हिन्दु धर्मको उत्पत्तिको बारेमा जवाफ अहिलेसम्म कसैले दिन सकेका छैनन् । तर अरू धर्महरूको उत्पत्ति कुनै विशेष देशकालमा जन्मेका एक जना महापुरुषहरूबाट उत्पन्न भएकाले त्यसको निश्चित तिथिमिति दिन सकिन्छ । त्यसैले सनातन धर्म भनेको हिन्दुमात्र हो । यसमा दुईमत छैन । सनातन धर्म भनेको परापूर्वकालदेखि चलिआएको त्यही मानवीय सद्गुणरूप धर्म हो । यो सनातन धर्म कसैले चलाएको नयाँ धर्म होइन । त्यसैले यस धर्मका प्रवर्तक कोही व्यक्ति हुँदैनन् । साक्षात् ईश्वर नै यस धर्मका प्रवर्तक हुनुहुन्छ । सनातन धर्म विश्वको सबैभन्दा पुरानो र वैज्ञानिक धर्म हो । विश्वको सबैभन्दा पुरानो ग्रन्थ वेद हो । वेदको अधारमा व्याख्या गरिने भएको हुनाले सनातन धर्मलाई वैदिक सनातन धर्म भनिन्छ । सनातन भन्नाले परम्परागत चल्दै आएको जसको उत्पत्तिको बारेमा कसैलाई थाहा छैन । कसरी उत्पत्ति भयो त्यो पनि थाहा छैन । यी सबै कारण हिन्दु धर्म नै सनातन धर्म हो ।

भगवानको जन्मलाई निश्चित भौगोलिक घेराभित्र सीमित गर्नु हुँदैन । आस्था र विश्वासको भौगोलिक सिमा हुँदैन । भगवान चराजगतका मालिक हुन् । आकाश पृथ्वी जताततै ब्याप्त छन् । बुझ्नेले मात्र बुझन सक्छन् । अधर्मीहरू दुष्प्रचार गर्ने चेष्टा गर्छन् तर तिनको मन पनि शान्ति हुँदैन । ठुलो कुरा आस्था हो । आस्थाकै कारण हामीले भगवानलाई मान्दै र पुज्दै आयौँ । हिन्दु धर्म सनातन धर्म हो । यो परापूर्व कालदेखि चल्दै आएको हो । आस्थाकै कारण भगवानलाई पुजिन्छ । समाज विज्ञानका विज्ञहरूले भन्ने गर्दछन्, कुनै पनि राष्ट्रको धर्म संस्कृति नष्ट भएमा त्यो राष्ट्र स्वतः हराएर जान्छ । त्यसैले कुनै पनि राष्ट्रको अलग अस्तित्वको लागि मौलिकता नै अपरिवर्तनीय हुनुपर्दछ । विविधताले भरिएको हाम्रो मुलुकमा अनेकताको प्रचारप्रसार गरेर मात्र राष्ट्रियता बलियो हुन सक्दैन । नेपालको अस्तित्व र पहिचान विश्वमै बेग्लै छ । यही नै नेपालको राष्ट्रियता बलियो आधार हुन सक्छ । किनकि, विश्वका विकसित र लोकतान्त्रिक मुलुकहरूले पनि आफ्नो अस्तित्व र पहिचान कायम राख्न राष्ट्रिय धर्म कायम गरेका हुन्छन् । त्यसैले आफ्नै अस्तित्व मेटाउने गरी नयाँ नेपालको खोजी गर्नुभन्दा अस्तित्वको जगेर्ना गर्दै समृद्धशाली नेपाल बनाउनु नै राष्ट्रियता हो । यही नै हाम्रो धर्म हो ।