खाद्यसँग पर्याप्त चामल रहेको खाद्य-प्रवक्ता सुवेदीको दाबी

खाद्यसँग पर्याप्त चामल रहेको खाद्य-प्रवक्ता सुवेदीको दाबी


  • सुरेन्द्र सुवेदी, काठमाडौं

वर्तमान उत्पादनले नै यो सिजनका लागि पुग्ने चामल भण्डारण रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । कम्पनीका अनुसार अब उत्पादन हुनुअघिसम्मलाई पुग्ने पर्याप्त चामलको मौजाद रहेको छ ।

कम्पनीसँग चामलको पर्याप्त मौजाद रहेको र यही आर्थिक वर्षका लागि आवश्यक पर्ने चामल खरिद प्रकृया पनि सुरु भएको कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीले जनाएकी छन् ।

कम्पनीका देशभर १ सय ३४ कार्यालय र डिपो छन् । केन्द्रमा एक, प्रदेशमा ७, मुख्य शाखा ५, शाखा र डिपो २५ र २५ तथा बिक्री केन्द्र ७१ वटा रहेका छन् । कम्पनीको विभागीय प्रवन्धक तथा वित्तीय व्यवस्थापन प्रमुखसमेत रहेकी सुवेदीका अनुसार कम्पनीेले वर्षमा १ अर्ब ५० करोड रुपैयाँको कारोबार गर्दै आएको छ ।

कम्पनीले देशका ४४ जिल्लामा ५० स्थानबाट दशैँ, तिहार र छठका लागि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको विभागीय प्रमुख तथा प्रवक्ता सुवेदीले घटना र विचारलाई बताइन् । प्रवक्ता सुवेदीका अनुसार त्यस्ता सुपथ मूल्य पसलमा राजधानी उपत्यकामा चामल, दाल, चिनी, पीठोसमेत बिक्री गरिने छ भने अन्य स्थानमा चामल नै बेचिन्छ ।

यो सिजनका लागि पुग्ने चामल भएपछि अर्काे उत्पादनपछि बिक्री गर्न कम्पनीले पश्चिमबाट धान खरिद प्रकृया सुरु गरिसकेको छ । आफ्ना दूई मिल र बाँकी निजीक्षेत्रसित सहकार्य गर्दै खरिद गरिएको धान कुटानी गरिने छ । तराईका १० जिल्लाबाट ५० हजार मेट्रिक टन र जुम्लाबाट मार्सी धान २ सय मेट्रिक टन खरिद सुरु भएको प्रवक्ता सुवेदीले घटना र विचारलाई बताइन् ।

३ सय बोका, च्याङ्ग्रा मौज्दात

कम्पनीले दशैंका लागि भनेर खरिद गरेका खसी, बोका तथा च्याङ्ग्रामध्ये तीन सय वटा अझै बाँकी छन् । तीमध्ये बोका र च्याङ्ग्रा अब आउने तिहार र छठमा बिक्री हुने प्रवक्ता सुवेदीको भनाइ छ ।

देशमा आर्थिक मन्दीका कारण उपभोक्तासित रकमअभावले क्रयशक्तिमा ह्रास आइरहेको छ । सकेसम्म मासुजन्य पदार्थ नखाने र खाए पनि सस्तोमा पाइनेमात्र खाने चलनको सुरु भएको छ । बोइलर कुखुरा, राँगा, सुँगुरको खपत यथावत रहेपनि महँगो पर्ने खसी, बोका, च्याङ्ग्रा, भेडाको खपत घटिरहको छ ।