गोदावरी मेलामा एक करोडबढीको ब्यापार

गोदावरी मेलामा एक करोडबढीको ब्यापार


भूकम्पपीडितलाई राहत दिइने

  • सुरेन्द्र सुवेदी, काठमाडौं

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ नारासाथ ललितपुरमा सुरु भएको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी एक दिन थपिने भएको छ । उपभोक्ताको मागअनुसार मेलाको अवधि आज अर्थात् आइतबारसम्म थपिएको हो ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले आयोजना गरेको मेला विगतमा चार दिन हुने गरेको थियो । यो वर्ष ५ दिन आयोजित मेलामा उपभोक्ताको चाहनाअनुसार एक दिन थप गरेर ६ दिन पुऱ्याएको फ्यानका अध्यक्ष मीनबहादुर तामाङले बताए । अध्यक्ष तामाङका अनुसार मेलामा व्यवसायिक स्टल ६१, प्रतियोगितात्मक स्टल २, फ्लावर सजावट स्टल २ र सूचनामूलक ५ समेत ७० वटा स्टल रहेका छन् ।

देशमा ४८ जिल्लामा करिब २ सय २१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय गरिने फ्यानको तथ्याङ्क छ । फुल व्यवसायमा १ हजार २ सय व्यवसायी आवद्ध छन् । तीमध्ये ८ सय राजधानीमा छन् । पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ४४ हजार भन्दा बढी जनशक्ति रोजगारमा संलग्न छन् ।

यस गोदावरी फूलको प्रदर्शनीमा ४२ हजारबढीले प्रत्यक्ष अवलोकन गरिसकेका छन् भने थप गरिएको एक दिनमा अरु बढ्ने छन् । पाँच दिनमा १ करोड ४ लाख रुपैयाँका फुल किनबेच भइसकेको छ । फ्यानले करिव एक करोड रुपैयाँको व्यवसायिक कारोबार हुने अपेक्षा गरेको थियो ।

मेलाको थप आकर्षणहरूमा यस वर्ष सेवा कोकोपिटद्वारा प्रायोजित हरेक दिन बिक्री हुने गेट टिकट नम्बरको आधारमा त्यही दिन बेलुकी लक्की ड्र गरी बिजेता हुन सफल एक जना मेला अवलोकनकर्तालाई गमलासहितको ५ वटा आकर्षक गोदावरी फूलको बिरुवा र ५ किलोको सेवा कोकोपिट उपहार प्रदान गरेको थियो ।

प्रदर्शनीमा पुष्प विकास केन्द्र सहआयोजक रहेको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रको सहयोग रहेको छ । कृषि विकास बैंक बैंकिङ साझेदार रहेको र मेलाको थप गरिएको समय एक दिनमा प्रवेशवापतको टिकट रकममध्ये ५० प्रतिशत भूकम्पपीडितलाई राहत दिने निर्णय गरिएको फ्यानका सचिव हिरामणि शर्माले घटना र विचारलाई बताए ।