पूर्वमा बिकेन ४ लाख किलो घ्यू

पूर्वमा बिकेन ४ लाख किलो घ्यू


दूध संकलन नै बन्द गर्ने तयारीमा व्यवसायी

  • सुरेन्द्र सुवेदी, काठमाडौं

आर्थिक मन्दीको असर दुग्धजन्य पदार्थमा पनि देखिन थालेको छ । यसको पछिल्लो उदाहरण कोशी प्रदेशमा ठूलो परिमाणमा घ्यू, चिज मौज्दात रहेको छ । पूर्वमा ४ लाख किलो बढी घ्यू स्टक रहेको छ भने करिव १० हजार किलो चिजको मौज्दात रहेको डेरी एसोसिएनका पूर्वक्षेत्र सदस्य गोपाल रिजालले घटना र विचारलाई बताए ।

सदस्य रिजालका अनुसार पाँचथर जिल्लामा मात्र ४० हजार किलो बढी घ्यू बिकेको छैन । फिदिम, राँके, रवि, यासोकसमेतका डेरीले उत्पादन गरेको घ्यू बिक्री नभएपछि दुग्ध उत्पादक कृषकले भूक्तानी पनि पाएका छैनन् ।

फिदिम नगरपालिका-९ तुम्रुकमा डेरी सञ्चालन गर्दै आएका छवि घिमिरेका अनुसार दैनिक १ सयदेखि २ सय किलो दूधबाट क्रिम निकालेर घ्यू बनाउने साना डेरीमा पनि १ सयदेखि २ सय किलोसम्म घ्यू स्टक छ ।

घिमिरेका अनुसार पुरानो स्टक बिक्री गर्दै नयाँ मौज्दात राख्दा पनि दूध उत्पादन गर्ने पहाडी क्षेत्रका साना किसानलाई दूधको मूल्य भूक्तानी गर्न सकिएको छैन । फिदिममा सञ्चालित डेरीमा गाउँमा उत्पादन भएको घ्यू बिक्री गरिन्छ । इलाम, झापा, विराटनगरदेखि पोखरासम्म यहाँ उत्पादन भएको घ्यू निकासी हुन्छ । पछिल्लो समय ती स्थानबाट माग आउन छोडेपछि डेरीले उत्पादन गरेका दुग्ध पदार्थ गोदाममै सडिनेअवस्थामा छ ।

विगत वर्षमा असार र साउन महिनामा केहीमात्रामा दुग्धजन्य पदार्थको मौज्दात रहने गरेको थियो । भदौ शुरु भएपछि माग धान्न नै धौ–धौ पर्दथ्यो । अहिले कात्तिकमा पनि घ्यू र चिज बिक्री नभएपछि डेरी व्यवसायी तनावमा रहेको फिदिम-४ थाक्लेमा दूध संकलन गर्दै आएका केशव खनालले बताए ।

डेरी सञ्चालकहरू यो कात्तिक महिनाभरमा पनि मौज्दात रहेको घ्यू र चिज बिक्री नभए दूध संकलन नै बन्द गर्ने तयारीमा रहेको सदस्य रिजालले बताए । पूर्वमा घ्यू थोकमूल्य ६ सयदेखि ६ सय ५० रुपैयाँमा बिक्री गरिन्छ । खुद्रा मूल्य भने प्रतिकिलो ७ सय रुपैयाँ छ ।

पछिल्लो समय समग्रमा दूध उत्पादन बढेको छ । वर्षातले घाँस उत्पादन पर्याप्त रहेकोले दूध उत्पादन वृद्धि भइरहेको र कृषकहरू पशुपालन व्यवसायतर्फ आकर्षित पनि भइरहेको फिदिम नगरपालिकाका पशुपंछी शाखा प्रमुख तीर्थराज मिश्रले बताए ।