सेतो चिनीको कारोबार कालो !

सेतो चिनीको कारोबार कालो !


प्रतिकिलो चिनीमा १५ रुपैयाँ ठगी, अनुगमन नाममै सीमित

  • सुरेन्द्र सुवेदी, काठमाडौं

चरम अभावबीच व्यवस्थापन गरेको थोरै मात्रा चिनीमा पनि कालोबजारी देखिएको छ । साल्ट ट्रेडिङ लिमिटेडबाट वितरण भइरहेको चिनीमा खुद्रा व्यापारीले प्रतिकिलो १५ रुपैयाँ बढी मूल्य लिएर बिक्री गरिरहेका छन् ।

ट्रेडिङबाट प्राप्त ५ बोरा अर्थात् २ सय ५० किलो चिनी बिक्री गर्दै तोकिएको प्रतिकिलो १ सय १५ रुपैयाँ दरमा बिक्री भएको पाइन्न । काठमाडौं १० पुरानो बानेश्वरमा एक खुद्रा बिक्रेताले खुला रूपमा प्रतिकिलो १ सय ३० रुपैयाँ लिएर बिक्री गरिरहेको पाइयो । ‘अभावकै कारण तोकिएभन्दा किलोमा १५ रुपैयाँ बढी तिरेर २ किलो चिनी खरिद गरेँ’, चिनी खरिद गरेर फर्किँदै गरेका एक उपभोक्ताले घटना र विचारलाई भने ।

चिनीमा कालोबजारी हुन नदिन प्रधानमन्त्रीको कार्यालय र स्थानीय प्रहरीले टोली बनाएर अनुगमन गरिरहेका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले सादा पोशाकमा प्रहरी परिचालन गरेर बजार अनुगमन भइरहेको बताए । उनले भने, ‘प्रहरीले सादा पोशाकमा र प्रधानमन्त्रीको कार्यालयबाट बनेको टोलीले निरन्तर अनुगमन गरिरहेको छ ।’ प्रहरीको यस्तो भनाइ आए पनि कालोबजारी भने रोकिएको छैन ।

सरकारले आगामी तिहार तथा छठका लागि चिनीको सहज उपलब्धताका लागि साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म बिक्री वितरणका लागि दिने जनाएको छ । चिनीको हाहाकारपछि चिनी उत्पादन गर्ने उद्योगबाट तीन हजार मेट्रिकटन साल्ट ट्रेडिङमार्फत खरिद गर्ने व्यवस्था मिलाएको हो ।

चिनी संकटको मूल कारण चिनी उद्योगले चिनी आवश्यक पर्ने उद्योगलाई पर्याप्त दिने उपभोक्तालाई नदिनु हो । बजारमा चिनी सहज हुन भने अझै समय लाग्ने देखिन्छ । चिनी उद्योगलाई नियन्त्रण गर्न नसके चिनी खपत हुने उद्योगलाई मात्र पर्याप्त उपलब्ध गराइरहने तर उपभोक्ताले नपाउने अवस्था छ ।

यही अवस्था कायम रहेमा चिनी किलोको १ सय ८० रुपैयाँसम्ममा पनि पाइन्न । ब्यापारीले लुकाएको चिनी अहिले १ सय ५० रुपैयाँमा र त्यो पनि साँझ परेपछि आफ्ना नियमित ग्राहकलाई बिक्री गर्दै आएका छन् ।