राजधानीमा भुस्याहा कुकुर : दैनिक ६ सय जनालाई टोक्छन् !

राजधानीमा भुस्याहा कुकुर : दैनिक ६ सय जनालाई टोक्छन् !


  • सुरेन्द्र सुवेदी, काठमाडौं

हिन्दुहरूको दोश्रो ठूलो पर्व तिहारको दोश्रो दिन भुस्याहा कुकुरले टोकेर रेविजविरुद्धको खोप लगाउन काठमाडौं लाजिम्पाटका ५२ वर्षीय सागर थापा टेकु अस्पताल पुगे । खोप लगाउन लाइनमा उभिएका थापासँगै ओखलढुंगा घर भएर काठमाडौं जोरपाटीमा बस्दै आएकी आशा राई पनि थिइन् ।

थापा र राईलाई भुस्याहा कुकुरले टोकेका हुन् । थापाले भने, ‘नौ वटा भुस्याहा कुकुरले घेरे, एउटाले टोकिहाल्यो ।’ राईलाई चाहिँ बाटोमा हिँड्दा कुकुरलाई छोइएको र, त्यसैले खुट्टामा टोकेको हो ।

राजधानी उपत्यकामा दैनिक करिव ६ सय जनालाई भुस्याहा कुकुरले टोक्ने गरेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा दैनिक करिव ६ सय जना रेविजविरुद्धको खोप लगाउन पुग्ने गरेका छन् । अस्पतालको बहिरङ (ओपिडी) सेवाका इन्चार्ज चिकित्सक शंकर पाण्डेका अनुसार रेविजविरुद्ध खोप लगाउन अस्पतालमा आउनेमध्ये ९५ प्रतिशत कुकुरले टोकेका व्यक्ति छन् ।

चिकित्सक पाण्डेका अनुसार रेविजविरुद्धको खोप लगाउने आउनेमा कुकुर, बिरालो, स्याल, भालुसमेतले टोकेका व्यक्ति हुन्छन् । तीमध्ये अधिकांशचाहिँ कुकुरले टोकेका नै हुन्छन् भने बिरालो, स्याल र भालुले टोकेका करिव ५ प्रतिशत हुन्छन् ।

अस्पतालका स्वास्थ्यकर्मीहरू राजधानीमा भुस्याहा कुकुर नियन्त्रण गर्नु नै पशुहरुको टोकाइबाट बच्ने पहिलोमाध्यम भएको बताउँछन् ।

रेविजविरुद्धको खोप लगाउन टेकु अस्पताल पुगेका पीडितहरू सरकारले भुस्याहा कुकुर नियन्त्रण गर्न केही नगरेको भन्दै आक्रोश पोख्छन् । ‘काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहलाई यो कुरा पुऱ्याइदिनु, भुस्याहा कुकुर नियन्त्रण गर्नु पऱ्यो’- लाजिम्पाटका थापाले घटना र विचारसित भने ।

उपत्यकामा कतिको संख्यामा भुस्याहा कुकुर छन् ? यसको लेखाजोखा छैन । रेविजविरुद्धको खोप लगाउने आउनेको संख्या हेर्दा यहाँ हजारौँको संख्यामा भुस्याहा कुकुर रहेको अनुमान गर्न सकिन्छ ।