सरकार… विरोधलाई नटोक, समस्याको जड रोक !

सरकार… विरोधलाई नटोक, समस्याको जड रोक !


गणतन्त्र तथा लोकतन्त्रमा कुनै तन्त्र आफैमा राम्रो वा नराम्रो हुँदैन, यसका चालकहरूको कारणले गुण निर्धारण हुन्छ । गलतहरूलाई बदल्न नसक्ने भएमा तन्त्र बदलेर पनि राम्रोको लागि काम गर्न तयार हुनुपर्छ ।
✍ दामोदर पौडेल

देशमा किन पैसा छैन ? किन मानिस गाउँमा बस्न चाहिरहेका छैनन् ? किन देशमा कमाइ गर्न छोडेर नागरिक विदेशिन्छन् ? पहिला पनि विदेशको जानकारी सबैलाई थियो, तर किन पहिला विदेशप्रति त्यति मोह थिएन ? जबकि देशमा पहिलाको भन्दा ज्यादा विकास र सुविधा छ । यसको जवाफ हामीले दिनुपर्ने हुन्छ ।

विशेष गरेर सत्तामा रहने र रहन तयार हुनेहरूले यसको जवाफ मात्र दिएर पुग्दैन । कारण पत्ता लागेको छैन भने पत्ता लगाएर निराकरण गर्नुपर्ने हुन्छ । हाम्रा सरकारी निकायहरूको कमजोरी त बारम्बार आउने गरेको छ । ती मात्र समस्या अबश्य पनि होइनन् । के पहिला राज्य अर्थात् सत्तामा बसेर केही गर्न नसकेका र अहिले बसेर उस्तै गरिरहेकाहरूको यसमा ध्यान जाला ?

अहिले दुर्गा प्रसाईंहरूले सरकारको विरुद्धमा आवाज उठाउँदा र काठमाडौंमा मानिस लग्ने कुरा गर्दा सरकार र प्रतिपक्षहरू किन आत्तिएका हुन् ? आत्तिने कि दुर्गा प्रसाईंहरूका उचित मागहरू सम्बोधन गरेर अनुचित तथा तत्काल पूरा हुन नसक्ने मागका सम्बन्धमा प्रष्ट धारणा जनसमक्ष राख्ने र, अब उचित किसिमले राज्य सञ्चालन गरेर नागरिकलाई सास्ती नदिने कार्य गर्ने भन्ने सवाल प्रमुख भएको छ ।

प्रथमतः दुर्गा प्रसाईं भन्ने ब्यक्ति साह्रै नै सम्पन्न रहेछन् । धेरैले गरे पनि हरेक सम्पन्न ब्यक्तिले आफ्नो सम्पन्नतालाई देश र जनता चुसेर अनि गलत कार्य गरेर अझै धनी बन्ने दुष्कर्ममा दुरुपयोग गर्दा रहेनछन् । राजनीति गरेर अर्बपति हुनेहरू धेरै छन् । घरमा गाई भैंसी पालेर दुध बेचेको र कुखुराका अण्डा बेचेको प्रमाण समेत देखाउन नसक्ने एवम् राजनीतिमा लाग्दा गरिव वा कुनै प्रकारको खासै सम्पत्ति नभएकाहरू कसरी अहिले अर्बपति र करोडपति भएका छन् र ती कसरी भए भन्ने जानकारी जनताले पाउनुपर्ने हो । उनीहरूले कमाए पनि जनताको लागि केही राम्रो काम गरे हुने थियो, त्यो पनि गर्दैनन्, भोट किन्न र कार्यकर्ता पाल्न मात्र ठिक भएको छ । पदको लागि विदेशीसामु घुँडा टेक्ने, देशमा आफ्नो तर्फबाट केही नगर्ने र विदेशीले दिएको पैसामा पनि भ्रष्टाचार गरेर केही विकास गरेको जस्तो गर्ने अनि मैले गरेको काम भनेर जनतामा भ्रम छर्ने कार्य नै अहिलेका नेताहरूको दिनचर्या भयो । हामीहरू तिनै नेताका हनुमानहरूले भनेकोमा विश्वास गरेर ताली बजाउने भयाँै ।

चुनावमा लुरुक्क तिनै भ्रष्टलाई मत दिने, चार वर्ष एघार महिना र उनान्तिस दिन उनीहरूलाई नै गाली दिने र एक दिनमा मतको मध्यमबाट आफ्नो खुट्टामा पुन बञ्चरो हानेर हिँड्नै नसक्ने हुने नै हामीहरूको कार्य भयो र त्यसको नियति हामीहरूले नै भोग्ने हो, अरु कसले भोगिदिन्छ र ! हामी समस्याका मुख्य कारणचाहिँ आफै हौँ । एकदिन पार्टी र आफ्नो भनिने कथित नेतालाई उम्मेदवार भनेर मत दिने र अरु सबै दिनहरूमा उसैको अर्थात् उनीहरूको विरुद्धमा टायर बाल्ने, रेलिङ भाँच्ने तथा तथानाम गाली दिने हामीहरूले गरेको कार्य आकासमा थुकेर त्यो थुक आफैमा परेजस्तो मात्र हो । लोकतन्त्रमा आफ्नो ब्यवहारको परिणाम नै राज्यमा हुने ब्यवस्था हो, जनता नै आफ्नो भाग्यको मालिक हो । आफ्नो भाग्य आफैंले बिगारेर अनुहार दुःखी बनाएपछि जति राम्रो ऐना हेरे पनि अनुहार राम्रो देखिँदैन । लोकतन्त्र मेरो अधिकार मात्र होइन बरु मेरो ब्यवहारको ऐना पनि हो । ऐना नराम्रो भनेर ऐना फोरेर पनि समस्याको समाधान हुँदैन । केवल गल्तीलाई अरुतर्फ देखाउने काम मात्र हुन्छ । त्यो धुर्तको काम हो । आफैमाथि र आफ्ना सन्तान-दरसन्तानउपरको ठगी हो ।

मन्त्री, प्रधानमन्त्री, अन्य राजनैतिक पदहरूमा बस्ने, सचिवदेखि साना पदहरूमा बस्नेले अरु कुनै पनि आम्दानी नभए पनि करोडौँदेखि अर्बौंका सम्पत्ति कमाएका छन् । त्यो कहाँबाट आयो ? सामान्य बिरामी हुँदा पनि राज्यको पैसा खर्च गरेर बैंकक आदि स्थानमा पुग्नेहरूले तपाईं-हाम्रो पैसाको कसरी दोहन गरेका छन् भन्ने प्रष्ट छ । हाम्रो पैसा भ्रष्टाचार गरेर आफू मोटाउने, जे होस् बरु त्यो पैसा खर्च गरेर अस्पताल, शैक्षिक संस्था बनाएको भए उनीहरूको उपचार र उनीहरूका सन्तानहरूको पढाइको साथ साथै हामीलाई पनि फाइदा हुने थियो, त्यो नगर्ने दोब्बर बेइमानलाई हामी अझै पनि नेता भन्छौँ । केही पैसा र रक्सी जाँड, मासु तथा कहिल्यै पूरा नहुने थोत्रा आश्वासनको आधारमा जिताउने गर्छौं । अब कमसेकम सचेत त होउँ ।

हरेक नागरिकले भन्नैपर्छ कि म राजसंस्था, गणतन्त्र, साम्यवाद आदि कुनै परिपाटीको विरोधी वा समर्थक होइन बरु कसैले पनि राम्रो गर्छ भने त्यसको समर्थक र गलतको विरोधी हुँ । म उत्तर कोरियाका कम्युनिष्ट राजसंस्था जस्तोको समर्थक होइन, जापान, बेलायत जस्ता राजसंस्थाको सर्मथन गर्छु । म पाकिस्तान, नेपाल जस्ता देशमा चलाएको गणतन्त्रको होइन, बरु मोदी जस्ताले चलाएको वा अमेरिका, फ्रान्स जस्ता देशमा नेताहरूले चलाएको गणतन्त्रको पक्षधर हुँ भन्न किन हिच्किचाउने ?

त्यो दुर्गा प्रसाईंले नेपालका सरकारी अस्पतालहरू र शिक्षण अस्पतालहरूका आहिले भएका भन्दा पनि राम्रो उपकरण राखेर मापदण्डको परिपालना गरी अस्पतालसमेत बनाएको रहेछ । आश्वासन दिएकोले अर्बौं खर्च गरेकोमा अहिले सायद घुस नदिएकोले उनले अनुमति पाएनन् । उसको अर्बौंको घाटा भयो । उसले त्यहाँ स्वास्थ्य क्षेत्रमा डाक्टरदेखि अन्य विध्यार्थीहरू वनाउने पढाइ गराउन नपाएकोमा देशमा अरवौ पैसा हरायो, विदेश गयो । यो अन्याय दुर्गा प्रसाईंउपर मात्र होइन, सारा नेपालीउपरको अन्याय हो ।

अलिकति बढी बोल्ने उनको बानी रहेछ, तर यो पीडाको परिणाम पनि हुन सक्छ । पीडा भएपछि बोल्छ मान्छे । उनको जस्तो सुविधासम्पन्न अस्पताल त नेपालका सम्बन्धनप्राप्त धेरैजसो अस्पताल पनि छैनन् । दुर्गाजस्तो मनकारीलाई स्यालुट गर्नुपर्छ, किनकि धेरै पटक गरिवलाई ठुला रोग लाग्दा निःशुल्क उपचार गरेको सुनिएको छ । यद्यपि त्यो काम डा. सुनिल शर्माबाट पनि भएको पाइन्छ । साह्रै स्तरीय विद्यालय खोलेर गरिवका जेहेन्दार बच्चालाई पनि पढाउने प्रतिवद्धता उनले गरेका छन् । त्यसले गर्दा इमान्दारीका साथ कमाएकाहरू र फट्याइँ तथा बेइमानी गरेर कमाउनेहरू दुवै थरीले बच्चाको भविष्यको लागि विदेशमा पढ्न पठाउन पर्नेमा दुर्गा प्रसाईंको विद्यालयको कारणले केही रोकिन्छ । विदेशमा पैसा जानबाट बच्छ । दुर्गा प्रसाईंले अरुको सेवा गरेको र दुई नम्बरी गरेर नकमाएकोले अहिले हेर्दा उ देशको गहना भनेमा पनि फरक नपर्ने ब्यक्ति भएको देखिन्छ । दुर्गा प्रसाईं जस्ता अरु केही ब्यक्तिहरू भए त देशमा राम्रो हुन सक्छ ।

यथार्थमा नेपालमा प्रधानमन्त्री, मन्त्री र ठुला पदमा पुगेर पनि काठमाडौंमा घर नजोडेका, सम्पत्ति नकमाएका नेताहरू पनि अपवादमा छन् त । सुशील कोइराला, कृष्णप्रसाद भट्टराई, बीपी कोइराला, भीमबहादुर तामाङ, फर्मुल्लाह मंसुर, अमृत बोहोरा-अष्टलक्ष्मी शाक्य, मदन भण्डारी, जीवराज आश्रित तथा केही सरकारी कर्मचारी भएर ठुला ओहोदामा पुग्नेहरू पनि पनि छन् त, जसले पैसा हालिमुहाली गर्ने अवसर पाएर पनि काठमाडौंमा घर बनाउन सकेनन् । उनीहरू जतापायो त्यतै खर्च गर्ने मानिस पनि होइनन् । उनीहरूको कमाई कता हरायो र यी काठमाडौंमा आलिसान घर बनाउने, बच्चालाई विदेशमा पढ्न पठाउने नेताहरूको पैसा कताबाट आयो ? यसको खोजि गरौँ त ! अझै मत दिने बेलामा पुजा गरेजस्तो गरी मत दिएर बाहिर निस्कनासाथ चियापसलमा गएर मत त दिए तर मतको काम छैन भनेर गफ लगाउनेहरू अब डाडुमा पानी तताएर मर, या त्यही गति हो भने अब कमसेकम मत दिन त नजाउँ । भगवानको नाममा यति त भन्नैपर्छ ।

देशमा पैसा छैन, प्रसाशनिक खर्च पनि पुग्न धौ-धौ छ । बेरोजगारी छ । जनतामा चरम निरासा छ । यस्तो अवस्थामा देश जोगाउन, जनताको पीडा कम गर्न जो-कोही पनि लागेमा हामीले अन्यथा सोच्न हुँदैन । अहिले पनि सम्भावना छ । देशलाई धेरै माथि लग्न सकिन्छ । जनताका पीडालाई कम गर्दै अन्त्य गर्न सकिन्छ । धेरै तरिकाहरू छन् । त्यसको लागि कमिसनको मानसिकता हटाउनु पर्छ । विदेशी शिक्षावाट ठुला भएका अर्थशास्त्रीहरू भन्दा देशको माटो चिनेका ज्ञाताहरूको सुन्नुपर्छ । हरेक नागरिकले भन्नैपर्छ कि म राजसंस्था, गणतन्त्र, साम्यवाद आदि कुनै परिपाटीको विरोधी वा समर्थक होइन बरु कसैले पनि राम्रो गर्छ भने त्यसको समर्थक र गलतको विरोधी हुँ । म उत्तर कोरियाका कम्युनिष्ट राजसंस्था जस्तोको समर्थक होइन, जापान, बेलायत जस्ता राजसंस्थाको सर्मथन गर्छु । म पाकिस्तान, नेपाल जस्ता देशमा चलाएको गणतन्त्रको होइन, बरु मोदी जस्ताले चलाएको वा अमेरिका, फ्रान्स जस्ता देशमा नेताहरूले चलाएको गणतन्त्रको पक्षधर हुँ भन्न किन हिच्किचाउने ? गणतन्त्र तथा लोकतन्त्रमा कुनै तन्त्र आफैमा राम्रो वा नराम्रो हुँदैन, यसका चालकहरूको कारणले गुण निर्धारण हुन्छ । गलतहरूलाई बदल्न नै नसक्ने भएमा तन्त्र बदलेर पनि राम्रोको लागि काम गर्न तयार हुनुपर्छ । हामीको लागि तन्त्रभन्दा देश र जनताको हित महत्वपुर्ण मात्र होइन अपरिहार्य छ ।