मिडिया, महिला र अमृता

मिडिया, महिला र अमृता


पुस्तक समीक्षा

‘महिला अधिकारको बारेमा आवाज उठाउनेहरूले बुद्धिमान्, सक्षम र बहादुर देखिन पुरुषहरूले भन्दा दोब्बर खटिनुपर्छ । उनीहरूले आफूलाई प्रमाणित गरिरहनुपर्छ । अलिकति तलमाथि हुनेबित्तिकै औंला ठडिन्छ , ब्यंग्य बर्सिन्छ । समाज भाँडेको आरोप लाग्छ । त्यसबाट हुने मानिसिक तनावको त हिसाबकिताब नै हुन्न । त्यही कामका लागि पुरुषहरूले सपना देखे भने उनीहरूलाई ‘उत्साही’ र ‘कर्मठ’ मानिन्छ । तर, त्यही सपना महिलाले देखे भने ‘चाहिनेभन्दा बढी इच्छा राख्ने’ ब्यक्तिका रूपमा परिभाषित गरिन्छ ।’

पत्रकार तथा अधिकारर्मी अमृता लम्सालको पुस्तक ‘मिडिया, महिला र म’भित्रको एउटा अंश हो यो । ‘हजुरआमाका कथा’ पुस्तक प्रकाशित गरेर विभिन्न पृष्ठभूमिका जेष्ठ नागरिक महिलाहरूको इतिहासको अभिलेखिकरण गरेकी अमृताले ‘मिडिया, महिला र म’ पुस्तकमार्फत नेपालको महिला आन्दोलन र मिडियामा महिलाको सहभागिता तथा मुद्दाबारे अर्को इतिहास पाठकलाई पस्कनुभएको छ ।

लेखक तथा पत्रकारका अलावा नारीवादी नेतृ र अभियन्ताका रूपमा समेत परिचित अमृता लम्सालको ‘मिडिया, महिला र म’मा नेपालको महिला आन्दोलन मात्र नभइ अन्तर्राष्ट्रिय महिला आन्दोलन, महिलासम्बन्धी विभिन्न सन्धि-सम्झौताहरूका समेत उल्लेख गरिएको छ । पुस्तक अन्तर्राष्ट्रिय-राष्ट्रिय महिला आन्दोलन र पारस्परिक भाष्य, पत्रकारिता र महिला पत्रकार, २०४६ पछिको पत्रकारितामा महिला, मिडियामा लैंगिक सवाल, २०४७ सालको संविधान र महिला, चौथो विश्व महिला सम्मेलन र नेपाल, महिलाअधिकारका संस्थागत प्रयास, संचारिका समूह, द्वन्द्व र फिल्ड रिपोर्टिङ, यो पुस्तासित अनुभूति, आशा र अपेक्षा गरी नौ खण्डहरू छन् ।

यी सबै खण्डमा लेखकका अनुभवसहित सम्धिन्धत बिषयका इतिहास र मितिहरू भएकाले पुस्तक निकै महत्वपूर्ण र संग्रहणीय छ । उल्लेखित कुनै पनि विषयमा लेख्नुपऱ्यो भने यो कहिले भयो होला भनेर अन्त खोजिरहनु पर्दैन, एउटै पुस्तकमा भेट्न सकिन्छ । विशेषगरी महिला आन्दोलन र मिडियाको इतिहासका बारेमा एकै ठाउँ सामाग्रीहरू भेट्न सकिन्छ ।

मिडिया र महिलाका विषयमा तथ्यगत जानकारीसँगै लेखकका अनुभूतिहरू पुस्तकमा समेटिएका छन् । २०४६ सालअघिको पत्रकारिताको इतिहास र त्यसपछि लेखक स्वयमले भोग्नुभएका घटनाहरू पुस्तकमा छन् । नेपालमा महिला आन्दोलन, महिलामाथि हुने हिंसा, महिलासम्बन्धी नीति तथा कानूनहरू, ती कानून बनाउनका लागि गरिएका प्रयासलगायतका कुराहरू समेटिएकाले पुस्तक आफूले पढ्नुपर्ने त छँदैछ, लाइब्रेरीहरूमा राख्न र पठ्य सामाग्रीका रूपमा प्रयोग गर्नका लागि समेत उपयुक्त छ ।

अक्षर क्रियशनद्वारा प्रकाशित पुस्तक ३ सय ८ पेजको छ । किताब लेख्दै गर्दा आफूलाई क्यान्सर रोग लागेपछि अमृताले अक्षर क्रिएशनकी प्रमुख डा. अर्चना थापालाई लेख्नुभएको पत्रबाट उहाँको आफूले सुरु गरेको कामप्रतिको लगावलाई शब्दमा वर्णन नै गर्न नसक्ने गरी स्पष्ट पारेको छ । अन्त्यमा, अमृताले लेख्नुभएको छ- म चाहन्छु, प्रश्न नमरोस् । जात, लिङ्ग, यौनिकता, धर्म, क्षेत्र, वर्ण, आदिका आधारमा मै ठुलो, तैँ सानो भन्ने भावना मरोस् । मानवता सधैं बाँचिरहोस् ।

  • बबिता बस्नेत