ललितपुर महानगरपालिकामा दुई दमकल थपिए

ललितपुर महानगरपालिकामा दुई दमकल थपिए


ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापनको सन्दर्भमा गर्नुपर्ने काममा उच्च प्राथमिकता दिएको बताएका छन् । महानगरपालिकाले खरिद गरेको अमेरिकी मापदण्डको दुईवटा अत्याधुनिक दमकल परिचालनको शुभारम्भ गर्दै उनले विपद् न्यूनीकरण र व्यवस्थापनका लागि सामूहिक प्रयत्नको खाँचो पर्ने बताए ।

ललितपुर महानगरपालिकासँग एक सय ६ वर्ष पुरानो डेनिस दमकल पनि सञ्चालनमा रहेको छ । अहिले आएको यो दमकल अरू दमकल पुग्न नसक्ने ठाउँमा पनि पाइपको माध्यमबाट सहयोग पुऱ्याउने बताइएको छ । पानीले ननिभ्ने आगोलाई फोम हालेर निभाउन मिल्ने यो दमकलले धेरै नै ठूलो सहयोग पुग्ने जनाइएको छ।

महानगरका खरिद महाशाखा प्रमुख सागर थापाका अनुसार अमेरिकी मापदण्डका यी दुई दमकल खरिदका लागि २०७९ असोजमा सम्झौता भएको थियो । दुईवटा अत्याधुनिक दमकलको लागत मूल्य रु पाँच करोड ६५ लाख रहेको उनले बताए ।

दमकलको प्राविधिक पक्षको जानकारी मेकानिकल गराउँदै महानगरका इन्जिनियर पुष्कर भट्टराईले यो दमकलले एक सय २० मिटरसम्म उच्च क्षमतामा पानी र केमिकलको फोहोरा हान्न सक्ने जानकारी गराए । उनका अनुसार ती दमकलमा दुई हजार पाँच५ सय लिटर पानी भण्डारण क्षमता छ । यी दमकलहरु उपत्यकाका सबै क्षेत्रमा विपद् पर्दा उपलब्ध हुने जनाइएको छ ।

विपद् व्यवस्थापन, सडक पूर्वाधार र स्वास्थ्यलगायतका क्षेत्रमा उल्लेख्य काम गरेको ललितपुर महानगरले यसअघि नै अत्याधुनिक एम्बुलेन्स सञ्चालनमा ल्याइसकेको छ ।