विद्युत लाइन काटेर दिनभर घरमा थुनेको दुर्गा प्रसाईंको आरोप

विद्युत लाइन काटेर दिनभर घरमा थुनेको दुर्गा प्रसाईंको आरोप


‘नजरबन्द, रबरको गोली प्रहारलगायतका प्रचार झुट र काल्पनिक’

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को नाममा आन्दोलित बनेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार तीनकुनेमा आन्दोलन कार्यक्रम गर्ने बताएका छन्।

शुक्रबार भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले शनिबार तीनकुनेमा कार्यक्रम गर्ने जिकिर गरेका हुन् । शनिबार आन्दोलनकारीलाई आफ्नो घरअगाडि आउन आग्रह गर्दै प्रसाईंले माइतीघरमा पनि कार्यक्रम गर्ने उद्घोष गरे ।

यहाँसम्म कि शुक्रबार बल्खुमा भएको जमघटबाट हौसिएका उनले कुनै दिन आफूले प्रधानमन्त्री प्रचण्डलाई नै नजरबन्दमा राख्नु नपरोस् भन्दै चेतावनीसमेत दिएका छन् ।

प्रसाईंले शुक्रबार आफूलाई घरमै नजरबन्द तुल्याइएको र दिनभर घरमा बिजुलीको लाइनसमेत काटिएको आरोप लगाए ।

उनले भनेका छन्, ‘दिनभर मेरो घरको बिजुलीको लाइन काटियो । प्रचण्डज्यू… तपाईंलाई जंगलबाट यो ठाउँमा पुर्‍याउने दुर्गा प्रसाईं हो। दुर्गा प्रसाईंले ज्यान दिएको छ। यही घरमा हो तपाईंले कुनै दिन चिया खाएको । यही घर तपाईंले आज अन्धकार बनाउनुभएको छ।’

यसै क्रममा प्रसाईंले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । भक्तपुरस्थित निवासमा नजरबन्दमा परेका प्रसाईंले बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरेका हुन् ।

अधिवक्ता सुरेन्द्र पौडेलले प्रसाईंको पक्षबाट मुद्दा दायर गरेका हुन् । सो मुद्दाको सुनवाइ आइतबार हुने बताइएको छ।

‘नजरबन्द, रबरको गोली प्रहारलगायतका प्रचार झुट र काल्पनिक’

यसैबीच, दुर्गा प्रसाईं गिरफ्तार र नजरबन्द भनेर थालिएको प्रचार सम्पुर्णतः झुट र काल्पनिक हल्ला मात्रै भएको जिकिर गरिएको छ । गृह मन्त्रालय स्रोतले शुक्रबारको प्रदर्शनमा द्विपक्षीय झडप हुन नपाओस्, मानवीय एवम् भौतिक क्षति हुन नपाओस् र निजी एवम् सार्वजनिक सम्पत्तिको नोक्सानी हुन नपाओस् भनेर छुट्टाछुट्टै कार्यक्रम स्थान तोकिएको तथा केहीले निषेधित क्षेत्र तोड्न खोज्दा नियन्त्रणका लागि अश्रुग्यास र पानीको फोहोरा मात्रै प्रयोग गरिएको, प्रचार गरिएजस्तो रबर वा कुनै पनि प्रकारको गोली प्रयोग नगरिएको पनि स्पष्टिकरण दिएको छ ।