एक अर्ब लगानी थप्दै मनकामना केबलकार, एक वर्षमा रिसोर्ट तयार हुने

एक अर्ब लगानी थप्दै मनकामना केबलकार, एक वर्षमा रिसोर्ट तयार हुने


  • कमलकुमार बस्नेत, कुरिनटार (चितवन)

गोरखास्थित मनकामना मन्दिर पुग्ने यात्रुलाई लक्षित गर्दै सुरु भएको मनकामना केवलकार प्रालिले २५ वर्ष पूरा गरेको छ । सो अवसरमा यहाँ आयोजित पत्रकार सम्मेलनमा कम्पनीका सञ्चालक राजेशबाबु श्रेष्ठले केबलकारको स्तरोन्नति र रिसोर्ट निर्माणका लागि रु एक अर्ब लगानी थप गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार स्तरोन्नतिका लागि रु ४५ करोड र रिसोर्ट निर्माणका लागि रु ५५ करोड लगानी हुनेछ । उहाँका अनुसार हाल केबलकार एनालग प्रविधिमा सञ्चालन भइरहेकोमा त्यसलाई हटाई डिजिटल प्रणाली अपनाउन लागिएको हो । ‘एनालग प्रविधिको मर्मतसम्भार गर्नुका साथै स्पेयर पार्टस्समेत पाउन कठिनाइ हुने स्थितिलाई मध्यनजर गर्दै हामीले यस प्रविधिलाई हालकै नवीनतम् प्रविधि डिजिटल प्रणालीमा स्तरोन्नति गर्दैछौँ’, उहाँले भन्नुभयो, ‘अष्ट्रियाको डोप्पलमेयर कम्पनीको डि-कनेक्ट भन्ने डिजिटल प्रणालीमा स्तरोन्नति हुनेछ ।’

उहाँका अनुसार स्तरोन्नतिको पहिलो चरणको काम सन् २०२१ पूरा भइसकेको र बाँकी काम सन् २०२४ को मध्यसम्म सम्पन्न भइसक्नेछ । यसका लागि सामान मगाइसकिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो चरणमा ‘कन्ट्रोल सिस्टम’, ‘कम्युनिकेशन केवल’का साथै केवलकारको लठ्ठा फेरिने छ ।

सञ्चालक श्रेष्ठले सन् २०२५ को सुरुआतसम्म सञ्चालन हुने गरी हाल मनकामना केबलकार हाताभित्रै सुविधासम्पन्न रिसोर्टको निर्माण भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार ४० कोठाको सुविधासम्पन्न रिसोर्टमा स्वीमिङ पुल, हेल्थ क्लब, सभा तथा सेमिनारका लागि हल र रेष्टुराँको समेत सुविधा हुनेछ । ‘रिसोर्टका लागि रु ५५ करोड लगानी हुने अनुमान छ । रिसोर्ट सञ्चालनका लागि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने हाम्रो लक्ष्य रहनेछ’, उहाँले भन्नुभयो ।

मनकामना दर्शन गर्न आउने भक्तजनहरुलाई राम्रो सेवा दिने उद्देश्यले रिसोर्ट सञ्चालन गर्न लागिएको उहाँको भनाइ । ‘मनकामना मन्दिर दर्शनका लागि केबलकार प्रयोग गर्ने यात्रुमध्ये तीन प्रतिशत मात्रै भए रिसोर्ट राम्रोसँग चल्ने रहेछ, यात्रुलाई गुणस्तरीय सेवा दिने उद्देश्यले रिसोर्ट सञ्चालन गर्न लागिएको हो’, उहाँले भन्नुभयो ।

सम्पूर्ण प्रणालीलाई डिजिटाइज गर्न लागेको कम्पनीले पछिल्लो समय टिकटलाई पनि अनलाइन प्रविधिमा उपलब्ध गराएको छ । ‘यात्रुलाई सहज पनि हुने र कागजको खपत कम हुँदा वातावरणीय दृष्टिले पनि राम्रो हुन्छ’, सञ्चालक श्रेष्ठले भन्नुभयो, ‘अनलाइनमार्फत टिकट काट्ने बढ्दै गएका छन् । हाल ३० प्रतिशत टिकट अनलाइनबाट बिक्री भइरहेको छ ।’ केबलकार सञ्चालनमा आएपछि मनकामना मन्दिरमा भारतीय पर्यटकको सङ्ख्या पनि बढेको उहाँको भनाइ छ । ‘पछिल्लो दुईदेखि तीन वर्षमा सार्क राष्ट्रका विशेष गरी भारतीय पर्यटकको सङ्ख्या बढिरहेको छ, अहिले २५ देखि २८ प्रतिशत हिस्सा भारतीय पर्यटकको छ ।’

एक करोड ८० लाखभन्दा बढीले गरे यात्रा

मनकामना दर्शन प्रालिका अनुसार २५ वर्षमा एक करोड ८० लाख ९३ हजार दुई ५५ यात्रुले सेवा लिएका छन् । कम्पनी विसं २०५५ मङ्सिर ८ गतेदेखि सञ्चालनमा आएको हो । कुल तीन दशमलव ०२ किलोमिटर लम्बाइको केबलकारमा ३४ वटा यात्रुवाहक र तीनवटा कार्गो ३७ गोन्डुला छन् । केबलकारको एक घण्टामा अधिकतम छ सय ६० जनालाई सेवा दिनसक्ने क्षमता छ ।

कम्पनीले सामाजिक उत्तरदायित्वमा पनि उत्तिकै ध्यान दिएको छ । यस क्षेत्र आसपासमा शिक्षा, स्वास्थ्य र विपन्न वर्गलाई सहयोग गर्दै आएको सञ्चालक श्रेष्ठको भनाइ छ । कम्पनीले टिकट आम्दानीको एक प्रतिशत गोरखाको सहिद लखन गाउँपालिका र एक प्रतिशत चितवनको इच्छाकामना गाउँपालिकालाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति सम्पदा जगेर्ना, विपन्न वर्गको हित तथा दैवी प्रकोपका लागि सहयोग गरिरहेको छ । कम्पनी पर्यटन क्षेत्रतर्फ आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै सरकारबाट सम्मानित भएको छ । हाल कम्पनीमा एक सय २० जनाले रोजगारी पाएका छन् ।

कम्पनीका अनुसार सुरुआती वर्षमा दुईदेखि तीन लाख यात्रुले सेवा लिने गरेको भए पनि हाल वार्षिक ११ लाखभन्दा बढीले केबलकारबाट सेवा लिइरहेका छन् । साथै यस वर्ष १२ लाख ५० हजारभन्दा बढी यात्रुले सेवा लिने अपेक्षा गरिएको सञ्चालक श्रेष्ठले बताउनुभयो ।

यस परियोजनामा तत्कालीन समयमा रु ६५ करोड लगानी भएको थियो । नेपाल बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक र तत्कालीन नेपाल बङ्गलादेश बैंकले लगानी गरेका थिए । ‘सुरुआती दिनमा अपेक्षाअनुरुप यात्रु नआए पनि त्यसपछिका वर्षमा भने यात्रुको सङ्ख्या बढ्यो’, सञ्चालक श्रेष्ठले भन्नुभयो, ‘पाँच वर्षमा ऋण चुक्ता गर्ने भनिए पनि सात वर्षमा मात्रै पूरा भयो ।’

तस्बिर : रासस