सुदुरपश्चिम प्रदेशको प्रसिद्ध उग्रतारा देहिजाँत मेला आज सम्पन्न हुँदै

सुदुरपश्चिम प्रदेशको प्रसिद्ध उग्रतारा देहिजाँत मेला आज सम्पन्न हुँदै


  • डम्बर निदाल, डडेल्धुरा

सुदूरपश्चिम प्रदेशको प्रसिद्ध उग्रतारा देहिजाँत मेला आज सम्पन्न हुँदैछ । डडेल्धुरा जिल्लामा रहेको सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ आज (मंसिर १२) भव्य रुपमा सम्पन्न हुँदैछ ।

उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष कार्तिक शुक्लपक्ष पुर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्ने गरेको छ । हजारौँ दर्शनार्थी तथा भक्तजनहरु आउने स्थानीय भाषामा देहिजाँत भनिने उग्रतारा मेला यस वर्ष हिजो मंसिर ११ गते रतेडी र आज दिउसेडी मेला लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ ।

जिल्ला सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को महाकाली राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित महाशक्ति पीठ उग्रतारा भगवतीको मन्दिरमा प्रत्येक वर्ष कार्तिक शुक्लपक्ष पुर्णिमाका दिन ठुलो मेला लाग्ने गरेको छ । यहाँका चार गाउँ छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि ‘दिउसेडी’ मेला शुरु हुन्छ । उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं दर्शनार्थी पूजा–आराधना गर्न पुग्ने गरेका छन् ।

देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम प्रदेश, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु भक्तजन हरेक वर्ष पुग्ने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए । उग्रतारा भगवती माताको पूजा बिहान चार बजे धार्मिक परम्परागत रूपमा दाइन दमाह, रुइसिंग, विकुल, भोकर, शंक, घण्टा इत्यादी बाजागाजाका साथ चारवटै गाउँबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पूजा शुरु हुने अध्यक्ष साँकीले बताए ।

बिहानको पूजाआजापछि दिउँसो भगवती माताको गाँज मन्दिर लगायत सयौँ एकडमा फैलिएको मैदानको विशेष चार स्थानमा बाजागाँजाका साथ घुमाइन्छ । बिहान चारवटै गाउँको भ्राणबाट ल्याइएको माताभगवतीको देउरो बेलुका ५ बजे पछि पुनः चारवटै गाउँको भम्रणमा लगि मेला सम्पन्न हुन्छ । परम्परादेखि लाग्दै आएको यस मेलाको आफ्नो महत्व रहेको समेत उनको भनाइ छ ।

देहिजाँतको महत्व र रोचक जात्रा भनेको सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, ईष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न पाइन्छ । स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ । यसैगरी हराउँदै गएका अन्नबाली फापर, टिमुर, तिललगायत अदुवा, बेसार, चुक, मह, घ्यू, सुन्तला, मौसमी, केरालगायत स्थानीयस्तरमा उत्पादित विभिन्न वस्तुसँगै मोही बनाउन प्रयोग हुने पाथन, विभिन्न साग र तरकारीको राम्रो व्यापार हुने गरेको छ । स्थानीय लोपोन्मुख वस्तुको बिक्री तथा प्रवर्द्धनका लागि पनि मेला प्रसिद्ध छ ।

किम्बदन्तीअनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास छ । वर्षमा एकपटक भव्य रूपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ति, मनोकामना पूरा हुने जनविश्वास रही आएको छ ।