‘मौरीस हर्गोज’ पदमार्गको प्रवर्द्धन गर्न पदयात्रा

‘मौरीस हर्गोज’ पदमार्गको प्रवर्द्धन गर्न पदयात्रा


म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरीस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि आजदेखि पदयात्रा सुरु भएको छ ।

म्याग्दीको नयाँ ‘भर्जिन’ गन्तव्यका रूपमा विकास हुुन थालेको उक्त पदमार्गमा पूर्वाधारको अवस्था र आवश्यकता पहिचान तथा प्रवर्द्धनका लागि चारदिने पदयात्रा सुुरु भएको हो । अन्नपूूर्ण गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत अमृत सुवेदीको नेतृत्वमा सुरु भएको पदयात्रा टोलीमा वित्त आयोगका पदाधिकारी, विज्ञ, जनप्रतिनिधि, प्राविधिक, पत्रकार र स्थानीय अगुवाहरूको सहभागिता छ ।

वित्त आयोगका उपाध्यक्ष बालानन्द पौडेल, नेपाल सरकारका पूर्वमुुख्यसचिव डा सोमलाल सुुवेदी, जुुद्धबहादुुर गुुरुङलगायत २५ जनाको टोली रहेको छ । टोलीलाई अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले पैदलमार्गको प्रवेशबिन्दुमा रहेको हुमखोलामा बिदाइ गर्नुभयो ।

‘मौरीज हर्गोजले अन्नपूूर्ण हिमाल आरोहण गर्न प्रयोग गरेको पैदलमार्गलाई पछ्याएर पदमार्ग बनाएका छौँ’, उहाँले भन्नुुभयो, ‘अन्नपूूर्ण हिमाल म्याग्दीमा भएर पनि यसको रोयल्टीलगायतको लाभ हामीले पाउन सकेका छैनौँ । यो तथ्यलाई पुष्टि गरेर वित्त आयोगले वितरण गर्ने पर्यटन रोयल्टी म्याग्दीको अन्नपूूर्ण गाउँपालिकामा ल्याउने र पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्य रहेको छ ।’

हुुमखोला हुँदै गुरासेडाँडा, फुुतफेते झरना, सम्धिखर्क, भुसकेत, नारच्याङ, पञ्चकुण्ड ताल हुँदै चार हजार एक सय मिटर उचाइको अन्नपूर्ण हिमालको आधार शिविरसम्म पैदलयात्रा गरेर फर्कने कार्यक्रम रहेको छ । पैदलयात्राका क्रममा गाउँपालिकाको प्राविधिक टोलीले पदयात्रामा निर्माण गर्नुपर्ने पूर्वाधार र नक्साङ्कनका लागि सर्वेक्षण पनि गर्ने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।

पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थललगायतका पर्यटन पूर्वाधार तयार भएपछि यसपालिको शरदयाममा पहिलोपटक आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविर पुगेका थिए । नारच्याङबाट कुल ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्म निलगिरिखोला जलविद्युत् आयोजनाले २० किलोमिटर सडकको मार्ग खोलेको छ ।

हुमखोलाबाट आधार शिविरसम्मको २२ किलोमिटर दूरीमा पदमार्ग निर्माण भएको छ । एकैदिन पैदलयात्रा गरेर पुगिने र नयाँ ठाउँ भएकाले ‘भर्जिन’ गन्तव्य रोज्नेहरूलाई अन्नपूर्ण नर्थ बेसक्याप आकर्षक गन्तव्य बन्ने सम्भावना रहेको छ ।

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सका मौरिस हर्गोजले आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुभएको थियो । मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो । अन्नपूर्ण पहिलोपटक मानव पाइला परेको आठ हजार मिटर अग्लो हिमाल हो ।

हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विसं २०६८ मा ‘मौरिज हर्गोज पदमार्ग’को पहिचान गरिएको थियो । अन्नपूर्ण आधार शिविरमा पुग्ने पदमार्ग, झोलुङ्गे पुल, आश्रयस्थललगायतका पूर्वाधार बनाउन पर्यटन मन्त्रालयले रु दुई करोड ८० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले रु ४० लाखभन्दा बढी लगानी गरेका छन् ।

अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिने अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरकी सुमिना बरुवालले बताउनुभयो । अन्नपूर्णको फेदीमा करिब २० हजार वर्गमिटरमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँका थप आकर्षणको रूपमा रहेको छ ।

  • रासस