राजा कसका ? राजसंस्था कसको ?

राजा कसका ? राजसंस्था कसको ?


नेता, जनता र राजपरिवारको पछिल्लो पुस्ता त्यसका लागि तयार छ कि छैन भन्ने कुरा प्रमुख हो । कसैले खहरे झैँ गरेको आन्दोलनले राजसंस्था स्थापित हुँदैन । यदि भइहाल्यो भने त्यो टिकाउ पनि हुँदैन । एउटा आन्दोलनले स्थापित हुन्छ, अर्को आन्दोलनले विस्थापित गर्छ ।
✍ बबिता बस्नेत

मुलुकबाट राजसंस्था फालिएपछि हामीले लेख्दै, बोल्दै आएका धेरै कुरामा परिवर्तन भयो । राजा र राजपरिवारलाई लेख्दै आइएको ‘श्री ५’ हट्यो, महाराजाधिराज, युवराजाधिराज, अधिराजकुमार, अधिराजकुमारी, युवराज, युवराज्ञी जस्ता शब्दहरूमा ‘पूर्व’ थपियो । राजसंस्था गएपछि राजपरिवारका सदस्यहरूको श्री ५ पदवी गएको थियो तर हामीकहाँ राजा, रानी, राजकुमार, राजकुमारी, शाहज्यादी जस्ता शब्द नै लेख्न नमिल्ने झैँ गरी सुरुवाती चरणमा आतङ्क सिर्जना गरियो । समाचारमा ज्ञानेन्द्र शाहको अगाडि ‘राजा’ लेखियो भनेर प्रेस काउन्सिलले घटना र विचारलाई स्पष्टिकरण नै माग्यो । काउन्सिलले लेखेको पत्रको जवाफमा हामीले लेखेका थियौँ- ‘राजा शब्दमा पूर्व लेखिरहनु आवश्यक हुँदैन तर श्री ५ लेख्दाचाहिँ ‘पूर्व’ लेख्नुपर्छ । भारतमा पनि कुनैबेला धेरै स्थानमा राजा/महाराजाहरू थिए । ती राजसंस्थाहरू गएको धेरै वर्ष भयो तर अहिले पनि त्यहाँका मिडियाले महाराजा, राजा, रानी लेखिरहेका हुन्छन् । पत्रकारले गर्ने शब्दचयन र प्रयोगमा यस्तो अनावश्यक दबाब अबदेखि प्रेस काउन्सिलले नदेओस् ।’

वि.सं. २०६५ साल जेठ १५ गते राजसंस्था फालियो, प्रेस काउन्सिलले पत्र पठाएको २०६६ सालतिरको कुरा हो । त्यतिबेलादेखि नै हामीले राजा र राजसंस्थाको समाचारमा प्रायः ‘पूर्व श्री ५’ लेख्न थालेका हौँ । अन्य मिडियामा धेरैजसो ‘पूर्वराजा’ लेख्ने गरेको पाइन्छ ।

राजसंस्था हटेको १५ वर्षपछि अहिले सडकमा राजसंस्थाको पुनःस्थापनाको नारा जोडजोडले लागेको छ । कुनै बेला थियो, राजसंस्थाको बारेमा सकरात्मक कुरा गर्नु, बोल्नु, लेख्नु ठुलो जेखिम उठाउनु झैँ मानिन्थ्यो । समयक्रममा अहिले मुलुकलाई राजसंस्था आवश्यक छ कि छैन ? छ भने किन छ ? छैन भने किन छैन ? भनी छलफल र अन्तरक्रिया गर्नुपर्ने अवस्था सिर्जना भएको छ । प्रश्नहरू धेरै छन्- अहिले राजसंस्थाको नाममा सडकमा जति पनि मानिसहरू जम्मा हुने गरेका छन्, के ती साँच्चै राजसंस्थाको पुनःस्थापनाकै लागि जम्मा भएका हुन् ? राजसंस्थाको नाममा भीड जुटाएर कुनै बाह्यशक्तिले केही नेपालीजनमार्फत सडक आन्दोलन गरी मुलुकमा अस्थिरता सिर्जना गर्नका लागि ठुलै डिजाइन गरिरहेको त छैन ? के सडक आन्दोलन गरेर राजसंस्था फर्काउन सकिन्छ ? आन्दोलनमा कस्ता मान्छेहरूको बाहुल्यता रहेको छ ? नेतृत्व कसले गरिरहेको छ ? किन गरिरहेको छ ? यी र यस्ता प्रश्नसँगै हामी आफूले आफैसँग र समूहमा सोध्नुपर्ने, छलफल गर्नुपर्ने अर्को पनि प्रश्न छ, के हिजो राजसंस्था नेपाली नेता, जनता आफैले फालेका हुन् ? हिजो नेताहरूलाई कसले प्रयोग गऱ्यो ? हिजो जसले नेताहरूलाई प्रयोग गरेर राजसंस्था फाल्यो आज उही या उस्तै शक्ति सडकमा जे पनि बोल्न सक्नेहरूलाई प्रयोग गरेर राजसंस्थाको नाम उपयोग गरिरहेको छ छैन ?

विगतमा विलय भएका देशहरूलाई हेर्दा मुलुकको अस्तित्व समाप्त गर्नका लागि राजसंस्था फाल्नु आवश्यक देखिएको इतिहास साक्षी छ । हिजो अनेकताभित्र एकता कायम गर्दै आएका नेपालीहरूबीच खेल्नका लागि को-को प्रयोग भए, कसरी प्रयोग भए ती ब्यक्तिहरू मध्ये केही नेताको रुपमा अहिले पनि जीवित नै छन् । उनीहरूलाई यो देशमा राजसंस्था र हिन्दुराष्ट्र किन र कसरी फालिएको थियो राम्ररी थाहा छ । जिन्दगीको उत्तरार्द्धमा तिनले इमान्दारीपूर्वक घटनाक्रमहरूको पुनरावलोकन गरे भने नेपालीहरूबाट मात्रै यस्ता कामहरू भएका छैनन् र आफू कसको गोटी भएँ भन्ने कुराले पिरोलिरहेको हुनुपर्छ ।

प्रश्नहरू धेरै छन्- अहिले राजसंस्थाको नाममा सडकमा जति पनि मानिसहरू जम्मा हुने गरेका छन्, के ती साँच्चै राजसंस्थाको पुनःस्थापनाकै लागि जम्मा भएका हुन् ? राजसंस्थाको नाममा भीड जुटाएर कुनै बाह्यशक्तिले केही नेपालीजनमार्फत सडक आन्दोलन गरी मुलुकमा अस्थिरता सिर्जना गर्नका लागि ठुलै डिजाइन गरिरहेको त छैन ? के सडक आन्दोलन गरेर राजसंस्था फर्काउन सकिन्छ ?

तथापि, तात्कालीन अवस्थामा राजसंस्थाको भूमिका पनि जनपक्षीय थिएन । जसरी अहिले सत्तासीन नेताहरूको भूमिका हुनुपर्ने जस्तो छैन । आफू शक्तिमा रहँदा नेता हुन् या राजा आँखामा सायद पट्टि बाँधिएको हुन्छ, के गर्न हुने के नहुने, स्वविवेकले काम गरेको देखिएको छैन । सत्तासीनहरूले सबैभन्दा पहिला नागरिक स्वतन्त्रतालाई बन्देज गर्न खोज्ने रहेछन् । हिजो राजाले सम्पूर्ण शक्ति हात लिनका लागि मिडियामाथि लगाएको बन्देज गलत थियो, आज सामाजिक संजालमाथि लगाउन खोजिएको र लगाइएको पूर्ण बन्देज गलत छ । सामाजिक संजाललाई नियमन र स्वनियमनको दायरामा ल्याउनका लागि सक्रियता अपनाउनुपर्छ । काम सुरु भएको पनि छ तर कतिलाई थाहा छ ? संचार, सूचना तथा प्रविधि मन्त्रालयले हालसालै ल्याएको ‘सामाजिक संजालको प्रयोगलाई ब्यवस्थित गर्ने निर्देशिका २०८०’ को बारेमा कतिलाई जानकारी छ ? नियम, कानून बनाएपछि जानकारी दिने ब्यवस्था पनि गरिनुपर्छ ।

राजालाई अहिले मानिसहरूले समूह समूहमा विभाजित गर्न खोजेको देखिन्छ । यो समूहको राजा, त्यो समूहको राजा । कतिले चाहिँ यही मौका हो हान्ने झैँ गरी पूर्वयुवराज पारसको फोटो सेयर गर्दै ‘अबको तिमीहरूको भावी राजा’ भन्दै ब्यङ्ग्य गरिरहेका छन् । ज-जसले यसो गरिरहेका छन्, उनीहरूले मनन गर्नुपर्ने कुरा के हो भने पारसले कहिल्यै पनि आफूलाई भावी राजाको रुपमा प्रस्तुत गरेका छैनन्, सर्वसाधारणको रूपमा, भेषमा, बोलीचाली र ब्यवहारमा प्रस्तुत गर्दै आएका छन् । सडकमा बेपर्वाह हिँड्नु, आफूलाई मन लागेको कुरा गर्नु सर्वसाधारणको श्रेणीमा राखेकै कारण सम्भव भएको हो । कसैले सर्वसाधारण जनतासँगै उभिएर म विशेष मान्छे होइन है भन्ने सन्देश दिइरहेको छ भने हामीले जबर्जस्ती तिमी विशेष हौ भनिरहनु आवश्यक छैन । पारसको अहिलेको दिनचर्याले उनी आफैबाहेक अरु कसैलाई ‘हार्म’ गरेको छैन ।

यसबीचमा खड्किएको अर्को कुरा हो ‘आफ्नो सन्तानलाई सम्हाल्न नसक्नेले देश के सम्हाल्छन्’ भन्दै राजा ज्ञानेन्द्रलाई सामाजिक संजालमा केही राजनीतिक दलका कार्यकर्ताले एकपछि अर्को गर्दै लेखेका स्टेटसहरू । एउटा प्रसिद्ध भनाइ छ, ‘सन्तानका बारेमा कसैले पनि धेरै उत्साहित भएर या धेरै निराश भएर अभिब्यक्ति नदिनु, कतिबेला के हुन्छ भन्नै सकिन्न ।’ हुनपनि मान्छेले आफ्नो बाहेक अरु कसैको ग्यारेन्टी लिन सक्दैन । जस-जसले त्यस्तो लेखिरहेका छन्, नजाने भोलि आफ्ना सन्तान कस्ता हुन्छन्, के हुन्छन् भन्नै सकिन्न ।

मानिसको जीवनमा सबैभन्दा ठुलो दुःख, सुख, खुशी र डर पनि सन्तान नै हुन् । उनीहरूले राम्रो गर्दा खुशी लाग्छ, नराम्रो गर्दा दुःख लाग्छ । कसैले पनि आफ्नो सन्तानलाई नराम्रो होस् भन्ने चाहँदैन । आफू कुनैपनि राजकाजमा सहभागी नहुने घोषणा गरिसकेका पूर्व युवराजकै कारणले राजसंस्थाको पुनःस्थापनलाई फरक पनि पार्दैन । नेता, जनता र राजपरिवारको पछिल्लो पुस्ता त्यसका लागि तयार छ कि छैन भन्ने कुरा प्रमुख हो । कसैले खहरे झैँ गरेको आन्दोलनले राजसंस्था स्थापित हुँदैन । यदि भइहाल्यो भने त्यो टिकाउ पनि हुँदैन । एउटा आन्दोलनले स्थापित हुन्छ, अर्को आन्दोलनले विस्थापित गर्छ । राजतन्त्रको स्थापनाका लागि मुलुकका सबै नभएपनि प्रमुख राजनीतिक दलहरूबीच सहमति हुनु आवश्यक हुन्छ । यस्तो माहोल बन्न जरुरी हुन्छ कि कसैले राजा कसका ? भन्दा ‘हाम्रा’ र, राजसंस्था कसको ? भन्दा ‘मेरो’ भनेर सबै नेपालीले भन्न सकुन् । यदि गणतन्त्रलाई पनि निरन्तरता दिने हो भने नेताको कार्यशैलीमा ब्यापक परिवर्तन हुनु आवश्यक छ । अहिले जे-जे भइरहेको छ त्यसले देशलाई ‘देश’ रहनबाट बन्चित गर्न सक्छ ।