पूर्व श्री ५ अन्तिम प्रयासमा

पूर्व श्री ५ अन्तिम प्रयासमा


नयाँ दिल्लीको प्रतीक्षा गर्दागर्दै डेढ दशक बितेपछि उहाँ वार कि पारको स्तरमा कुरा गर्ने मानसिकताका साथ दिल्ली पुग्नुभएको थियो । तर दिल्लीले पहिलेझैँ अल्मल्याउने प्रकारको मात्र व्यवहार गरेपछि उहाँ दुःखी हुँदै फर्कनु परेको थियो ।

राजसंस्था विस्थापित भएको डेढ दशकपछि पूर्व श्री ५ महाराजाधिराज गुमेको विरासत फिर्ता गर्न सक्रिय हुनुभएको छ । त्यसनिम्ति विद्यमान सत्ता (प्रतिपक्ष र विपक्षसमेत) माथि दबाब बढाउन उहाँ लागिपर्नुभएको छ । हालैका दिनमा सडकमा प्रकट गतिविधिमा पनि पूर्व श्री ५ को साथ रहेको विश्वास गरिन्छ । उहाँले आन्दोलनका अगुवाहरूलाई टेलिफोन सम्पर्क गरि सान्त्वना र सहानुभूतिका साथै प्रेरणा दिनुभएको समाचारहरू सार्वजनिक भइरहेका छन् ।

यसरी सडक सङ्घर्षको बाटो रोज्नुअघि वर्षौंसम्म उहाँ कुटनीतिक पहलमा केन्द्रीत तथा सीमित हुनुहुन्थ्यो । नेपाली जनताको चाहना र योजनाअनुसार राजसंस्था विस्थापित भएको होइन भन्ने विश्वासमा रहनुभएका पूर्व श्री ५ ले ‘जसले हटाएको हो उसैलाई विश्वासमा लिएर फर्कने’ योजनाका साथ सक्रियता दर्शाउनुभएको थियो । यसक्रममा उहाँले आधी दर्जन पटक त भारतको मात्र भ्रमण गर्नुभएको थियो भने थाइल्याण्ड र सिङ्गापुर पनि अनेकौँ पटक पुग्नुभएको हो । पछिल्लो पटक नयाँ दिल्ली र लखनउको भ्रमण गर्नुको मूल उद्देश्य पनि समर्थन जुटाउनुमात्र भएको बताइन्छ ।

नयाँ दिल्लीको प्रतीक्षा गर्दागर्दै डेढ दशक बितेपछि उहाँ वार कि पारको स्तरमा कुरा गर्ने मानसिकताका साथ दिल्ली पुग्नुभएको थियो । तर दिल्लीले पहिलेझैँ अल्मल्याउने प्रकारको मात्र व्यवहार गरेपछि उहाँ दुःखी हुँदै फर्कनु परेको थियो । त्यसपछि अब निर्णायक प्रयास गरिनुपर्छ भन्ने अठोट उहाँले गर्नुभएको थियो । चीनको साथ लिएर फर्कन खोज्दा त्यसको नकारात्मक सन्देश जाने ठहर गर्दै उहाँ दक्षिण र पश्चिमकै समर्थन जुटाउन लागिपर्नुभएको थियो । दुवै तर्फबाट उहाँले विश्वासयोग्य आश्वासन पाउन सक्नुभएन, त्यसपछि आफ्नै बुतामा निर्णायक प्रयास गर्ने अठोट उहाँले गर्नुभएको हो ।

यतिबेला मुलुकमा आर्थिक मन्दीको स्थिति छ र, मानिसहरू त्यसैपनि असन्तुष्ट र आन्दोलित छन् । यसैबीच बैंकको ऋण मिनाहा गरिनुपर्ने माग राख्दै भएको सडक-सङ्घर्षमा ‘राजा आउ देश बचाउ’ भन्ने नारा लगाउँदै राजतन्त्रका पक्षधरहरू पनि आक्रामक तवरमा सहभागी भएका र स्वयम् पूर्व श्री ५ ले पनि अगुवाहरूमध्ये केहीलाई दर्शनभेट दिएर तथा केहीलाई टेलिफोनमार्फत ऐक्यबद्धता जनाउनुभएर आन्दोलनलाई सहयोग पुऱ्याइरहनुभएको छ । जनआन्दोलनकै बलमा अर्को पक्षलाई जितेर राजतन्त्र पुनस्र्थापना गर्न भन्दा पनि संस्थापनमाथि चर्को दबाब पैदा गरेर सम्झौतामा आउन बाध्य पार्ने र सोही सम्झौताका आधारमा राजसंस्था पुनर्स्थापित गराउने सोचमा पूर्व श्री ५ रहनुभएको बुझिएको छ ।

यसरी निर्णायक प्रयासमा उहाँ अहिले नै उत्रनुको कारण आफ्नो उमेर अवस्था भएको बताइन्छ । ज्ञातब्य छ, पूर्व श्री ५ ज्ञानेन्द्र अहिले ७६ वर्षका हुनुहुन्छ र, शाह बंशको इतिहासमा सबैभन्दा बढी बाँच्ने राजाको रेकर्ड उहाँले नै राख्नुभएको छ ।