रास्वपाका सबै सांसद र प्रदेशप्रमुखहरू केन्द्रीय सदस्य

रास्वपाका सबै सांसद र प्रदेशप्रमुखहरू केन्द्रीय सदस्य


अब केन्द्रीय सदस्य ६० जना

  • सुरेन्द्र सुवेदी, काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मधेश प्रदेशमा भएको केन्द्रीय समिति र संसदीय समितिको बैठकले पार्टीका सबै सांसद र प्रदेश प्रमुखलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । सो पार्टीमा अब केन्द्रीय सदस्यको संख्या ६० पुगेको छ । यसअघि ३९ सदस्यीय केन्द्रीय समिति थियो ।

१४ सांसद र ७ प्रदेश प्रमुख केन्द्रीय सदस्यमा बढुवा भएका हुन् ।

केन्द्रीय सदस्यमा मनोनित हुनेमा पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी र सांसदहरू मनिष झा, डा. तोशिमा कार्की, शिशिर खनाल, अशिम साह, लक्ष्मी तिवारी र अशोक कुमार चौधरी छन् । यस्तै, डा. स्वर्णिम वाग्ले, डा. चन्दा कार्की, हरि ढकाल, शिव नेपाली र विनिता कठायत पनि केन्द्रय सदस्य भएका छन् ।

पार्टीसभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, सांसद सोविता गौतम, सुमना श्रेष्ठ, गणेश पराजुली र विन्दवासिनी कंसाकार गरी ६ जना यसअघि नै केन्द्रीय सदस्य थिए । सात प्रदेशका संयोजकहरू पनि केन्द्रीय सदस्य भए । पार्टीबाट इन्दिरा राना उपसभामुख छन् भने उपसभामुख ओहदामा रहेकोले उनी पार्टी-क्रियाकदापमा निस्कृय छन् ।

केन्द्रीय सदस्य मोहनबहादुर थापाको अडियो प्रकरणका कारण अदालतमा मुद्धा छ । उनले अदालतले फैसला नगरेसम्म आफू केन्द्रीय सदस्यको हैसियतमा रहेर काम नगर्ने भएका छन् । पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भने, ‘उहाँ (मोहनबहादुर थापा) ले अदालतको फैसला नआएसम्म पार्टीमा केन्द्रीय सदस्यको भूमिकामा नरहेर अदालतलाई सहयोग गर्ने बताउनुभएको छ ।’

मधेशमा आफ्नो उपस्थिति देखाउन पार्टीले पहिलो पटक महोत्तरीमा बैठक राखेको हो । बैठकमा राजनीतिक प्रतिवेदनदेखि सांगठानिक प्रतिवेदनसमेका विषयमा छलफल भएको सहमहामन्त्री बुर्लाकोटीले घटना र विचारलाई बताए ।