यसरी हिन्दू अधिराज्यको अस्तित्व रहन्छ ?

यसरी हिन्दू अधिराज्यको अस्तित्व रहन्छ ?


(२० वर्षअघिको घटना र विचार साप्ताहिकबाट)

✍ हीरामणि निरौला

नेपालभित्र हिन्दू जातिमा चलिआएको धर्ममा खलल हुनेगरी इशाई, इस्लाम इत्यादि मतहरू कसैले प्रचार गर्न वा सो मतहरूमा हिन्दूधर्मका कसैको धर्म परिवर्तन गराई लैजान हुँदैन । सो कुराको उद्योगसम्म गरेमा तीन वर्ष कैद र काम गरिसकेकोमा ६ वर्ष कैद गरी विदेशी नागरिक रहेछ भने नेपालबाहिर निकालासमेत गरिदिनुपर्छ । धर्म परिवर्तन गर्ने उद्योगसम्म गरेकोमा एक सय रुपैयाँ जरिवाना हुन्छ । धर्म परिवर्तन भएकोमा सो बदर भइ त्यस्तो व्यक्ति हिन्दू धर्ममै रहन्छ ।

माथिका हरफहरू मुलुकी ऐनको दशौँ संशोधनपूर्व सोही ऐनको अदलको महलमा उल्लेख गरिएका थिए । तर हाल आएर नेपाल अधिराज्यको संविधान, २०४७ मा उल्लेख भएको हिन्दू अधिराज्य भन्ने शब्दलाई लंगडो बनाउने प्रयास स्वरूप केही नेपाल ऐन संशोधन गर्ने ऐन २०४८ लाई हतियार बनाएर मुलुकी ऐनलाई मर्माहत हुने गरी प्रहार गरियो । अर्को शब्दमा भन्दा इशाई इस्लाम इत्यादि मतहरूलाई नेपालमा खुलेगाम नाङ्गो नाच देखाउने वातावरणको सिर्जना श्री ५ को सरकारले गरेको छ । फलस्वरूप मुलुकी ऐन दशौँ संशोधनपूर्वको अदलको १ नं. मा जस्तो ‘नेपालभित्र हिन्दू जातिमा चलिआएको धर्ममा खलल हुनेगरी इशाई, इस्लाम इत्यादि मतहरू कसैले प्रचार गर्न वा सो मतहरू हिन्दू धर्मका कसैको धर्म परिवर्तन गराई लैजान हुँदैन’ र ‘धर्म परिवर्तन भएकोमा सो बदर भइ त्यस्तो व्यक्ति आफ्नो हिन्दू धर्ममै रहन्छ’ भन्ने वाक्यांश हटाइसकेको छ । यसले अरू कसलाई के फल मिल्यो हामी धेरैले देखिसकेका छौँ तर हिन्दूहरूको अस्मितामा धारिलो हतियार प्रहार भइसकेको छ ।

नेपालमा धार्मिक स्वतन्त्रता छ, जसलाई जे मन लाग्यो त्यही धर्म अँगाल्न पाउँछ भनेर ढोंग ठोकेर सरकार बसेको छ । नेपालमा जे–जस्ता धार्मिक आतंक मच्चाइका छन् ती सबमा सरकारको संलग्नता छ । यदि छैन भनिन्छ भने राजदरबारअगाडि, घण्टाघरको अस्तित्व नै नष्ट हुने गरी ने गगनचुम्बी मस्जिद बनेको छ । नेपालका १२०० भन्दा बढी गाविसहरूमा चर्च बनेका छन् । मन्त्रीहरूमध्येबाट नै नेपालमा गाई काट्न पाउनुपर्छ भनेर भनेको हामीले सुनेका छौँ । हिजोअस्ति मात्र एकजना मन्त्री क्रिस्चियनहरूको कार्यक्रममा प्रमुख अतिथि भएर गएको हामीले देखेका छौँ । यस्ता उदाहरणहरू दिन सकिन्छ ।

नेपालमा हिन्दू धर्म संस्कृतिको रक्षार्थ धेरै संघ-संस्थाहरू खुलेका छन् । तीमध्ये आफूलाई हिन्दूहरूको एक मात्र ठूलो ठेकेदार सम्झिने विश्व हिन्दू महासंघ सरकार र डलरको गुलामी गर्नमा व्यस्त छ । हिन्दू धर्म, संस्कृति र परम्परामाथि अतिक्रमणको अवस्थामा आएर पनि यो महासंघ कुनै दिन एक शब्द बोलेका छैन । साईबाबा, रजनीश आदिका भक्त मात्रै हैन हिन्दूहरू खतम पार्न नेपालमै खुलेका भूमिगत गिरोहहरू विश्व हिन्दू महासंघका पदाधिकारी छन् । यिनीहरूको एउटै मात्र उद्देश्य डलर खाने, डलर जोड्ने अनि डलरमै सुत्ने छ, क्रिश्चियनहरूकै निर्देशनमा चल्न पनि पछि नहट्नेहरूले कसरी हिन्दूहरूको रक्षा गर्छन् ? अन्य संघ-संस्थाहरूको त कुरै छोडिदिउँ, धार्मिक संघसंस्था भएर जग्गा दलाली, केटी दलाली र विदेश पठाउनेजस्ता काम पनि गर्दै आएका छन् यहाँका महामण्डलेश्वरहरूले ।

नेपालको माटोको धर्म, संस्कृति र परम्परालाई संरक्षण गर्ने नाममा यसलाई कंकालको रूपमा कहीँको म्युजियममा सजाउने दुस्साहस एकातिर भइरहेको छ भने अर्कातिर हाम्रो सरकार यस्तै हिन्दूविरोधी तत्वको कठपुतली बनेर जता नचायो उतै नाच्छ । नेपालको माटोमा भएका धर्म, संस्कृति र परम्परा भनेका ॐकार परिवारभित्रका मात्र छन् तर यिनीहरूलाई विस्थापित गरेर इशाई र इस्लाम धर्महरू फैलिएका छन् । हिन्दूहरू उदार भएकोले उदारताको फाइदा उठाइरहेका छन् केही हिन्दूविरोधी तत्वहरू । हामी हिन्दूहरू उदार भइदिँदा दिँदै आफ्ना छोराछोरीलाई नै क्रिस्चियन धर्ममा भर्ति गरिरहेका छौँ भने अर्कोतर्फ आफ्नो घाँटी काट्न तम्सेकालाई गर्धन थापेर बसेका छौँ । यही उदारता, यही मौनता यथाबत राखिराखेमा हिन्दू अधिराज्य बच्दछ त ? हिन्दूहरूले सोच्नुपर्ने बेला आएको छ ।

हाम्रो हिन्दू धर्म, संस्कृति र परम्परा हाल आएर खतरामा परेको कुरा सम्पूर्ण धर्मप्रेमीहरू चिन्ताको विषय महसुस गर्न थालेका छन् । भोलि पनि हिन्दू अधिराज्य रहन्छ ? हिन्दू भएर बाँच्न पाइन्छ अब ? जस्ता प्रश्न हिन्दू समाजमा घुम्न थालेका छन् ।

वर्तमान युगमा विश्वका धेरै देशहरू औद्योगिक क्रान्तिमा जुटेर आफ्ना उत्पादन विश्वका कुनै पनि मुलुकमा पु¥याउन व्यस्त छन् तर नेपाल पनि विश्वको ठूलो धार्मिक बजार केन्द्र भएको छ यहाँ जुन धर्मको लागि पनि मान्छे किन्न पाइन्छ वा आफ्ना अनुयायी बटुल्न मजाले निस्फिक्री रूपमा पाउने बजार नेपाल भएको छ । हामी नेपाली बेचिने अन्तर्राष्ट्रियस्तरका वस्तु हौँ । यो बजार फैलाउनका लागि सरकार प्रयत्नरत छ जसका लागि विदेशीको इशारामा धर्म, परम्परा र संस्कृति जोगाउन तर्जुमा भएका ऐन कानुनका महत्वपूर्ण शब्दहरू सरकार झिकिदिन्छ । यसले गर्दा नेपालको माटोको धर्म र संस्कृतिहरू मरणाशन्न अवस्थामा पुगेका छन् । यसतर्फ कसैको टाउकोदुःखाइ छैन । आफ्नो दायित्वबाट हामी पन्छिन चाहन्छौँ । धर्मका ठेकेदारहरू चकचकी गरेर बसेका छन् । नेता भनाउँदाहरू धर्म परिवर्तनको बजारबाट कमिशनको बुझो लगाएर एक शब्द पनि बोल्न नसक्ने अवस्थामा छन् । यी तमामा क्रियाकलापलाई नियाल्दा अबको १० वर्षपछि हिन्दू अधिराज्यको अवस्था कस्तो होला ?

हिन्दूहरूको आस्थाको केन्द्रबिन्दु राजालाई विष्णुको रूपमा मानिए तापनि बेलायतको संविधानअनुसार व्याख्या गरिन्छ यस हिन्दू अधिराज्यमा । हामी हिन्दूहरू मात्र सनातन धर्म परम्पराअनुसार राजसंस्थामा विश्वास गर्छौं र हिन्दू धर्मको लागि राजासंस्था अनिवार्य कुरा हो । तसर्थ, राजसंस्थाले पनि हिन्दू अधिराज्यको अहिलेको अवस्थाप्रति चिन्तित हुनु नितान्त जरुरी छ । बाइबलले राजा मान्दैन भन्दै गद्दी आरोहणको रजत महोत्सवको उपलक्ष्यमा क्रिश्चियनहरूले कार्यक्रम राख्न हामी हिन्दूहरूलाई पच्ने कुरा होइन ।

हिन्दू अधिराज्यलाई जोगाइराख्ने हो भने हामी ॐकार परिवारका मान्छेहरू आफ्नो आचरणमा बस्दै हिन्दूविरोधी चाहे जोसुकै किन नहोस् खुलेर लडौँ । हामीलाई हिन्दू अधिराज्य चाहिन्छ र भोलिसम्म पनि यसलाई बचाइराख्ने हो भने हालको कानुनी व्यवस्था दोधारे हचुवा खालका छन् । संविधानमा उल्लेख भएको हिन्दू अधिराज्यको भावनाअनुरूप आवश्यक ऐन कानुनको व्यवस्था हुनु जरुरी छ । जसको कारणले हिन्दुत्वको रक्षार्थ कडा कदम चाल्न सकियोस् । हैन, यसरी नै फोस्राइँदै लगिन्छ ऐन कानुनलाई भने के काम संविधानमा उल्लेख गरिएको हिन्दू अधिराज्यको ?

(घटना र विचार साप्ताहिक, २०५४ साल वैशाख २५ गते बुधबार)