हमास-इजरायल युद्ध : अन्तर्राष्ट्रिय फौजदारी अदालतले युद्ध अपराधकोे अनुसन्धान गर्ने

हमास-इजरायल युद्ध : अन्तर्राष्ट्रिय फौजदारी अदालतले युद्ध अपराधकोे अनुसन्धान गर्ने


हमास-इजरायल युद्दमा भएको अपराधको अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले छानबिन गर्ने भएको छ । आईसीसीका मुख्य अभियोजक करिम खानले इजरायल र हमासलाई अन्तर्राष्ट्रिय कानूनको पालना गर्न आह्वान गर्दै आफ्नो कार्यालयले सम्भावित युद्ध अपराधको अनुसन्धानलाई तीव्रता दिने जानकारी दिएका हुन् ।

‘दुवै पक्षले अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्नुपर्छ । यदि सम्बन्धित पक्षले त्यसो नगरे आईसीसीले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ, त्यतिबेला गुनासो नगरियोस्’, खानले आइतबार आफ्नो इजरायल र कब्जा गरिएको वेस्ट बैंकको चारदिने भ्रमण पूरा गरेपछि भनेका छन् ।

खानले मानवीय सहायतालाई तुरुन्तै गाजामा पठाउन आह्वान गर्दै हमासले त्यस्तो सहायताको दुरुपयोग गर्नु हुँदैन पनि भनेका छन् । ‘मानवीय पहुँचमा कानूनले शंका गर्न अनुमति दिँदैन,’ उनले भनेका छन्, ‘नागरिकहरूले आधारभूत खाद्यान्न, पानी र अत्यन्त आवश्यक चिकित्सा आपूर्तिहरूमा पहुँच दिनुपर्दछ, त्यो पनि कुनै ढिलाइ नगरी तीव्र गतिमा मानवीय राहत पुऱ्याउने बाटो खुल्ला गरिदिनु पर्छ ।’

उनका अनुसार गाजालाई सहायताको डेलिभरीमा रोक लगाउनु पनि आईसीसीको अधिकार क्षेत्रअन्तर्गत युद्ध अपराध हुन सक्छ । आईसीसीको सदस्य नभएको इजरायलले यसअघि अदालतको अधिकार क्षेत्रलाई अस्वीकार गर्दै आएको छ । अदालतसँग इजरायल औपचारिक रूपमा संलग्न भने भएको छैन।

सन् २००२ मा स्थापित, आईसीसी विश्वको एकमात्र स्वतन्त्र अदालत हो जुन नरसंहार, युद्ध अपराध र मानवताविरुद्धको अपराध लगायतका गम्भीर अपराधहरूको छानबिन गर्न गठन गरिएको छ । यसले सन् २०२१ मा इजरायलका साथै हमास र अन्य सशस्त्र प्यालेस्टिनी समूहहरूमाथि प्यालेस्टिनी क्षेत्रमा सम्भावित युद्ध अपराधको लागि अनुसन्धान शुरु गरेको थियो ।