नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव (नेत्रविक्रम चन्द)सहितका नेताहरुमाथि राज्यविरुद्धको कसुरमा ३५ दिनभित्र अदालतमा उपस्थित हुन जिल्ला अदालत काठमाडौंले आदेश जारी गरेको छ ।
चार वर्षअघि राज्यविरुद्धको कसुरमा अदालतमा दायर गरिएको मुद्दामा विप्लवसहित उक्त पार्टीका प्रवक्ता प्रकाण्ड (खड्गबहादुर विश्वकर्मा), अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका अध्यक्ष राजु कार्की र माइला लामाविरुद्ध उक्त पक्राउ पुर्जी जारी गर्दै अदालतमा उपस्थित हुन भनिएको हो ।
‘यो पक्राउ पूर्जीको सूचना प्रकाशित भएका मितिले बाटोका म्यादबाहेक ३५ दिनभित्र आफूसँग भएको सबुद प्रमाणसहित तपाई आफैं उपस्थित हुनुहोला’, उक्त पक्राउ पुर्जीमा भनिएको छ, ‘तपाईंहरुले म्याद गुजारी बसेमा मुद्दा कानुनबमोजिम हुनेछ, पछि तपाईको उजुरबाजुर लाग्ने छैन ।’
अदालतको विसं २०८० मङ्सिर १० गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को ५८ (१३) बमोजिम ३५ दिनको पक्राउ पुर्जी जारी गर्न दिएको आदेशअनुसार सूचना प्रकाशित गरिएको बताइएको छ ।
विसं २०७६ असोज ९ गते विप्लवलगायतका नेताहरुमाथि राज्यविरुद्धको मुद्दा दायर भएको थियो । उनीहरुले सङ्घीय एकाइबीच तथा विभिन्न जातजाति वा सम्प्रदायबीचको सम्बन्धमा खलल पारेर राज्यविरुद्ध कसुर गरेको अभियोग लगाइएको छ । प्रहरीले निजहरु फरार भएको भनेपछि अदालतले ३५ दिनभित्र पक्राउ पुर्जी जारी गर्न आदेश गरेको थियो ।
सोही आदेशअनुसार जिल्ला अदालत काठमाडौं प्रशासन शाखाले आज उक्त सूचना जारी गरेको जनाइएको छ ।
प्रतिक्रिया