भाजपालाई चारमध्ये तीन राज्यमा जित हासिल, कांग्रेस एक राज्यमा सीमित

भाजपालाई चारमध्ये तीन राज्यमा जित हासिल, कांग्रेस एक राज्यमा सीमित


भारतको सत्तारूढ दल हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा)ले आइतबार सम्पन्न मतदानबाट प्राप्त परिणामअनुसार चार राज्यमध्ये तीनमा जित हासिल गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपाले भारतीय राष्ट्रिय कांग्रेसबाट छत्तीसगढ र राजस्थान राज्यको नियन्त्रण खोसेको छ र कीर्तिमानी पाँचौँ कार्यकालका लागि मध्यप्रदेशमा पुनः विजय हासिल गरेको छ ।

यस्तै, कांग्रेसले तेलङ्गना राज्यमा सजिलै जित हासिल गरेको छ । तेलङ्गनामा भाजपको विरोध गर्ने पार्टीका रूपमा चिनिएको बलियो तेलङ्गना राष्ट्र समितिको शासन छ । पाँचौँ राज्य मिजोरममा सोमबारमात्र मतगणना भइरहेको छ । यहाँ भाजपाको क्षेत्रीय सहयोगी दल मिजो नेसनल फ्रन्ट सत्तामा छ ।

यी पाँच राज्यमा गत महिना मतदान भएको थियो र १६ करोडभन्दा बढी मानिस मतदाता थिए । भारतमा मतदान सामान्यतया ठूलो जनसङ्ख्याका कारण चरणबद्ध रूपमा गरिन्छ ।

प्रधानमन्त्री मोदीले आफ्नो पार्टी विजयी भएका राज्यहरूमा ‘मतदाताको अटुट समर्थन’का लागि मतदाताहरूलाई धन्यवाद दिएका छन्् । “छत्तीसगढ, मध्यप्रदेश र राजस्थानको नतिजाले भारतीय जनता सुशासन र विकासको राजनीतिमा दृढ छन् भन्ने सङ्केत गर्दछ, सुशासन र विकासका लागि भाजपा खडा छ”, मोदीले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन् ।

यसैगरी, कांग्रेस नेता राहुल गान्धीले तेलङ्गनाका जनतालाई धन्यवाद दिँदै तीन राज्यमा हार स्वीकार रेका छन् । एक्समा उनले “विचारको लडाइँ जारी रहने छ” भनेका छन् ।

विजयी भएको खुशीयालीमा भाजपाका कार्यकर्ताहरू केहीले मोदीको मुखुन्डो लगाएर नाचेका थिए भने मिठाइ बाँड्दै खुशीको प्रतीकका रूपमा एकआपसमा रङ दलेका थिए । नयाँ दिल्ली पार्टी मुख्यालयमा प्रधानमन्त्री मोदी भाजपा कार्यकर्ताहरूबीच हिँडेका थिए । आफ्नो सम्बोधनमा उनले इमानदारी, पारदर्शिता र सुशासनको जित भएको जिकिर गरे ।

करिब एक दशक सत्तामा रहेका मोदी र उनको पार्टी राष्ट्रियस्तरमा लोकप्रिय भएको छ । मोदीले सन् २०२४ मा लगातार तेस्रो पटक जित हासिल गर्ने सर्वेक्षणहरूले देखाएका छन् ।

यद्यपि ‘इन्डिया’ भनिने २८ विपक्षी दलहरूको नयाँ गठबन्धनबाट मोदीको पार्टीलाई राष्ट्रियस्तरमा चुनौती हुने ठानिएको छ । ‘इन्डिया’को नेतृत्व कांग्रेसले गरेको छ ।

निर्वाचनअघि मतदाताहरूलाई आकर्षित गर्नका लागि मोदी र गान्धी दुवैजना पाँचै राज्यमा पुगेका थिए । एपीका अनुसार उत्साहपूर्ण निर्वाचन अभियानमा दुवै नेताले मतदाताहरूलाई अनुदान, ऋण मिनाहा र रोजगारीको प्रत्याभूति दिएका थिए ।