नेपालमा सरकार परिवर्तन गर्न विदेशीले नेपाली मिडियामा लगानी गर्छन् । उनीहरूकै मातहत रातारात कसलाई नेता बनाउने, को ब्यक्तिलाई मिडियाले हिरो बनाइदिने र कसको इजलासमा देशको कानुन नै उल्टाउन भूमिका खेल्ने जस्ता सम्पुर्ण कुरा विदेशी नियोग, गैरसरकारी संस्था र नेपाली मिडियाको संयुक्त सहकार्य रहेको यथार्थ कसैले नकार्न सक्दैन ।
✍ काशी पौडेल ‘आयुष’
सामान्यतया पत्रकारिता र समाचारपत्रको कुरा गर्नुपर्दा देशको वास्तविक अवस्था जनतालाई सूचित गराउँदै एकताको सुत्रमा बाँध्न सिकाउने माध्यम बन्नुपर्छ । देश र जनताको हितविपरीतको कार्य सरकार वा विपक्षको तर्फबाट हुन गएको खण्डमा प्रमुख प्रतिपक्षी भूमिका निर्वाह गर्नु नै, आम सञ्चारमाध्यमको धर्म हुन आउँछ । तर, नेपालको हकमा भने त्यसको ठिक विपरीत छ ।
नेपाली सञ्चारमाध्यम (रेडियो पत्रपत्रिका विद्युतीय सञ्चार सामाग्री) सत्यतथ्यमा आधारित सन्देश प्रवाह गर्ने, देश र जनताको हितमा भन्दा विदेशीको मिसनअनुसार चल्नुपर्छ भन्ने मान्यतामा देखिन्छन् । निष्पक्षीय समाचारपत्रिकाको कुरा गर्दा विश्वमा सबैभन्दा पहिला जर्मनीद्वारा सन् १५८० मा पत्रिकाको शुरूवात भएको पाइन्छ । यद्यपि त्यो हस्तलिखित थियो वा छापापत्रिका थियो- अन्योल छ । छापापत्रिकाको शुरूवात भने जर्मनीको स्टारवर्गमा जोहनन् कार्लोसले सन् १६०५ मा प्रकाशित गरेका थिए । सन् १६१८ मा डच भाषामा पत्रिका प्रकाशित भएपछि फ्रान्स, पोल्यान्ड, इटलीसहित इङ्ग्लैन्डमा पत्रिका प्रकाशित गर्ने लहर चलेको थियो । त्यहीँ बेलायतको साम्राज्यवाद फैलावटसँगै सञ्चार (रेडियो, पत्रपत्रिका) विश्वब्यापी विस्तारित रूप लिएको थियो ।
नेपाली भाषाको पत्रिका वि.सं. १८८६ मा मोतिराम भट्ट, रामकृष्ण बर्माले ‘गोर्खा भारत जीवन’ वनारसदेखि प्रकाशन गरेका थिए । नेपालभित्रै प्रकाशित पत्रिका भने सुधा-सागरलाई मानिन्छ, जुन पत्रिका वि.सं. १९५५ मा सम्पादक पं. नरदेव पाण्डेद्वारा प्रकाशित भएको थियो । देवशमशेरको सहयोगमा वि.सं. १९५८ बैशाख २४ देखि सारदा गौतम सम्पादक रहेर गोरखापत्रको प्रकाशन भएको हो । नेपालमा अङ्ग्रेजी पत्रिकाको प्रकाशन गोरखापत्र संस्थानले वि.सं. २०२२ मा राइजिङ नेपाल प्रकाशनमा ल्याएको थियो । मासिक पत्रिकाको कुरा गर्दा ‘सारदा’लाई लिने गरिन्छ । जुन फागुन १९९१ मा प्रकाशित भएको बताइन्छ । देश र जनताको दुःख-सुःखको आवाज बोल्नुपर्ने सञ्चारमाध्यमले बहुदलीय ब्यवस्थापछिका दिनमा पूरै इण्डो-पश्चिमा आवाजलाई मात्र प्रशय दिन थाले । यहाँ पत्रिकाको मुल मर्म र निहित धर्म के हो भन्ने सवाललाई गौण राखेर विदेशी मिसनको हितमा लगातार कलम चलाएर आवाज बुलन्द पारिँदै आएको छ ।
नागरिकमा देशप्रति घृणा फैलाउने द्वैध मिसनको खेती गरियो । यो मिसनको शुरूवात नेपालको प्रमुख निजी अखबार कान्तिपुरलाई नै उदाहरणका रूपमा प्रस्तुत गर्न सकिन्छ । जानिफकार तप्कामा चर्चा चलेअनुसार पञ्चायतकालमा भन्सारको हाकिम रहेका व्यक्तिले भ्रष्टाचार गरेर कमाएको अलल्य सम्पत्ति छानबिनमा पर्ने देखिएपछि उनका छोरा र एक काठतस्करीमा संलग्न व्यक्तिको संयुक्त लगानीमा कालो धन सेतो बनाउने मेसिनको रूपमा २०४९ साल फाल्गुन ७ गते सो पत्रिकाको शुरूवात गरिएको थियो । देखावटीमा नेपालीद्वारा नेपाल र नेपालीकै निम्ति कलम चलाउने भनिए पनि अदृश्य लगानी युरोपेली इसाई र खाडीको मुस्लिम धार्मिक अतिवादका मिसनको लगानीमा चलेको भन्ने दाग लाग्दै आएको पाइन्छ ।
नेपाली मिडियाले २०५० सालमा मदन भण्डारीको मृत्युपश्चात राजनीतिक उथलपुथलका निम्ति अहम् भूमिका खेलेका थिए । माओवादी द्वन्द्वका निम्ति इन्डो-पश्चिमा इसाई मिसनको हिफाजतका निम्ति पैसा लिएर माओवादी द्वन्द्वलाई भरमग्दुर मलजल गरेका थिए । राजदरबार हत्याकाण्डमा वास्तविक तथ्य ‘रअ’ र ‘सिआईए’ संलग्न घटनालाई बाबुराम भट्टराईको सुनियोजित लेखमार्फत राजा ज्ञानेन्द्रलाई आरोपित बनाउने अथवा दीपेन्द्र नै हत्यारा हो भन्ने प्रमाणित गर्न हदैसम्म गिरेको उदाहरण नेपाली जनमानसमा ताजै छ । यी यावत घटनाले र, मिडियामा डरलाग्दो अदृश्य लगानी र आम्दानी लेनदेनले पनि नेपाली मिडियामा विदेशी स्वार्थमा देशलाई विदेशी मिसनको क्रिडास्थल बनाउन मिडियाले खेलेको भूमिकालाई थप पुष्टि गर्छ ।
सामान्यतया एउटा छापापत्रिकाको खर्च नै कम्तिमा २५-३० रुपैयाँ पर्न आउँछ, तर आम नागरिकको हातमा १० रुपैयाँमै पुग्छ ! त्यो पनि घरमै ! त्यो कसरी ? सालाना करोडौँ घाटा सहेको देखाउने सञ्चारमालिक किन र कसको निम्ति यो गरिरहेका छन् ?! र, दिनहुुँ ब्यक्तिगत रूपमा धनाड्य बन्दै गएका छन् । सोचनीय विषय छ । एकातिर सरकारलाई कर तिर्नुपर्दा घाटा देखाउने अर्कोतर्फ खर्बौंका संरचना र कम्पनीमा लगानी गरिरहने ?यस्तो असम्भव खेल किन र कसको आडमा खेल्न माहिर छन् नेपाली मिडिया ??
आजभन्दा १५ वर्षअघि कान्तिपुर दैनिकबाट प्रकाशक ज्ञवालीले आफ्नो हिस्सा ७७ करोडमा नागरिक दैनिक प्रकाशनमा ल्याएका थिए । पत्रिका बेच्दा वार्षिक करोडौँ घाटामा गएको देखाउने कान्तिपुर दैनिकले अर्बौं आम्दानी कसरी गऱ्यो ?! सिरोहिया र ज्ञवालीले करोडौँ हिस्सा कुन आम्दानीको श्रोतले पाए ? यो खोजीको विषय हो । तर यिनिहरू यति शक्तिशाली छन् कि मिडिय र तिनका साझेदारले गरेको कर्तुत कसैले बाहिर ल्याउने हिम्मत नै गर्दैन । चाहे ती सिरोहिया, थापा, भट्टराई, ज्ञवाली, दीक्षित नै किन नहुन् ! यी विदेशी नियोग र दाताको काँधमा चढेर देशको कानुन र सरकार नै आफ्नो पक्षमा पार्ने खुबी राख्छन् ।
परिवारवाद र आफन्तवादको आत्मरतिको दलदलमा फसेको नेपाली मिडिया आर्थिक लाभको निम्ति देश र जनताको वास्तविक यथार्थलाई ओझेलमा पारेर विदेशी मिसनको निम्ति जुनसुकै हदसम्म गिर्न सक्छन् । विगत र वर्तमानका विभिन्न घटनाक्रमलाई हेर्दा ऐनाजस्तै छर्लङ्ग प्रतिबिम्ब देख्न सकिन्छ । धर्मनिरपेक्षताको जगमा गाउँ-गाउँमा विदेशीहरू छिरेर बाह्यधर्मको प्रचारप्रसार गर्दा आँखा चिम्लिन्छन् । बौद्ध, किराँत, बोन, हिन्दु, जैन जस्ता आस्थाका कुनै कार्यक्रम भए देशको सार्वभौमसत्ता, गणतन्त्रले ल्याएको आमूल परिवर्तन नै धरापमा परेको देख्छन् । यस्तो हुनुको एउटै मात्र कारण हो विदेशी दाता र ओपन सोसाइटी ! दाउद इब्राहिम जस्ताको लगानी भन्ने कुरा पनि पटक-पटक उठ्ने गरेको छ ।
राजनीतिक नेता–कार्यकर्ता, ब्यपारी र ठुला घरानाको वरिपरि घुमेर घटनाको रूप हेर्दै धम्क्याएर, लालच देखाएर बार्गेनिङ गर्ने र लेनदेनको हिसाब नमिल्दा धुइँपत्ताल लगाएर खेद्ने नेपाली मिडियाको प्रवृत्ति हो भन्दा फरक पर्दैन । हिजो राजाको शासनकालमा पनि राजदरबारभित्रका र राजपरिवारसँग जोडिएको घटनालाई जोडतोडले उचाल्ने मिडियाले लोकतन्त्रमा भने मिडिया अधिनायकवाद नै लाद्ने औकात राख्छन् । उदाहरणका निम्ति सिरोहियाका छोराले मादक पदार्थ सेवन गर्दै गाडी चलाउँदा भएको दुर्घटना-प्रकरणलाई लिन सकिन्छ । हिजो दरबारभित्रै छिरेर दरबारको कोठा-कोठीभित्रका घटना छाप्ने मिडिया यो घटनामा आफै नराम्रोसँग चुक्यो वा बोल्न खोज्ने पत्रकार र मिडिया सम्पादकलाई लेनदेनमा चुप बनाइयो ?! आजसम्म न प्रहरी न न्यायालय नै यो बारेमा बोल्नुपर्ने नैतिकता देखाउँछन्, न सरकारले नै ध्यान दिएको छ । यस्ता कयौँ घटना गर्भमै तुहाएर राफसाफ पारिन्छन् ।
प्रायः मिडियामा पत्रकारले पारिश्रमिक नपाएको, देशभक्त, सनातन संस्कृतिमा जोड दिएर पश्चिममा मिसनको बारेमा लेख्ने÷बोल्नेलाई पाखा लगाएको तथ्य बाहिरिन्छन् । त्यस्तैगरी राजनीतिक दलका कार्यकर्ताले मिडियालाई आफ्नो नेताको मुखपत्र बनाएको देख्न/सुन्न पाइन्छ । तर मिडियामालिक, तिनका परिवारका सदस्यले भने वार्षिक लाखौँ तलब बुझ्ने गर्छन् । यस्तो कालो कर्तुत र गलत धन्दाको बारेमा भने कुनै पनि मिडिया, दलका मुखपत्रले घटना सतहमा ल्याउनै चाहँदैनन् ।
नेपालमा खुलेका अनेकौँ चलेगुनेका पत्रपत्रिका (नाम उल्लेख गरिरहनु आवश्यक नपर्ला, सचेत नागरिक तप्का स्वयम् जानिफकार छन्) तथा अनलाइन पोर्टलहरूको पृष्ठभूमि र उद्देश्य नै विदेशी दाताको मिसनमा काम गर्ने र राजनीतिक दलको मुखपत्र बन्नु अनि देशमा अराजकता फैलाउनुका साथै नेपालवादप्रति घृणा जगाउने नै हो भन्न सकिन्छ । उदाहरणका निम्ति २०६३ सालमा मिडियामा आएको विदेशी संस्थाको पैसालाई नै लिन सकिन्छ । त्यतिबेला जर्ज सोरसको ओपन सोसाइटीले नेपाली १७ करोड ३० लाख रुपैयाँ प्रदान गरेको तथ्यांक छ । त्यस्तै गरेर युरोपेली युनियनभित्रका विभिन्न देशले विभिन्न ब्यक्ति र मिडियामा ६५ करोड दिएको उल्लेख गरेको छ । यही कालखण्डमा छ्याप्छ्याप्ती रेडियो स्टेशन खुलेका थिए । धर्मनिरपेक्ष र सङ्घीयता जनताको चाहनाविपरीत विदेशी नियोगबाट पैसा लिने केही ब्यक्ति र मिडियाको प्रभावको कारण संविधानमा घुसाउने खेल खेलिएको थियोे । यही समयमा तराईमा जातिय घृणावाद, इसाई र मुस्लिम धार्मिक कट्टरवादको बिजारोपण भएको थियो ।
अचम्मित पार्ने तथ्य के पनि हो भने नेपालमा सरकार परिवर्तन गर्न विदेशीले नेपाली मिडियामा लगानी गर्छन् । उनीहरूकै मातहत रातारात कसलाई नेता बनाउने, को ब्यक्तिलाई मिडियाले हिरो बनाइदिने र कसको इजलासमा देशको कानुन नै उल्टाउन भूमिका खेल्ने जस्ता सम्पुर्ण कुरा विदेशी नियोग, गैरसरकारी संस्था र नेपाली मिडियाको संयुक्त सहकार्य रहेको यथार्थ कसैले नकार्न सक्दैन । नेपाली राजनीतिमा रातारात उदाएको राजनैतिक पार्टी, नेता, लेखक र बुद्धिजीवीको मुलथलो नै नेपाली मिडिया हुनेगर्छ । विदेशीको छद्म भूमिकाले प्रभावित पार्छ । चाहे बहुदलीय ब्यवस्थापछि उदाएको कम्युनिस्ट, काङ्ग्रेसका प्रभावशाली नेता हुन् अथवा गणतन्त्रपछि बनाइएको लेखक, बुद्धिजीवी, नेता नै किन नहुन् ! यिनै मिडियाको भरपुर भूमिका रहन्छ । हिजो अस्ति उदाएको नयाँ पार्टीको कहीँकतै नदेखिएको नयाँ अनुहारका नेतालाई पर्दापछाडिबाट विदेशी नियोग र गैरसरकारी संस्थाद्वारा मिडियाको भूमिकाले सतहमा ल्याइएको कुरालाई जतिसुकै ढाकछोप गरे पनि छिपाउन सकिँदैन । जय मातृभूमि !
प्रतिक्रिया