मानवतस्करीको खतरनाक सञ्जाल : युवायुवतीलाई असैह्य यातना

मानवतस्करीको खतरनाक सञ्जाल : युवायुवतीलाई असैह्य यातना


✍ सुरेन्द्र सुवेदी, काठमाडौं

पछिल्लो समय नेपालबाट म्यानमार पुऱ्याइएका युवायुवतीको अवस्था पशुको भन्दा कष्टकर रहने गरेको छ । शरीरभर निलडामदेखि करेण्टसम्म लगाएर अबैध काममा लगाउनेहरूमा एक चिनिया समूह पनि सक्रिय रहेको पाइएको छ । लाओस, थाइलैण्ड र म्यान्मारलगायतका देशमा आकर्षक रोजगारीको प्रलोभनमा पारेर अन्ततः म्यानमार पुऱ्याउँदै अनलाइनबाट आर्थिक ठगी गर्ने काम भइरहेका तथ्य फेलापरेका छन् ।

नेपालबाट गएका व्यक्ति नै प्रयोग गरेर त्यहाँका दलालले अन्य नेपाली म्यानमारको म्याउडी भन्ने शहरमा पुऱ्याउने गर्छन् । त्यहाँका कम्पनीले प्रतिव्यक्ति १ लाख रुपैयाँसम्म कमिसन दिने र त्यो कमिसनको मोहमा राम्रो काम भन्दै आफन्त, साथी र चिनजानका व्यक्तिलाई म्याउडी पुऱ्याउने गरेको त्यहाँबाट १० लाख रुपैयाँ तिरेर फर्कन सफल पोखराका एक युवाले घटना र विचारलाई बताए । ती युवाका अनुसार यहाँबाट गएका व्यक्तिलाई भारतको कलकत्ता, थाइलैण्डहुँदै म्याउडी पुऱ्याइन्छ । थाइलैण्डबाट १३ घण्टासम्म हिडाएर म्याउडी पुऱ्याएपछि त्यो दिन आराम गर्न दिने र त्यसपछि १०-१२ जना नेपालीको समूहलाई एक जना चिनियाँ नागरिकले कमाण्ड गर्दै अनलाइन स्केमिङ गर्न लगाइन्छ ।

नक्कली आइडी बनाएर युवतीको भेषमा रकम असुल्न लगाउने यो काममा सफल हुन नसके पानीको जार बोकेर ३ सय पटक उठबस गर्न लगाउने, एक घण्टासम्म भ्यागुत्तो उफ्राइ गराउने, आधा घण्टासम्म दौडाउने जस्ता यातना दिएको ती युवाले बताए ।

‘यति गर्दा पनि पुगेन भन्दै करेण्टसम्म लगाउने गर्छन्, अन्तिममा तिमीहरूलाई यहाँ ल्याउन ८ लाख नेपाली रुपैयाँ खर्च भएको भन्दै त्यो रकम माग गर्छन्, मैले घरबाट ऋण खोजेर उक्त रकम बुझाएर फर्किएँ’- उनले ११ महिना लामो पीडा सुनाए । नक्कली आइडीबाट रकम ठग्न हजारौँ प्रयास गर्दा पनि चार वटामा मात्र सफल भएको उनको भनाइ छ ।

म्याउडीमा नेपाली युवायुवतीलाई दिएका यातनाका भिडियो घटना र विचारलाई प्राप्त भएका छन् । महिलाहरुलाई नाङ्गै बनाएर शरीरका सबै भागमा भाटाले हिर्काएर रगत बगेका, छाला फुटेका दर्दनाक दृष्य ती भिडियोमा देख्न सकिन्छ ।

यता नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले चीनको गान्सु प्रान्त घर भएका काठमाडौ–१५, बिजेश्वरी बस्दै आएका ४२ वर्षीय जोन्सन नाम बताउने लिङ जुनलाई पक्राउ गऱ्यो । उनी यहाँबाट मानिस खोज्दै म्याउडी पठाउने काममा सक्रिय रहेका थिए । ‘जोन्सन काठमाडौंमा पक्राउ परेपछि म्याउडीको त्यो एक घरमा बन्धक बनाएर राखिएका नेपाली युवायुवतीलाई आफ्नो लगानी फिर्ता गर, भन्दै प्रतिव्यक्ति ८ लाख रुपैयाँसम्म असुलेर फिर्ता पठाएको खबर हामीसम्म आइपुगेको छ’, ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद पंगेनीले भने ।

म्यानमार पछिल्लो इन्टरनेट प्रविधिजन्य मानवतस्करको नमुना हो । नेपालबाट मानव तस्करी गर्ने अरु केही आयाम पनि फेलापरेका छन् । अमेरिका लैजाने विश्वास दिलाएर पोखराका ३४ वर्षीय कमल तामाङले २ करोड २६ लाख रुपैयाँ ठगी गरे । उनले चार जनासित ११ लाख ३० हजारदेखि ६० लाख रुपैयाँ ठगेको प्रवक्ता पंगेनीले जानकारी दिए । भारतको नयाँदिल्ली, श्रीलंका, दुवई, सिंगापुर, फिलिपिन्स, थाइलैण्ड, लाओस, जाम्बियासमेतका देशमा पुऱ्याएर अलपत्र पार्ने र थप रकम माग गर्ने गर्दै आएका थिए ।

क्रोयसिया लैजाने भन्दै भिजिट भिषामा दुवई हुँदै इराक पुऱ्याएर ५ महिनासम्म बन्धक बनाएको र थप रकम ५ लाख ४८ हजार तिरेर नेपाल फर्किएका एक युवाले ब्युरोमा उजुरी दिएपछि लमजुङको दोर्दीका ५० वर्षीय देवराज तामाङ अहिले प्रहरी हिरासतमा छन् ।

खाडी मुलुकमा महिलाहरु घरेलु कामदारको रूपमा जान पाइन्न । त्यहाँ जान भिजिट भिषा लगाउँदै भारतको बाटो भएर खाडीका ओमान, कतारसम्मका देशमा लाने र बन्धक बनाउने, तलब नदिने, यौन शोषण गर्नेजस्ता काम भइरहेको ब्युरोको अनुसन्धानबाट खुलेका छन् । भारतको बाटो भएर गएका कारण त्यस्ता पीडित महिलाको संख्या यकिन गर्न नसकिएको प्रवक्ता एसपी पंगेनीको भनाइ छ ।

यी भए नेपालबाट विदेश लगेर गरिएका मानव तस्करका उदाहरण । यस्तै भयावह अवस्था नेपालमा पनि सुरु भइसकेको छ । राजधानी काठमाडौंमै ब्युटीपार्लर र स्पा सेन्टरमा बालिकादेखि युवतीसम्मलाई जागिरको मोह दिलाएर बेस्यावृत्तिमा लगाउँदै यौन शोषण गर्ने गरिएको फेला परेको छ । काठमाडौं-९, रातोपुलमा नुवाकोट ब्युटीपार्लर एण्ड स्पा सेन्टरमा नाबालिकासमेत तीन जनालाई बेस्यावृत्तिमा लगाउने संखुवासभाको चिचिला गाउँपालिका-१ का ४३ वर्षीय दिनेश पौडेल हालै पक्राउ परे । प्रहरीले ती तीन नाबालिका र युवतीको उद्धार गरेको छ । पक्राउ परेका पौडेलले त्रिभूवन अन्तर्राष्ट्रिय एयरपोर्टनजिकै अरु दुई स्पा सेण्टर पनि चलाएका छन् । त्यहाँ पनि नाबालिकादेखि युवतीसम्मलाई यौन शोषण गरिएको पाइयो ।

आर्थिक अवस्था कमजोर भएका, गाउँक्षेत्रका र पढाइलेखाइ नभएका युवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारेर स्पा सेन्टरमा ल्याउने गरेको पाइन्छ । स्पा सेन्टरमा आउने पुरुषहरूसँग मसाजदेखि शारीरिक सम्पर्क राख्न दबाब दिने, नमानेमा शारीरिक यातना दिने, तिमीहरूको नाङ्गो फोटो छ, सामाजिक सञ्जालमा हालिदिन्छु भन्दै मानसिक यातनासम्म दिने गरिएको अनुसन्धानबाट खुल्न आएको ब्युरोका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर बिष्टले जानकारी दिए ।

ब्युरो स्थापनापछि बेचबिखनमा परेका ७ सय २० जनाको उद्धार प्रहरीले गरेको छ । ३ सय ४४ महिला, २ सय १७ पुरुष, १८ बालक र ४१ बालिकाको सकुशल उद्धार गरिएको हो । बेचबिखनमा संलग्न १ सय ९२ जना पक्राउ परिसकेका छन् ।

४६ महिला र १ सय ४६ पुरुषले नेपालबाट विदेश लगेर युवायुवति बेचबिखनमा संलग्न हुँदै आएका थिए । प्रहरीको खोजीको सूचीमा ६ सय ८० जना छन् । उनीहरु नेपाल बाहिर रहेकोले पक्राउ गर्न समस्या भइरहेको बुझिन्छ । ब्युरोले ४ वर्षको अवधिमा २ सय ४५ वटा त मानव बेचबिखनकै मुद्धा अदालतमा दर्ता गरिसको छ ।

यो पनि हेर्नुहोस्-

रुसमा मानवतस्करी : १२ जना पक्राउ, अन्यको खोजीमा प्रहरी

www.ghatanarabichar.com/291205