भारतीय आधार कार्ड बनाएर क्यासिनो प्रवेश, अभियुक्त पक्राउ

भारतीय आधार कार्ड बनाएर क्यासिनो प्रवेश, अभियुक्त पक्राउ


नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका-३ स्थायी बसोबास गर्ने हाल काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका ४७ वर्षीय गोबिन्द खड्का, ओखलढुंगा चिसंखुगढी गाउँपालिका-८ घर भएर ललितपुर सातदोबाटो नखिपोट बस्ने ३९ वर्षीय नविन राई र रुपन्देही तिलोत्तमा नगरपालिका-२१ कोटिहवा स्थायी घर भएका र हाल काठमाडौंको तारकेश्वर बस्ने २५ वर्षीय विनोद न्यौपाने रहेका छन् ।

काठमाडौं उपत्यकाका क्यासिनोहरुमा हुने विभिन्न कृयाकलापहरू माथि निगरानी गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले बताए ।

नेपालीलाई क्यासिनो प्रवेशमा रोक लगाइको छ । यहाँका क्यासिनोमा प्रवेश गरेर जुवातास खेल्नकै लागि भारतीय आधार कार्ड बनाउने गिरोह नै संलग्न भएको प्रहरीको भनाइ छ । पक्राउ परेका ३ जनाबाट थप सूचना संकलन हुने भन्दै प्रहरी गिरोहसम्म पुग्ने जनाउँछ ।

अवैध लागूऔषधसहित १२ जना पक्राउ

प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषध कारोबारी १२ जना पक्राउ गरेको छ । लागुऔषधसहित पक्राउ परेकाहरु कञ्चनपुर, झापा, सिराहा, कैलालीसमेत जिल्लाका बासिन्दा छन् ।

प्रहरीका अनुसार कञ्चनपुरको बेलडाँडी गाउँपालिका–४ बैवाह कालिपुलियाबाट लागूऔषध खैरोहेरोईन १ ग्राम ९ सय ३० मिलीग्रामसहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका–२ बस्ने १८ वर्षीय किशोर, कृष्णपुर नगरपालिका–५ बस्ने १९ वर्षीय शिवराज भट्ट र शुक्लाफाटा नगरपालिका–११ बस्ने २३ वर्षीय अर्जुन रावत छन् ।

कञ्चनपुरकै बेलौरी नगरपालिका–७ पौलाहबाट लागूऔषध खैरोहेरोईन ७७ मिलिग्रामसहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–९ पिपरिया बस्ने २९ वर्षीय पुरुषोत्तम राना, २२ वर्षीय जयराम राना र बेलौरी नगरपालिका–२ गोकुलपुर बस्ने २८ वर्षीय मंगल चौधरी रहेका छन् ।

बाँकेको नेपालगंज उपमहानगरपालिका–१० गणेशमानचोकबाट ब्राउन सुगर २ ग्रामसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत बिरेन्द्रनगर नगरपालिका–९ लाटिकोईली बस्ने १८ वर्षीय किशोर र २६ वर्षीय पवन भण्डारी छन् ।

सिरहा, धनगढीमाई नगरपालिका–१२ बुढी टोलबाट गाँजा करिब ६ केजीसहित सुखिपुर नगरपालिका–८ बस्ने ४० वर्षीय प्रलाद रायलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेची पुलबाट खैरो हेरोईन पदार्थ २ ग्राम ५ सय मिलिग्रामसहित शिवसताक्षी नगरपालिका–८ झिलझिले बस्ने ३५ वर्षीय चन्द्रबहादुर खड्का पक्राउ परेका छन् ।

कैलालीको टीकापुर नगरपालिका–७ सत्तिबाट १ ग्राम १ सय ५० मिलीग्राम खैरो हेरोइनसहित २ जना पक्राउ परेकोे प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।