✍ रुपा पौडेल ‘शाम्भवी’
चर्का घामहरुमा
डामिएका मेरा पाखुराहरु
सक्षम छन् फुलाउन फूल
मरुभूमि नाघेर आएका
मेरा पाइलाहरु
भन्नेले के के भने
बोल्नेले के के बोले
कति हिलो छ्यापियो
कति काँडा गढे
ढलमलाए सपनाहरु
जिन्दगी, जिन्दगी जस्तै नरहँदा
तर पनि उज्यालो घाम
कहाँ छेकिँदो रै’छ र हत्केलाले
हरेक पाइलामा
ठोक्किन आउने
लोभी नजरहरुको
प्रहार सहँदा-सहँदा
फलाम जस्तै खारिएर
बनेको हतियार भएछु
के पाएँ, के गुमाएँ
दुनियाँको हिसाब किताबमा
उत्तीर्ण भए या अनुत्तीर्ण
मैले जाँच्नै छोडिदिएँ
आफ्नै नजरमा उठ्नुको गर्व
गिराउनेहरुको भन्दा
माथि थियो
म हिँडिरहेँ
एउटा यूग बोकेर
प्रतिनिधित्व गर्दै
आफ्नै अस्तित्वको
धावा बोल्नेहरु
हराउन खोज्नेहरु
आउ सिकाउने छु
म तिमीलाई
प्रेम, ममता र शान्ति
म दिलाउने छु तिमीलाई
सृष्टि, शक्ति र सृजना
मेरो सामर्थ्य
हिलैहिलो
भरिएको यो संसारमा
कमल भएर फुलिसकेको छु ।
प्रतिक्रिया