२०८४ अगाडि नै नेपालमा राजसंस्था स्थापना हुने कमल थापाको जिकिर

२०८४ अगाडि नै नेपालमा राजसंस्था स्थापना हुने कमल थापाको जिकिर


‘माओवादी, एमाले र कांग्रेस पार्टीका नेता नै नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्छ भन्ने कुरामा सहमत छन्’

राप्रपा नेपालका अध्यक्ष कमल थापाले २०८४ सालअगाडि नै नेपालमा राजसंस्था स्थपना हुने दाबी गरेका छन् । शुक्रबार भक्तपुरमा आयोजित सञ्चार-संवाद कार्यक्रममा अध्यक्ष थापाले अब स्थापना हुने राजतन्त्र निरंकुश नहुने, राजासहितको प्रजातन्त्र हुने तथा सर्वधर्म, समभावसहित सबै अट्ने हिन्दुराष्ट्र हुने बताए।

नेपालमा राजसंस्था स्थापना भएमा विश्वको भू-राजनीतिमा नेपालको स्वतन्त्र अस्तित्व रहने, अहिलेको लुटतन्त्र, सर्वसत्तावादी र छाडातन्त्र अन्त्य हुने र अब स्थापना हुने राजसंस्था जनाताले चुनेको संसदअन्तर्गत रहने हुनाले राष्ट्रको अभिभावकको रूपमा रहेर राष्ट्रप्रमुखको विवाद सदाका लागि समाप्त हुने कमल थापाको भनाइ थियो ।

नेपाली कांग्रेसका नेता स्व. विश्वेश्वरप्रसाद कोइरालाले राजा र नेपाली जनताको घाँटी एकै ठाउँमा जोडिएको छ भनेजस्तै हो राप्रपा नेपालले मान्ने राजसंस्था भन्ने अध्यक्ष थापाको तर्क थियो । उनले २०६३ को राजनीतिक परिवर्तन असल मनसायले भएको भएतापनि अहिले आएर संघीय गणतान्त्रिक व्यवस्था व्यवहारमा असफल भइसकेको परिप्रेक्ष्यमा नेपालमा राजसंस्था पुनः स्थापनाको विकल्प नभएकोमा जोड दिए ।

थापाले राष्ट्रमा राजसंस्था, हिन्दुराज्य स्थापना गर्ने आन्दोलनप्रति आफू र आफ्नो पार्टीको स्वाभाविक नैतिक समर्थन रहने उल्लेख गर्दै दुर्गा प्रसाईंको आन्दोलनमा स्वतः समर्थन रहेको धारणा राखे । सोही प्रसंगमा कमल थापाले माओवादी, एमाले र कांग्रेस पार्टीका नेताहरूसँग निजीरूपमा कुराकानी हुँदा उहाँहरू नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्छ भन्ने कुरामा सहमत भएको पाएको दाबीसमेत गरे।