कांग्रेस एक्लै चुनाव लडेमात्र बलियो पार्टी बन्ने शेखर कोइरालाको ठहर

कांग्रेस एक्लै चुनाव लडेमात्र बलियो पार्टी बन्ने शेखर कोइरालाको ठहर


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र परिवर्तन हुने बताएका छन् । चितवन-काठमाडौं प्रजातान्त्रिक सङ्गमको ३३औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशनको आज उद्घाटन गर्दै उनले पार्टीलाई परिवर्तन गर्दै बलियो बनाउनका लागि जनतामाझ जानुपर्ने बताए ।

‘देशलाई सम्हाल्ने लोकतान्त्रिक पार्टी कांग्रेस हो । कांग्रेस परिवर्तन नभई मुलुक परिवर्तन हुन सक्दैन । कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र पार्टी परिवर्तन भएर अगाडि बढ्न सक्छ’, डा. कोइरालाले भने । उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा चितवनको महत्त्वपूर्ण भूमिका रहेको धारणा राखे ।

‘केही समयदेखि चितवन प्रजातान्त्रिक आन्दोलनभन्दा अलग बाटोबाट हिँडिरहेको छ । यो कांग्रेसकै केन्द्रीय नेतृत्वका कारण भएको हो । यसको नतिजा चितवनमा कांग्रेसको सङ्गठन कमजोर हुँदै गएको छ । यसलाई बलियो बनाउन सबै एकजुट हुनुपर्छ’, कोइरालाले भने । यहाँका क्षेत्र, पालिका, वडामात्र नभइ टोलमा समेत व्यक्तिवादी चरित्र हाबी हुँदा पार्टी सङ्गठन कमजोर हुँदै गएको उनको भनाइ थियो ।

डा. कोइरालाले कांग्रेस एक्लै चुनाव लडेमात्र बलियो पार्टी बन्ने तर्क गरे । ‘जबसम्म हामी एक्लै चुनाव लड्न सक्दैन तबसम्म पार्टी झन्झन् कमजोर हुँदै जान्छौँ’, उनले भने । नेता कोइरालाले देशको आर्थिकस्थिति विदेशीसँग ऋण लिएर कर्मचारीलाई तलब खुवाउने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे ।

स्वदेशमा अध्ययन र काम गर्ने वातावरण नभएकाले गत वर्षमात्र प्लस टु पढेर एक लाख २७ हजार विद्यार्थी विदेश गएका भन्दै डा. कोइरालाले उक्त युवाशक्तिलाई स्वदेशमा रोक्नका लागि सरकारले ठोस कार्यक्रम अगाडि सार्नुपर्ने बताए । कुनै पनि देशलाई समृद्ध बनाउन कृषि उत्पादन बढाउन जरुरी रहेको कोइरालाको भनाइ थियो ।

देशका ठूला भ्रष्टाचारमा राजनीतिक नेता, कर्मचारी र व्यापारी जोडिएको भन्दै भ्रष्टाचार अन्त्य नगरेसम्म देशको विकास नहुने उनले बताए । महाधिवेशन भएको दुई वर्ष बित्न लाग्दासम्म पार्टीको भ्रातृ संस्था तथा विभागलाई पूर्णता दिन नसक्नु पार्टी नेतृत्वको कमजोरी भएको नेता कोइरालाको भनाइ थियो ।

photo: rss