नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल पुकार पत्रिकामार्फत कांग्रेसका गतिविधि जनतासम्म पुग्ने बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आइतबार केन्द्रीय कार्यालयमा आयोजित पत्रिका लोकार्पणका अवसरमा सभापति देउवाले जनताले सो पत्रिकामार्फत कांग्रेसबारे जानकारी हासिल गर्न सक्ने धारणा राखे ।
‘नेपाल पुकार जनतामा लोकप्रिय हुनेछ भन्ने विश्वास छ । यो पत्रिका पढ्नेले नेपाली कांग्रेसबारे जानकारी प्राप्त गरी कांग्रेसबारेमा आफ्नो धारणा बनाउने छन् । यसले पार्टीका गतिविधिहरु जनतासमक्ष पुऱ्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ’, सभापति देउवाले भने ।

त्यस अवसरमा पार्टी उपसभापति तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अहिले नेपालमा सुशासनको राजनीतिको खडेरी परेको अवस्थामा नेपाल पुकार सुशासनको पक्षमा आउनुपर्ने अभिव्यक्ति दिए भने कांग्रेस महामन्त्री गगन थापाले कुशासनले नागरिक आजित भएको भन्दै नेपाल पुकारले यसका पात्र, प्रवृत्ति र घटनाको चित्रण गर्दै जनतामा सही सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।
पार्टीका सहमहामन्त्री उमाकान्त चौधरीले कांग्रेसको वैचारिक सन्देश प्रवाह गर्न यस पत्रिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे भने पूर्वउपसभापति गोपालमान श्रेष्ठ, प्रचारप्रसार विभागका पूर्वप्रमुख मीनेन्द्र रिजाल, नगरपालिका महासङ्घका तर्फबाट निलकण्ठ नगरपालिका धादिङका प्रमुख भीम ढुङ्गाना, प्राध्यापक पुरुषोत्तम दाहाललगायतले सो अवसरमा आआफ्ना धारणा राखेका थिए ।
तस्बिर : रासस
प्रतिक्रिया