केपी ओली भन्छन्- ‘सङ्कल्प यात्राबाट एमालेको आत्मविश्वास वृद्धि भयो’

केपी ओली भन्छन्- ‘सङ्कल्प यात्राबाट एमालेको आत्मविश्वास वृद्धि भयो’


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढेको बताएका छन् ।

झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा सोमबार दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यात्राका क्रममा नागरिकले माया, ममता, स्वागत र आत्मीयपन देखाएको बताए । गौरीशङ्करको काखमा रहेको कालिञ्चोक भगवती र दोलखा भीमसेनको आशीर्वादप्राप्त दोलखा धार्मिक र प्राकृतिक हिसाबले भरपुर रहेको ओलीको भनाइ थियो ।

एमालेको यात्राका क्रममा बालबालिका सहभागितालाई लिएर बालबालिकाको प्रयोग गरिएको भनि भएको आलोचनाको ओलीले त्यस अवसरमा खण्डन गरे । एमालेले सुरु गरेको यो अभियान राष्ट्रिय उत्सवको अभियान भएकाले त्यसमा बालबालिकाले सहभागिता जनाउनु स्वाभाविक भएको उनको तर्क थियो ।

अध्यक्ष ओलीले युवालाई देशमै राख्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै राजनीतिक पार्टीले अब विकास र सामाजिक सुधारको अभियन्ताका रूपमा काम गर्नुपर्ने तर्क गरे । मुलुकको विकास र समृद्धिका लागि एमालेले संकल्प अभियान सञ्चालन गरेको उनले प्रष्ट्याए ।

सो यात्रामा अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित छन् । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गते सुरु यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको जनाइएको छ ।

photo: rss