माओवादीपीडितले अब प्रशासनको मुख नताक्ने

माओवादीपीडितले अब प्रशासनको मुख नताक्ने


२५ वर्षअघिको घटना र विचार

त्यो दिन राति साँढे नौ बजेसम्म इन्द्रबहादुरले खाना खाएका थिएनन् । काठमाडौंबाट घर गएकाले उनी थकाइले चुर भएका थिए । कतिखेर खाना खाइसकुँला र सुत्न जाउँला भन्दै आफ्नो घरको कोठामा बसिराखेका थिए । अचानक आफूनजिकै कोही मान्छे उफ्रँदै आएको आवाज उनले सुने । को रहेछ भनी यसो मुन्टो फर्काएर हेर्दा त सातजना नकाबधारी लडाकुहरूले उनलाई घेरेको पाए । एकछि त उनले विश्वास पनि गर्न सकेनन् । तर त्यही भयानक यथार्थताले उनलाई घेरिसकेको थियो ।

स्थिति राम्रोसँग बुझ्न नपाउँदै एउटा नकाबधारीले पेस्तोल चलायो । संयोगवश पेस्तोलको गोली उनको काँधबाट नाघेर गयो । इन्द्रबहादुरले त्यो नकाबधारीलाई झम्टिएर भूइँमा लडाए । अर्को व्यक्तिले पुनः गोली चलायो । त्यसले पनि उनलाई लागेन । नकाबधारीहरूले लगातार तीन राउण्ड गोली चलाउँदा नलागेपछि अब खुकुरी झिक्न थाले । सात जना एकातिर एकजना उमेर खाइसकेको पाको व्यक्ति अर्कोतिर । घमासान युद्ध परिरह्यो, निकै लामो समयसम्म ।

माथिको घटनाविवरण सुन्दा पाठकहरूलाई यो कुनै मसालेदार हिन्दी चलचित्र कथाजस्तो लाग्यो होला, तर यो कुनै हिन्दी चलचित्र कथा नभइ यही चैत १ गते (२०५४) गोर्खा जिल्लाको १३ किलो भन्ने ठाउँमा घट्न पुगेको एउटा सत्य घटना हो । यो घटना हुनुभन्दा अगाडि नै इन्द्रबहादुर गुरुङलाई माओवादीहरूले चेतावनी स्वरुप पत्र काटिसकेका थिए । गोर्खा जिल्लामा माओवादीहरूले २७ जनालाई ‘हिटलिस्ट’मा राखेकामध्ये इन्द्रबहादुर गुरुङ पनि एक हुनुहुन्थ्यो । उहाँ ओख्ले गाविसको अध्यक्षसमेत हुनुहुन्छ । जिल्लाका सबै नेता तथा कार्यकर्ताले उहाँलाई काठमाडौं गएर बस्ने सल्लाह दिए । यसको मुख्य कारण उहाँको ज्यानको सुरक्षा नै थियो । उहाँ काठमाडौं आएर एक डेढ महिना बस्नु पनि भयो । तर यसबीचमा केही अपर्झट काम परेकाले साँझ पारेर घर जानुभएको थियो । तर त्यसको सुइँको माओवादीहरूले पाइसकेका थिए । उहाँ घर गएको खबर पाएपछि माओवादीहरूले सबै तारतम्य मिलाएर उहाँलाई सिध्याउने योजना बनाए । सोहीअनुरुप यो सात जनाको लडाकु जत्थाले उहाँलाई आक्रमण गर्न घरमै पुगेको थियो ।

नकाबधारीहरूले पेस्तोलको गोली सकिएपछि उहाँमाथि खुकुरी प्रहार गर्न थाले । उहाँको शरीर रगताम्य भएको थियो । नजिकै रहेको लट्ठी टिपेर एक जनाको टाउकोमा उहाँले बजार्नुभयो जसको कारण त्यो व्यक्तिको नकाब भूइँमा भन्यो । मान्छे चिचिने डरले ती व्यक्तिहरू अत्तालिन थाले । त्यही मौका पारेर उहाँ सात जनाको घेरा तोडेर कोठाबाहिर भाग्न सफल हुनुभयो । त्यतिबेलासम्म इन्द्रबहादुरको छोरा पनि निद्राबाट उठेर घटनास्थलतिर आउँदै थिए । इन्द्रबहादुरले बुहारीसँग खुकुरी माग्नुभयो । उहाँको हातमा खुकुरी देखेपछि नकाबधारीहरू केही हच्किए । उनीहरूले साथीसँग बम मगाए । पहिलोपटकको बम पड्किएन र, दोस्रोपटक पुनः बम प्रहार गरियो । दोस्रोपटकको बम पड्किए पनि इन्द्रबहादुरलाई लागेन । बमले पनि उहाँलाई मार्न नसकिने भएपछि माओवादीहरूले घरमा पेट्रोल छर्किएर आगो लगाइदिए । घरमा आगो दन्कियो । साथै खाना पकाउने ग्यासका दुईवटा सिलिण्डरहरू पनि आगोमै परेर बिष्फोट भए । वरिपरि हाहाकार मच्चिइसकेको थियो । इन्द्रबहादुर गुरुङ घरबाट भाग्न सफल त हुनुभयो तर घरमा भएका केही सामान पनि कसैले झिक्न पाएनन्, सबै आगोसँगै जलेर भष्म भए ।

घरबाट फुत्किएपछि भने माओवादीहरूले उहाँलाई फेला पार्न सकेनन् । रातिराति गाउँका छरछिमेकीहरू मिलेर उहाँलाई गोर्खा अस्पताल पुऱ्याए । उहाँले होश गुमाइसक्नुभएको थियो । गोर्खाको अस्पतालमा सामान्य उपचार गरिएपछि भोलिपल्ट उहाँलाई हेलिकोप्टरबाट काठमाडौ ल्याइयो र महाराजगञ्ज शिक्षण अस्पतालमा भर्ना गरियो । हालसम्म पनि उहाँ अस्पतालको बेडमा नै हुनुहुन्छ । उहाँका शरीरका चोपटक हेर्दा आङ नै सिरिङ हुनेखालका छन् ।

यसरी माओवादीहरूले इन्द्रबहादुर गुरुङलाई नै किन आक्रमणको तारो बनाए त भन्ने प्रश्न उब्जिन सक्छ । तर माओवादीहरूको उहाँप्रति मात्र राजनीतिक रीसइवी थियो । यसबारे अझ प्रष्ट पार्दै उहाँ भन्नुहुन्छ- ‘केही महिनाअघि माओवादीको एक कार्यकर्ता कमला भट्ट, खोलाले बगाएर मरेकी थिइन् । मैले त्यो घटना काठमाडौंमा सुनेको थिएँ । अहिले आएर मलाई यो दोष लगाएको रहेछ । यस्ता झुठ्ठा आरोपहरू अरु पनि लगाइएको छ । हाम्रो घरनजिकै बन्दै गरेको स्वास्थ्यचौकीको ढुंगा र इँटा बेचेर खायो भन्ने आरोप पनि ममाथि लगाएका थिए ।’

गत स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट गाउँ विकास समितिको अध्यक्ष पदमा चुनाव लडेर जितेपछि माओवादीहरू उहाँको विरुद्धमा प्रचारबाजीसमेत गर्दै आएका थिए । स्थानीय चुनावको सम्झना गर्दै उहाँ भन्नुहुन्छ- ‘म गाविस अध्यक्ष पदमा चुनाव लड्ने नै थिइनँ, तर म नउठेदेखि मेरो गाविसलगायतका छिमेकी गाविसहरूमा काङ्ग्रेसले चुनावे नजित्ने भयो । मलाई चिरञ्जीवी वाग्ले, चिनकाजी श्रेष्ठहरूले चुनावमा जसरी पनि उठिदिन अनुरोध गरे । मैले पनि लौ त भनेर चुनाव लडेँ अनि चुनाव आफूले पनि जितेँ र छिमेकी तीनवटा गाविसमा पनि साथीहरूलाई चुनाव जिताएँ । त्यहीँदखि नै म उनीहरूको आँखाको तारो बन्दै आइराखेको थिएँ ।’

आगलागीमा के-कति धनको क्षति भयो भनी जिज्ञासा राख्दा उहाँ भन्नुहुन्छ- ‘सडकको छेउकै घर जलेर ध्वस्त भइहाल्यो । त्यो घरमा मैले होस्टेल चलाएको थिएँ । त्यो पनि अब त्यसै भयो । नगद ८६ हजार थियो, बैंकमा राख्ने विचार गर्दै थिएँ । त्यो पनि जल्यो । अरु लुगाफाटा, भाँडाकुँडा, सरसामान कति थिए केही पनि झिक्न पाइएन । आफ्नो शरीरमा भएका लुगाबाहेक अरु सबै आगोमा परे । के गर्नु ठूलो कुरा त ज्यान नै रहेछ । ज्यान बच्यो अरु जे-जे क्षति हुने हो त्यो भए पनि त्यति चिन्ता छैन ।’

उहाँ आफूलाई आक्रमण गर्न आउने एक/दुई जना माओवादीलाई राम्रोसँग चिनेको बताउनुहुन्छ । त्यति गर्दागर्दै पनि यतिखेर उनीहरूलाई प्रशासनिक कारबाही गर्न चाहनुभएको छैन । यसको कारण बताउँदै उहाँ भन्नुहुन्छ- ‘आज पुलिसले थुन्छ, भोलिपल्टै उसलाई कारबाही नै नगरी छोडिदिन्छ । त्यसैले बरु आफै उनीहरूसँग प्रतिकार गर्ने योजना बनाएका छौँ । श्री ५ को सरकारले या त हाम्रो सुरक्षा गरिदिनुपयो, हैन भने हामीलाई प्रतिकार गर्ने अधिकार दिनुपऱ्यो । हामीले त यतिखेर एकोहोरो प्रहार मात्रै खेप्नुपरिरहेको छ ।’ यस विषयमा आफूले गृहमन्त्रीसँग पनि सल्लाह गर्ने कुरा उहाँ बताउनुहुन्छ । माओवादीहरूको लखेटाइबाट गोर्खा १३ किलोका अधिकांश काङ्ग्रेसी कार्यकर्ताहरू यतिबेला काठमाडौंमा आएर लुकी बस्नुपरेको पनि उहाँ बताउनुहुन्छ ।- प्रस्तुति : सुशील भट्टराई
(घटना र विचार साप्ताहिक, २०५४ साल चैत १९ गते बुधबार)